काठमाडौं । भन्नलाई धेरैले भन्दै आएका छन् ‘गाँजाबाट समृद्धि ।’ गाँजा अभियन्ताका साथै सांसददेखि मन्त्रीसम्मले गाँजाले मुलुक समृद्ध बनाउन सकिने भन्दै नेपाल पनि गाँजाखेती प्रवद्र्धनमा लाग्नुपर्ने बताउने गरेका छन् । तर, कार्यान्वयनमा भने तदारुकता देखिएको छैन । हुनलाई हरेक आर्थिक वर्षका बजेटहरूमा गाँजाको चर्चा हुँदै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले गाँजाको व्यावसायिक उत्पादनका लागि नीतिगत व्यवस्था गरिने घोषणा गरेको थियो । बजेटमा उक्त घोषणासँगै वनस्पति विभाग, नीति अनुसन्धान प्रतिष्ठानलगायतले यसमा काम सुरु पनि गरेका थिए तर गृह मन्त्रालयले स्वीकृति नदिँदा थप प्रक्रिया अघि बढ्न सकेको छैन ।
अन्य मुलुकहरूले गाँजा प्रवद्र्धनका लागि द्रुतरूपमा नीतिगत व्यवस्था गरिरहँदा नेपालमा भने चरम सुस्तता देखिएको छ ।
विगत लामो समयदेखि औषधि बनाउने र व्यावसायिक प्रयोजनका लागि गाँजा उत्पादन तथा बिक्री खुला गर्ने विषयमा बहस चल्दै आएको हो । केही वर्षअघि एमाले सांसद शेरबहादुर तामाङको अगुवाइमा सांसदहरूको एउटा टोलीले गाँजाखेतीलाई कानुनी मान्यता दिन प्रस्ताव गरिएको विधेयक संसद्मा दर्ता नै गरेको थियो तर त्यो पनि त्यत्तिकै थन्कियो । गाँजाले वैधानिकता नपाउँदा अहिले पनि प्रहरी गाउँ–गाउँमा गाँजाखेती नष्ट गर्दै हिँडिरहेको अवस्था छ ।
वार्षिक तीन खर्ब ४० अर्ब डलरको बजार
विश्वमा गाँजाको अर्थतन्त्र निकै ठूलो रहेको तथ्यांकहरूले देखाएका छन् । स्वीट्जरल्याण्डको न्युज पोर्टल ‘जेनेभा बिजनेस न्युज’का अनुसार गाँजाको बजार वार्षिक तीन खर्ब ४० अर्ब अमेरिकी डलरभन्दा बढीको छ । गाँजाको सबैभन्दा ठूलो बजार एसिया महादेश हो । जहाँ वार्षिक एक खर्ब ३२ अर्ब ९० करोड अमेरिकी डलर बराबरको बजार छ । त्यस्तै, उत्तर अमेरिकामा वार्षिक ८५ अर्ब ६० करोड अमेरिकी डलर, युरोपमा ६८ अर्ब ५० करोड अमेरिकी डलर, अफ्रिका ३७ अर्ब ३० करोड अमेरिकी डलर, ल्याटिन अमेरिकामा नौ अर्ब ८० करोड अमेरिकी डलर बराबरको बजार छ ।
गाँजा प्रवद्र्धनको विश्वव्यापी लहर
पछिल्लो समय विश्वव्यापीरूपमा गाँजा प्रवद्र्धनको लहर चलेको छ । अन्य देशमा भएको गाँजाको फुकुवाले नेपालमा पनि गाँजाले वैधानिक बनाउनुपर्छ भन्ने आवाज उठ्न थालेको हो । सन् २०२० मा राष्ट्रसंघले गाँजालाई हानिकारक समूहबाट हटाएर औषधीय गुण भएको वनस्पति मानेसँगै आवाज झन् व्यापक बन्दै गएको छ । छिमेकी मुलुक भारतमा अनुमति लिएर खेतीको अनुमति दिइसकेको छ भने चीन विश्वमै बढी गाँजा उत्पादक देश हो, जसको विश्व बजारमा २३ प्रतिशत हिस्सा रहेको बताइन्छ ।
गाँजाको पातदेखि जरासम्म कुनै पनि भाग खेर जाँदैन । जराबाट कोइलादेखि डाँठबाट प्लाइउडसमेत बनेका छन् । दानाबाट विभिन्न औषधि र सुगन्धित तेल, कस्मेटिक सामानहरू बनाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार गाँजा सेवनलाई विश्वमै सबैभन्दा पहिला अनुमति दिने देश उरुग्वे हो । त्यसपछि नेदरल्याण्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले पनि गाँजा सेवनलाई अनुमति दिए । अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, इजरायलमा पनि गाँजा औषधिका रूपमा प्रयोग भएको पाइन्छ । आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टि गरिसकेको छ । विभिन्न अनुसन्धानले आँखारोग, मूर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोगमा गाँजा उपयोगी हुन्छ भने क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुन्छ । गाँजा सेवन गर्नेको यौन क्षमता बढी हुने देखाएको छ । ‘जर्नल अफ सेक्सुअल मेडिसिन’को रिपोर्टमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने उल्लेख छ ।
नेपालमा भने नीतिगत निकासमै सकस
अन्य मुलुकहरूले गाँजा प्रवद्र्धनका लागि द्रुतरूपमा नीतिगत व्यवस्था गरिरहँदा नेपालमा भने चरम सुस्तता देखिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाखेतीलाई वैध बनाउन आवश्यक नीतिगत व्यवस्थाका लागि सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ भने कृषि मन्त्रालय पनि सकारात्मक छ । बजेटमा भएको व्यवस्थासँगै कानुन आयोग, राष्ट्रिय स्वास्थ्य अनुसन्धान प्रतिष्ठान र नीति अनुसन्धान प्रतिष्ठान, वनस्पति विभागलगायतले आवश्यक अध्ययनसहित गाँजा प्रवद्र्धनका लागि सरकारलाई विभिन्न सुझाव दिएका छन् ।
नियन्त्रित प्रयोगसम्बन्धी वर्तमान ऐन (लागूऔषध नियन्त्रण ऐन २०३३) परिमार्जन गरी त्यसमा रहेको गाँजाको नियन्त्रित प्रयोजनबारेको अस्पष्टता हटाउनुपर्ने, अहिले गाँजाका सबै प्रजातिलाई अवैध बनाइएकोमा प्रयोगका आधारमा गाँजालाई परिभाषित गरिनुपर्ने, टिएचसी ०.३ प्रतिशतभन्दा कम हुने प्रजातिलाई ‘औद्योगिक गाँजा’ नाम दिई खेती तथा व्यवसायका लागि अनुमति दिनुपर्ने सुझाव रहेका छन् ।
त्यस्तै, टिएचसी ०.३ प्रतिशतभन्दा बढी भएका प्रजातिलाई उचित नियमनसहित अनुसन्धान तथा औषधीय प्रयोगका लागि अनुमति दिनुपर्ने, गाँजाको औषधीय पक्षबारेमा सुसूचित ज्ञान निर्माणका लागि वैज्ञानिक अध्ययन गरिनुपर्ने, त्यसका लागि आधुनिक प्रयोगशाला, दक्ष जनशक्तिको उत्पादन तथा गुण नियन्त्रणका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने, औद्योगिक प्रयोजनका लागि वैज्ञानिक गाँजाखेतीको प्रवद्र्धन गर्नुपर्ने, गाँजाको व्यापार र प्रयोगको नियमन प्रक्रिया, पद्धति र संरचनाको विकास गर्नुपर्ने, अन्य देशहरूले अवलम्बन गरे जस्तै ‘नियन्त्रित वैधता’को बाटो अवलम्बन गर्न गाँजाजन्य वस्तुको हानिका पक्षबारेमा सचेत रही त्यसको निगरानी, निवारण तथा उपचारका लागि आवश्यक नियमन गर्नुपर्ने, प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवद्र्र्धन गर्नुपर्ने, स्रोत तथा सुविधासम्पन्न पुनस्र्थापना केन्द्रको स्थापना गर्नुपर्ने, गाँजाको माग र आपूर्तिको नियमित अवस्था विश्लेषण गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् । नीतिगत कार्यान्वयनमा केन्द्र सरकार सुस्त देखिए पनि कतिपय स्थानीय तहले भने गाँजा प्रवद्र्धनको काम सुरु गरिसकेका छन् ।
हालसम्म गाँजासम्बन्धी चार सय ४७ उद्योग स्थापना भएका छन् भने ६५ स्थानीय तहले नीतिगत व्यवस्था गरेर गाँजाखेती खुला गरेका छन् ।
हेम्प एसोसिएसन अफ नेपालका अध्यक्षसमेत रहनुभएका गाँडा अभियन्ता डा. गणेश ऐडीका अनुसार हाल रुकुम, रोल्पा, बझाङ, दार्चुला, पर्वत, म्याग्दी, सिन्धुपाल्चोकलगायत नेपालका ५२ जिल्लामा गाँजाखेती भइरहेको र अन्य जिल्लामा विस्तारका क्रममा रहेको छ । त्यस्तै, हालसम्म गाँजासम्बन्धी चार सय ४७ उद्योग स्थापना भएका छन् भने ६५ स्थानीय तहले नीतिगत व्यवस्था गरेर गाँजाखेती खुला गरेका छन् ।
नेपालमा गाँजा प्रयोगको इतिहास
औषधीय गुणका साथै धार्मिक महŒव पनि भएकाले नेपालमा पहिल्यैदेखि गाँजा उत्पादन र कारोबार हुँदै आएको छ । आयुर्वेदमा आजभन्दा झण्डै दुर्ई हजार वर्षअघिदेखि प्रचलनमा रहेको ‘चरक संहिता’ मा पनि गाँजा र गाँजाबाट बन्ने भाङ औषधिका लागि उपयोगी हुने उल्लेख भएको आयुर्वेद चिकित्सकहरू बताउँछन् । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्राण्डका रूपमा स्थापित भएको बताइन्छ । ‘हिप्पी’ युगसँगै गाँजा सेवनकर्ताको काठमाडौंमा भीड लाग्ने गरेको थियो । तत्कालीन समयमा काठमाडौंमा ३० भन्दा बढी गाँजा र चरेस केन्द्र खुलेको बताइएको छ । नेपालमा हिन्दू धर्मको प्रभावले गाँजा चलनमा आएको बताइन्छ । नेपाल र भारतमा फागुपर्वमा गाँजाको भाङ खाने चलन छ । भगवान् शिवले समुन्द्र मन्थनका बेला अमृत शुद्धीकरणका लागि शरीरबाट गाँजा उत्पादन गरेको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । समुन्द्र मन्थनकै बेलामा उत्पन्न अमृतको थोपा जमिनमा परेपछि गाँजा उम्रिएको किंबदन्तीसमेत पाइन्छ । त्यसो त सन् १९७० अघिसम्म नेपालमा गाँजाखेती र व्यापार वैधानिक थियो ।
आशा जगाउँदै गाँजा उद्यमी
त्यसो त सरकारको साथ नपाए पनि केही अभियन्ताले भने विगत लामो समयदेखि गाँजामा काम गर्दै आएका छन् । कपितय उद्यमीले छोटो अवधिमै लोभलाग्दो सफलतासमेत हात पारेका छन् । केन्द्र सरकारले बजेटमार्फत् गरेको घोषणापछि कपितय स्थानीय तहले नीतिगत व्यवस्था नै गरेर गाँजाखेतीका लागि किसानलाई प्रोत्साहित पनि गर्न थालेका छन् । विगत २८ वर्षदेखि गाँजा अभियानमा लाग्नुभएका डा. गणेश ऐडी अहिले चर्चामा हुनुहुन्छ । किनभने भनिएका अन्य अभियन्ता गफमै सीमित हुँदा उहाँले भने गाँजाबाट विभिन्न वस्तु उत्पादन र निर्यातसमेत गर्दै र गाँजाखेतीका लागि किसानलाई प्रोत्साहित गर्दै आउनुभएको छ । बझाङ सुनिकोटीका ऐडी गाँजाका कपडा र जुत्तादेखि औषधि, चाउचाउ, बिस्कुट र तेलसमेत उत्पादन गर्नुहुन्छ । २०६४ सालदेखि काठमाडौं बुढानीलकण्ठमा गाँजाजन्य उद्योग नै स्थापना गरेर दुई सय सय ५० बढीलाई रोजगारीसमेत दिनुभएको छ । अर्को उद्योग इटहरीमा छ भने विभिन्न स्थानमा आउटलेट स्थापना गरेर उहाँले गाँजाजन्य वस्तुको प्रवद्र्धन गर्दै आउनुभएको छ । दुई वर्षअघि गाँजामै क्यानडाबाट विद्यावारिधि गरेको बताउने ऐडीले २०६४ सालमा काठमाडांै आएर सात करोड लगानीमा उद्योग सुरु गर्नुभएको थियो । हाल गाँजाका उत्पादन जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, स्पेन, कोलम्बिया, भारतलगायत विभिन्न देशमा निर्यातसमेत गर्दै आएको उहाँले बताउनुभयो ।
ऐडीका अनुसार नेपालमा तीन प्रकारका गाँजा छन् । ती गाँजाका प्रजाति भने एक सय ११ छन् । गाँजालाई सरकारले अवैध मानेका कारण सबै भाङबाट बनाउने गरिएको छ । तर, भाङ पनि गाँजाकै एक प्रजाति हो । जसको खेती नेपालमा वैधानिक छ । गाँजामा हुने टेट्रा हाइड्रो क्यानाविनोन (टिएससी) उत्पादन र कारोबारमात्रै अवैध हो, जुन लागू औषधिमा पर्छ । गाँजा प्रजातिमै पर्ने भाङको रेसा, फल, पात, जरा र डाँठबाट विभिन्न वस्तु उत्पादन गर्न सकिन्छ । ऐडीको पूरै परिवार यही व्यवसायमा लागेको छ । कोही गाँजाको धागो उद्योग, कोही कपडा उद्योग, कोही गार्मेन्ट कारखाना र कोही रंग उद्योगमा संलग्न छन् ।







टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा