
गाँजाबाट समृद्धिको गफ धेरैले दिन्छन् तर तपाईले भने कामै गरेर देखाइदिनुभयो ?
मुखले जान्ने सबै हुन्छन्, हातले जान्ने धेरै कम हुन्छन् । नेपालमा हातले जान्ने चाहिएको छ । मुखले जान्ने नेपालमा जति पनि पाइन्छन् । गाँजामात्रै होइन, गर्न चाहनेका लागि यहाँ धेरै क्षेत्रमा अवसर छ । नेपाली वस्तु सबैले खोजेका हुन्छन् तर पाइँदैन । पाइहाले पनि मागअनुसारको उत्पादन छैन । नेपालमै यति धेरै अवसर छन् तर हाम्रो युवाशक्ति विदेश गइरहेको छ । युवा जमात कामै नगरी धेरै समय सामाजिक सञ्जालमै खर्चिरहेका हुन्छन् । त्यो पनि ज्ञानगुनका कुरा होइन, रोमान्टिकका नाममा जीवन बिगार्ने कुराहरू बढी हेर्ने गरेको देखिन्छ । त्यसैले म युवाहरूलाई भन्न चाहन्छु कि आफ्नै केही गरौं । किनभने नेपालमा सानो पुँजीबाट उद्योग सञ्चालन गर्न सकिन्छ, विदेशतिर सानो पुँजीबाट उद्योग सञ्चालन सम्भव हुँदैन ।
गाँजाबाट के-कस्ता वस्तु उत्पादन गर्न सकिन्छ ?
कपडा, औषधि, तेल, कागज, बिस्कुटलगायत सयौं किसिमका वस्तु उत्पादन गर्न सकिन्छ । २१ सयभन्दा बढी वस्तु त मैले नै उत्पादन गरेको छु । किनभने गाँजाको पातदेखि जरासम्म कुनै पनि भाग खेर जाँदैन, सबै उपयोगमा आउँछ । जराबाट कोइलादेखि डाँठबाट प्लाइउडसमेत बनेका छन् । दानाबाट विभिन्न औषधि र सुगन्धित तेल, कस्मेटिक सामानहरू बनाउन सकिन्छ ।
अहिले नेपालमा गाँजाजन्य वस्तुको बजार कस्तो छ ?
वार्षिकरूपमा छ अर्ब रुपैयाँभन्दा बढी बराबरको कारोबार हुने गरेको छ भने सोही हाराहारी विदेश पनि निर्यात भइरहेको छ । किसान र व्यवसायी गरी १० देखि ११ लाख जनसंख्या यही क्षेत्रमा आश्रित छन् । गाँजाखेतीलाई बाँदरले पनि क्षति नगर्ने भएकाले एउटा परिवारले चार–पाँच रोपनीमा मात्रै गाँजाखेती खेती गर्दा पनि राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ । अन्य खाद्यान्न बालीभन्दा बढी फाइदा लिन सकिन्छ । एक रोपनीमा गाँजाखेती गर्दा ३२ हजार रुपैयाँसम्म कमाउन सकिन्छ ।
किसानले चाहिँ कति पाउँछन् त ?
गाँजाको जरादेखि पातसम्म सबै मूल्य एउटै हुँदैन । जरा, पात, डाँठ, दाना सबैको मूल्य फरक-फरक हुन्छ । प्रतिकेजी जराको मूल्य सय रुपैयाँ रहेको छ भने डाँठको ५०, रेसाको एक सय ६०, दानाको दुई सय र पातको चार सय रुपैयाँ रहेको छ । गाँजाखेतीलाई अन्य खाद्यान्न तथा तरकारी जस्तो बढी मिहिनेत पनि पर्दैन । जस्तोसुकै जमिनमा खेती गर्न सकिन्छ । खेती गर्न त्यस्तो उन्नत प्रविधि पनि चाहिँदैन । परम्परागत प्रविधिबाटै खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ भने रोगकिराको जोखिम पनि हुँदैन । किनभने अन्य बालीको तुलनामा गाँजाखेतीमा रोगको जोखिम ७० गुणा कम हुन्छ । अन्य बाली जस्तो जलवायु परिवर्तनको असर पनि गाँजामा देखिएको छैन भने कार्बन शोषण पनि अन्य सात बिरुवा बराबर यसको एउटा बोटले नै गर्न सक्छ ।
यस्तो बहुउपयोगी गाँजा प्रहरी नष्ट गर्दै हिँडेको छ नि ?
अवैधरूपमा खेती गर्नेको प्रहरीले नष्ट गरेको हो । सरकारी निकायबाट स्वीकृति लिएरमात्रै यसको खेती गर्नुपर्छ । स्वीकृति लिएर गरेको गाँजाखेती प्रहरीले नष्ट गरेको छैन । मैले उल्लेख गरेका विभिन्न ५२ जिल्लामा स्थानीय तहबाट स्वीकृति लिएरै गाँजाखेती भएको हो ।
गाँजा प्रवद्र्धनमा सरकारले के गर्नुपर्छ ?
सबैभन्दा पहिले त यसका लागि नीतिगत व्यवस्था हुनुपर्यो । उद्यमशीलताको वातावरण बनाउनुपर्यो । उद्योग दर्ता, सञ्चालनमा सहजीकरण गर्नुपर्यो । स्वदेशी हस्तकलाजन्य वस्तुमा मूल्य अभिवृद्धिकर(भ्याट) बढी भयो । ठूला उद्योगलाई १३ प्रतिशत भ्याट र हातले बनाइने सामानमा पनि १३ प्रतिशत भ्याट न्यायोचित छैन । साना उद्यमी किसानले उत्पादन गर्ने वस्तुमा दुई प्रतिशतभन्दा बढी भ्याट हुनुहुँदैन । त्यस्तै, व्यवसायको अडिटमा पनि झमेला छ, सामानको बिल काट्दासमेत झमेला छ । सरकारले यस्ता कुरामा सहजीकरण गरेमा गाँजाले अर्थतन्त्रमा ठूलै योगदान दिन सक्छ । कपडामात्रै होइन, गाँजाको चिया पनि खुला गरिनुपर्छ । मैले प्रधानमन्त्री केपी ओलीज्यूलाई पनि गाँजाबारे धेरै ब्रिफिङ गरेको छु । यो सरकारले गाँजामा केही गर्छ भन्ने आशा पनि छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच