सिन्धुली । सिन्धुलीमा मकै पोलेर बेचिरहेकी लक्ष्मी बस्नेत ठकुरीलाई देख्दा जो कोहीले महशुस गर्न सक्छ, नारी संघर्षको । तर, यो केवल संघर्ष मात्रै होइन, यो आत्मसम्मान, आत्मनिर्भरता र परिवारप्रतिको दायित्व पनि हो ।
लक्ष्मी, गोलञ्जोर गाउँपालिका-३ वितिजोरकी स्थायी बासिन्दा हुनुहुन्छ । तर, जीवनयात्राले उहाँलाई हाल कमलामाई नगरपालिका-७ माझिटार ल्याई पुर्याएको छ । यहाँ उहाँले विपी राजमार्गको छेउमा व्यापार, व्यवसाय सुरु गर्नुभएको छ ।
सडक छेउको जमिनमा उहाँले बोरा ओछ्याएर मौसमअनुसारको तरकारी र फलफूल बेच्न राख्नु हुन्छ । साथै, मकै व्यवसायलाई पनि उहाँले अगाडी बढाउनु भएको छ ।
लक्ष्मीका छोराछोरी अहिले सिन्धुली माढी बजारस्थित बोर्डिङ स्कुलमा अध्ययन गर्छन् । गाउँबाट आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन सिन्धुली माडी आउनु भएको हो लक्ष्मी । तर, यहाँको खर्च व्यवस्थापन गर्न त्यति सजिलो थिएन, उहाँलाई । यही कठिनाइलाई चिर्न उहाँले सडक छेउमा बोरा विछ्याएर मौसमअनुसारको तरकारी र फलफूल बेच्न थाल्नुभयो ।
अहिले उहाँ हरियो मकै पोलेर पनि बेच्न थाल्नु भएको छ । ‘जे बढी बिक्छ, त्यहीबेच्न राख्छु,’उहाँले भन्नुभयो, “बजारको चहलपहल हेरेर व्यापार, व्यवसाय गर्नुपर्छ ।”
विपी राजमार्गमा यात्रुहरूको चहलपहल भइरहन्छ । तिनै यात्रुहरू लक्ष्मीको व्यापार, व्यवसायको मुख्य ग्राहक हुन् । उहाँले हरियो मकै प्रतिघोगा २० रूपैयाँमा बिक्री गर्नुहुन्छ भने आगोमा पोलेको मकै ३० रूपैयाँमा बेच्ने गर्नुभएको छ ।
दिनभरमा एकदेखि दुई सय घोगासम्म बिक्रीहुने उहाँले बताउनुभयो । भन्नुभयो, “कहिलेकाहीँ व्यापार राम्रैहुन्छ, कहिलेकाहीँ खालीहात पनि बस्नुपर्छ ।”
लक्ष्मीका लागि यो व्यवसाय केवल आम्दानीको स्रोत मात्र होइन, यो उहाँको आत्मसम्मानको प्रतीक पनि हो । एक गृहिणीका रूपमा मात्रै सीमित नरही उहाँ उद्यमशीलताको बाटोमा हिँडिरहनु भएको छ । “काम सानो ठूलो हुँदैन, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ,“ उहाँले दृढ विश्वासका साथ भन्नुभयो ।
सडक छेउमा व्यापार गर्न सजिलो छैन । कहिलेकाहीँ प्रशासनको रोकतोक आउँछ, कहिलेकाहीँ मौसमले समस्या पार्छ । वर्षायाममा पानीले व्यापार गर्न गाह्रो हुन्छ, जाडोयाममा चिसो । सडकको धुलो, सवारीसाधन र यात्रुहरुको कोलाहलले दिक्दार लाग्छ । तर, यी सबै चुनौतीलाई पन्छाउँदै उहाँ निरन्तर आफ्नो कर्ममा लागिरहनु भएको छ ।
“परिस्थिति जस्तोसुकै भए पनि संर्घष गर्न छोड्नु हुँदैन,’लक्ष्मीले भन्नुभयो, “छोराछोरीलाई गुणस्तरीय शिक्षादिन यो संघर्ष गरिरहेकी छु ।”
लक्ष्मी त कथाको एक प्रतितिधि पात्र मात्रै हुनुहुन्छ । यस्ता संर्घषशील र प्रेरणादायी महिलाहरु धेरै छन्, जसको पसिना र परिश्रमले परिवारको रोजीरोटी चलेको छ । सन्तानले गुणस्तरीय शिक्षा प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच