
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईविरूद्व अदालतमा मुद्दा दायर भएको छ । एन्फाका पूर्वअध्यक्ष गणेश थापाले महासचिव राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको हो । राईविरूद्व बेइज्जतीसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो ।
पूर्वअध्यक्ष थापाले यसअघि नै महासचिव राईले एक अन्तर्वार्तामा आफूविरुद्ध झुटा र तथ्यहीन आरोप लगाएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको थियो । उक्त अन्तर्वार्तामा राईले थापामाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाउनुभएको थियो ।
‘टेलिभिजन अन्तर्वार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि मैले आठ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा लेख्नुभएको छ, ‘मैले उहाँको अन्तर्वार्ता आएलगत्तै सामाजिक सञ्जालमार्फत् उहाँलाई ममाथि लगाएका आरोप प्रमाणित गरेर मलाई कानुनअनुसार कारबाही गर्न चेतावनी दिएको थिएँ । अथवा आफैं आत्मालोचना गर्न पनि मैले उहाँलाई अनुरोध गरेको थिएँ । तर, उहाँले त्यसलाई समेत बेवास्ता गरेपछि बाध्य भएर नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीमा पनि कानुनबमोजिम छानबिन गरी कारबाहीका लागि उजुरी दिएको थिएँ । साइबर ब्युरोमा मेरो जाहेरी नम्बर ११९८९ छ । उहाँले अहिलेसम्म आफ्नो भनाइ नसच्याएको र आत्मालोचना पनि नगरेको हुँदा मैले काठमाडौं जिल्ला अदालतमा समेत मुद्दा दायर गरेको छु ।’
राईले मुलुकी अपराध संहिता २०७४ को दफा ३०६ (१) ले निषेधित र सोही दफा (२) (क) विपरीतको कसुर गरेको जिकिरसहित दफा ३०७ को उपदफा (१) बमोजिमको सजाय तथा सोही दफाको उपदफा (२) बमोजिमको क्षतिपूर्ति एवं मुद्दामा लागेको खर्चसमेत भर्न मुद्दामा मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ मा कसैले कसैको बेइज्जती गरे वा गराएमा दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था छ । विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे गराएमा थप एक वर्षसम्म कैद तथा दश हजार जरिवाना हुनेसमेत अपराध संहिताले भनेको छ । त्यसरी विद्युतीय वा आमसञ्चार माध्यमबाट बेइज्जती गर्ने गराउनेलाई मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत भराउने व्यवस्था संहिताले गरेको छ । थापाले आफू दोषी प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच