काठमाडौं । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच कविद्वय डा.नवराज लम्साल, मोमिला र सर्जक अधिकारीलगायतले उक्त कविता कृतिको लोकार्पण गर्नुभएको हो ।
नेपालयले प्रकाशनमा ल्याएको यस कविता संग्रहमा संग्रहमा कवि अधिकारीले २०६४ सालदेखि २०८० सालसम्म लेख्नुभएका पूर्वप्रकाशित र अप्रकाशितसमेत गरी ७७ वटा कविता समेटिएका छन् । यो उहाँको १७औं कृति हो ।
कवि लम्सालले अधिकारी वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने अतिरिक्त सामथ्र्य भएको काव्यिक क्षमताका कविका रूपमा स्थापित हुनुभएको बताउनुभयो । कवि तथा निबन्धकार मोमिलाले अधिकारी कवितामा कलात्मक पाराले मसिनो ढंगबाट अभिव्यक्त गर्ने सीमान्त शिल्पी र शब्दका जादुगरका रूपमा रहनुभएको धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भ पारेर कृति सार्वजनिक गरिएको हो । कवि अधिकारीले संघर्ष र सौर्हाद्रताको स्मरण गर्दै आफ्नो कविता–यात्रा ५०औं वर्षमा प्रवेश गर्न लागेकामा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले ‘आमा’, ‘अन्तिम तयारी’, ‘बिहे’ र ‘अचानक एक दिन’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । ‘अतिरिक्त अभिलेख’ कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह ‘भरियाको भूगोल’ पनि नेपालयबाटै प्रकाशित छ ।
‘कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक-सुललित रुपमा पस्किनुहुन्छ, जसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ’, पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भन्नुभयो, ‘पानीको परेडभित्रका सात खण्डका सतहत्तर कविता उहाँले हृदयको रङले पोतेको सप्तरंगी क्यानभास हो ।’ साहित्यका विधाहरूमध्येमा कविताको बजार कम रहेको मान्यता भए पनि पब्लिकेसन नेपालयले कलात्मक साहित्यिक मूल्य र योगदानको कदरस्वरूप वर्षमा एक काव्य प्रकाशन गर्दै आएको उहाँले बताउनुभयो ।
‘२०२४ मा नेपालयबाट कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’ प्रकाशन भएको थियो भने यो मार्च महिनाको पलेँटीकै अवसरमा कवि गीतकार कालीप्रसाद रिजालको नयाँ पुराना कविता र गीतको संग्रह ‘केही मीठो बात गर’ प्रकाशन हुने उहाँले जानकारी दिनुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम