
ललितपुर । यही विहीबार (फागुन २९गते)देखि सिनेमाघरमा आउन लागेको तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियम गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा प्रिमियम गरिएको हो । आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्वआइजिपी दुर्जकुमार राई, पूर्वपुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्रीहरू केकी अधिकारी र अलिशा राई, पत्रकारहरू प्रकाश सुवेदी, टीकाराम यात्री, डब्बु क्षेत्री, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाललगायत चलचित्र टिम, चलचित्रकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू, र शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति थियो ।
ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाजमा भव्य सजावट र रेड कार्पेटले सजिएको प्रिमियरमा चलचित्रका तर्फबाट अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एञ्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण उपस्थित हुनुभएन ।
चलचित्रको प्रिमियरपछि एञ्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बनेका थिए । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा चलचित्रमा उतारेको भन्दै निर्देशक मिलन चाम्सको प्रशंसा गरिएको थियो । चलचित्र हलबाट निस्किँदै गर्दा प्रायः दर्शक रोइरहेका देखिन्थे भने चलचित्र हेरेर कहिल्यै नरुनेहरूले समेत आफूलाई सम्हाल्न नसकेको बताए ।
एञ्जिला हुनुको वास्तविकता देखाएको
आइजिपी अर्यालले आफूले एञ्जिला र उनको क्याप्टेनसिपमात्र देखिरहेको तर यो चलचित्रले एञ्जिला हुनुको वास्तविकता देखाएको सुनाउनुभयो । ‘हामीले सधैं एञ्जिलाको खेल देख्यौं, उनको क्याप्टेनशिप देखेका थियौं तर, एञ्जिला हुनुमा उनले कति संघर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो चलचित्रले देखायो । एपीएफ क्लबले एञ्जिलालाई चिनायौं, एञ्जिलाले देशलाई चिनाइन् । यो चलचित्र नयाँ पिँढीका लागि प्रेरणा हुन्छ’, उहाँले भन्नुभयो ।
पूर्वकप्तान गणेश थापाले चलचित्र हेर्दा आफू तीन-चारपटक रोएको बताउनुभयो । ‘एञ्जिलाले यति धेरै संघर्ष गरेर आएको रहेछ । एञ्जिलालगायत हामीले ती खेलाडीलाई ध्यान दिन सकेनौं भन्ने कुराको आत्मग्लानि भएको छ’, एन्फाका पूर्वअध्यक्षसमेत रहनुभएका थापाले भन्नुभयो, ‘हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीहरूलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।’ थापाले पूर्वसशस्त्र प्रहरी उपरीक्षक तथा यस चलचित्रका निर्माता एवं कलाकार प्रेमकुमार श्रेष्ठको प्रशंसा गर्दै खेल र खेलाडीलाई सधैं माया गर्ने व्यक्तिको रूपमा व्याख्या गर्नुभयो ।
पत्रकार प्रकाश सुवेदीले बायोपिकमा चलचित्र बनाउन जति चुनौतीपूर्ण छ, त्यो चलचित्रलाई कमर्शियल बनाउन त्यति नै गाह्रो रहेको र ‘अञ्जिला’मा त्यो दुवै रहेको प्रतिक्रिया दिनुभयो । ‘यो चलचित्रमा जीवन त छँदैछ, यो चलचित्रलाई व्यावसायिक बनाउन निर्देशकले भरपुर मिहिनेत गर्नुभएको छ । मैले यो भन्दा पहिले भारतीय कलाकार आमिर खानको लगान हेरेको थिएँ । त्यो चलचित्रले मलाई एकाग्र भएर हेर्न बाध्य तुल्याएको थियो र आज अञ्जिला हेर्दा त्यही झझल्को आयो’, सुवेदीले भन्नुभयो ।
जसको कथा उसकै अभिनयको दुर्लभ संयोग
पत्रकार राजीव खत्रीले बायोपिक चलचित्रमा जसको कथा उसकै अभिनयको दुर्लभ संयोग रहेको, मान्छे मरेपछि विभिन्न उपमा दिएर चर्चा परिचर्चा गर्नुभन्दा उसको सफलताको चरणमा रहेकै बेला संघर्ष गाथालाई आम दर्शकमा पुर्याउने दुर्लभ प्रयास रहेको र खेलकुदको विषयमा यो स्तरको नेपाली चलचित्र बन्नु दुर्लभ काम रहेको प्रतिक्रिया दिनुभयो ।
चलचित्र हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किनुभएकी अभिनेत्री केकी अधिकारीले यो चलचित्रले आफ्नो मन छेडेर गएको जिकिर गर्नुभयो । ‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि संघर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छ । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको संघर्ष के कस्तो थियो भन्ने विषय चलचित्रमार्फत आएको छ । चलचित्र एकदमै सशक्त माध्यम हो । एञ्जिलाको संघर्षको कथा नपढेको नसुनेको होइन तर, चलचित्रमार्फत आउँदा यसरी मन छेडेर गएको छ कि निर्देशकले सुन्दर रूपमा एञ्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ’, अधिकारीले भन्नुभयो ।
अभिनय जस्तो नभएर वास्तविक
चलचित्र निर्देशक नवल नेपालले छोराछोरीहरूले आफ्ना मातापितालाई सम्बोधन गर्ने चलचित्र रहेको प्रतिक्रिया दिनुभयो । अर्का निर्देशक ज्ञानेन्द्र देउजाले नेपालमा नेपाली खेलाडीहरूले यति धेरै दुःख गर्दा पनि राज्यको चेतना र लगानी किन छैन ? भन्दै प्रश्न उठाउनुभयो । उहाँले एञ्जिलाको कथासँगै राज्यको दृष्टिकोणले पनि भावुक बनाएको बताउनुभयो । अभिनेत्री अलिशा राईले यो चलचित्रले जीवन जिउन पनि सिकाउने धारणा राख्नुभयो । अभिनेता प्रशान्त ताम्राकारले गाउँठाउँका सबै नेपाली चेलीहरूको कथा पनि एञ्जिलाको जस्तै संघर्षशील रहेको बताउन्ुभयो । ‘म धेरै पटक भक्कानिएँ । एञ्जिलाले गरेका ती संघर्षहरू हेर्दा निकै गाह्रो महसुस भयो । एञ्जिलाले आफैले अभिनय गरेको कारणले पनि होला त्यो अभिनय जस्तो नभएर वास्तविक नै देखिएको छ’, ताम्राकारले भन्नुभयो । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले नेपाली दर्शकले चाहेको जस्तो चलचित्र रहेको जिकिर गर्नुभयो ।
हरेक पटक चलचित्र हेर्दा भावुक हुने गरेको छु : निर्देशक चाम्स
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको बताउनुभयो । ‘मैले एञ्जिलालाई तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौं त्यति नै देखाऊ भनेको थिएँ । म आफैंले पनि हरेकपटक चलचित्र हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ’, चाम्सले भन्नुभयो । उहाँले चलचित्र फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज भएको पनि बताउनुभयो । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उहाँले यसअघि बायोपिकमा ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गर्नुभएको थियो ।
राम्रो सोच लिएर काम गरेपछि सबैको साथ : निर्माता प्रेमकुमार
निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको सुनाउनुभयो । ‘मैले योजना सुनाएपछि उहाँले म तपाईंलाई सहयोग गर्छु भन्नुभयो । यो चलचित्र बनाएर एञ्जिलाको घर बनाउने कुरा सुनेपछि दयाहाङ राई लगायतका कलाकारहरूले पनि सबैले अभिनयमा मात्र होइन, अन्य सहयोग पनि गर्ने वचन दिनुभयो’, निर्माता श्रेष्ठले भन्नुभयो ।
चलचित्र हेर्न पुग्नुभएका अभिनेता दयाहाङ राईले ‘अञ्जिला’ सम्झनलायक चलचित्र बनेको बताउनुभयो । ‘खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो’, उहाँले भन्नुभयो, ‘खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुपर्छ ।’
यो चलचित्रको यसअघि हङ्कङ, कोरिया र बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर भएको थियो । चलचित्रमा एञ्जिलाको साथमा, प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको हो भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुनुहुन्छ भने कार्यकारी निर्माता विनोद अग्रवाल, टुबेन्द्र लिम्बु र राजेश बगडिया सह-निर्माता हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच