स्ववियु निर्वाचन : आज मनोनयन, गर्मायो राजनीतिक माहोल

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 6 mins

झापा । एकसाता पछि अर्थात् चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर राजनीतिक माहोल तातिएको छ । विद्यार्थी संगठनसँगै मातृ पार्टीको ध्यान स्ववियु निर्वाचनमा खिचिएको छ । परिणाम तल्लो तहसम्मको राजनीति माहोल गर्माएको हो ।

चैत ५ एकसाथ देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुँदैछ । स्ववियु निर्वाचनलाई मिनी संसदका रूपमा लिइने गरिएको छ । सोही कारण विद्यार्थी संगठन र मातृ पार्टी र नेतृत्वले चुनावमा नजर पुर्‍याइरहेका छन् ।

कतिपय स्थानमा सत्तारुढ दल कांग्रेस र एमालेका विद्यार्थी संगठनले चुनावी गठजोड गरेका छन् । अधिकांश क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न कांग्रेस, एमाले र माओवादी लगायत दलले केन्द्रदेखि तल्लो तहसम्म नै पार्टी नेतालाई चुनाव संयोजन र परिचालनको जिम्मेवारी सुम्पेको छ ।

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई केन्द्रीय तहमा सो जिम्मेवारी सुम्पेको छ । कोशी प्रदेशमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बे प्रदेश संयोजकको जिम्मेवारीमा हुनुहुन्छ । आङ्देम्बेको टिम सात सदस्यीय छ । केन्द्रीय तहदेखि नै चुनावी संयन्त्र निर्माण गरेर लागेको कांग्रेसको तल्लो तहले पनि त्यसैलाई पछ्याइरहेको छ ।

स्ववियु निर्वाचनलाई लिएर अहिले केहीबेर अघि झापाको मेचीनगरमा कांग्रेस नेताहरूको आन्तरिक भेला सम्पन्न भएको छ । भेलाले काँकडभिट्टा क्याम्पसको निर्वाचनमा पार्टी संरक्षकको जिम्मेवारी केशवराज पाण्डे र त्रिदेव क्याम्पस चारआलीमा लोकराज ढकाललाई सुम्पेको छ । पाण्डे कांग्रेस झापा उपसभापति र ढकाल कांग्रेस प्रचार विभाग केन्द्रीय सदस्य हुनुहुन्छ ।

कांग्रेस मेचीनगर नगर समितिले संयोजन गरेको भेलाले चारआली क्याम्पसकोआर्थिक समिति संयोजकमा भूमी पौडेल र काँकडभिट्टा क्याम्पको संयोजकना सन्तोष खवासलाई जिम्मेवारी तोकेको नगर सभापति सुदय पनेरुले जानकारी दिनुभयो ।

चारआली क्याम्पस नेविसंघको तर्फबाट स्ववियु अदालतमा मनिराम विश्वकर्मा ( मनिष ), काँकडभिट्टाको अध्यक्षमा सुरज राई उम्मेदवार चयन भएको नेविसंघ मेचीनगर सभापति प्रज्जवल कार्कीले बताउनुभयो । आज ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

मेचीनगर कांग्रेस महामन्त्री शर्माको गृहनगर हो । अघिल्लो चुनावमा यी दुबै क्याम्पमा नेविसंघले जितेको थियो । पालिकाका दुबै क्याम्पमा नेविसंघका उम्मेदवारलाई विजयी बनाउन पार्टी नेता लागेका छन् । भेलामा महासमिति सदस्यहरु, क्षेत्रीय समिति तथा सभापति इन्द्रबहादुर बुढाथोकी, पार्टीका सबै तह र भ्रातृ संघ-संगठनका प्रतिनिधिले राय प्रस्तुत गरेको कांग्रेस मेचीनगर सचिव मनोज घिमिरेले बताउनुभयो ।

भेलामा एक्लाएक्लै र आवश्यकताका आधारमा अन्य विद्यार्थी संगठनसँग सहकार्य गरेर अघि बढ्ने विषयमा समेत छलफल भएको छ । अखिल क्रान्तिकारी, राप्रविसंघ र अन्य विद्यार्थी संगठनसँग पनि छलफल गरेर उम्मेदवारी दर्ता गराउने तयारी भएको छ । स्ववियुमा अध्यक्ष , सचिव र कोषाध्यक्ष तथा प्रत्यक्ष सदस्य तर्कको प्रत्यक्ष निर्वाचन हुन्छ । विद्यार्थी अनुपातमा सदस्य हुन्छ ।

झापाका १२ वटा क्याम्पसमा निर्वाचन हुँदैछ । झापाको सबैभन्दा पुरानो र ठूलो क्याम्प मेची क्याम्पस भद्रपुरमा निलम कार्कीले नेविसंघको तर्फबाट अध्यक्षमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ । गौरीगञ्ज क्याम्पसमा नेविसंघ र अनेरास्ववियुले सहकार्य गर्ने भएका छन् ।

मनोनयन दर्ता पछि मात्रै कहाँ, कहाँ को-को उम्मेदवार बने यकिन हुने नेविसंघ झापा सभापति सञ्जय निरौलाको भनाइ छ । उहाँले नेविसंघको तर्फबाट कुन क्याम्पस को अध्यक्षको उम्मेदवार बन्दैछ, कसैको पनि नाम बताउनु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?