काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार भारत प्रस्थान गर्नुभएको छ । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा पूजाआजाका लागि जानुभएको हो । मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो । त्यसपछि मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुनुहुने छ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरूको सहभागिता रहनेछ । भेटका क्रममा परराष्ट्रमन्त्री डा. राणाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भेट हुने स्रोतले जानकारी दिएको छ । त्यसक्रममा प्रधानमन्त्री मोदीलाई नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गर्ने तयारी छ ।
आगामी जेठ २ देखि ४ गतेसम्म नेपालमा सगरमाथा संवाद हुँदै छ । उहाँले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले परराष्ट्रमन्त्री सँगको भेटका लागि समय मिलाइदिन मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गर्नुभएको छ । यससँगै नेपालको तर्फबाट अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको स्रोतले बताएको छ । साथै यही भ्रमणकै क्रममा मन्त्री डा. राणाले आफ््नो स्वास्थ्य जाँचको फलोअप पनि गराउनुहुने कार्यक्रम रहेको छ ।
बिमस्टेक सम्मेलनमा ओली-मोदी भेटघाटकोे तयारी
प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते थाइल्याण्डको राजधानी बैंकक जाने हुनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूको छैटौँ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली थाइल्याण्ड जान लाग्नुभएको हो । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि थाइल्याण्ड जाने कार्यक्रम तय भएको छ । सम्मेलन आउँदो चैत १९ र २० (अप्रिल २ र ३) मा थाइल्याण्डमा हुँदै छ । यसअघि दुई महिनाअघि नै बिमस्टेक सम्मेलन गर्ने भने पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन रोकिएको थियो । सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने तयारी भएको छ ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको थियो । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो । त्यसबेला भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी दिनुभएको थियो । नेपाल फर्किएपछि भने प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुभयो । त्यसबेला नेपाल र चीनबीच बिआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको थियो ।
चीनबाट फर्किएपछि प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि प्रयास गरिए पनि त्यो सफल हुन सकेको थिएन । गत मंसिरमा झापा पुगेका बेला प्रधानमन्त्री ओलीले आफू छिट्टै भारत भ्रमणमा जाने बताउनुभएको थियो । त्यसपछि पुसको ६ गते परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमणबारे पनि छलफल गर्न भन्दै दिल्ली झर्नुभएको थियो । तर, त्यसबेला पनि प्रयास सफल भएको थिएन । यसपालि भने बिमस्टेकको सम्मेलनमा जाँदा परराष्ट्र मन्त्रालयले दुई प्रधानमन्त्रीबीच भेटवार्ताको चाँजोपाँजो मिलाएको हो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न