
वर्तमान समयमा नेपालको राजनीतिक अवस्थामा अलिक असहजता पैदा भएको छ । अहिलेसम्म पख र हेरको अवस्थामा बसेका पूर्वराजा अलिकति अगाडि सरेर आउनुभएको छ । यसलाई गम्भीर र रहस्यमय मानिएको छ । यसबाट पैदा हुने परिणामपछिको कुरा हो । तर, पूर्वराजाको अग्रसरता र आफू राजनीतिक मञ्चको पाश्र्वमा बस्नुपरेको पीडा अरूलाई दोष दिएर पन्छिने राजनीतिक प्रवृत्ति माओवादी केन्द्रको निर्णयले स्पष्ट रूपमा देखाएको छ । पूर्वराजाको हालको सक्रियतापछि माओवादीले राजा र राजावादीहरू सक्रिय हुनुमा सरकारलाई दोषी ठहर्याएको छ । यसरी निर्णय गर्नुमा उक्त दलको हरातो देखिन आएको छ ।
साथै भोलि कथंकदाचित कुनै नराम्रो राजनीतिक परिणाम आएकाखण्डमा त्यसको दोष अरू दललाई बोकाइदिएर आफू पन्छने प्रयासका रूपमा हेनुपर्ने हुन्छ । माओवादी अहिले सरकारमा छैन तर जम्मेवारीमा छ । सरकारमा हुनुभनेको कार्यपालिकामा हुनुमात्र होइन । उसको संलग्नता राज्यका अन्य निकाय व्यवस्थापिका, न्यायपालिका र ऊ सरकारमा रहेका बेला गरेको विभिन्न राजनीतिक नियुक्तिबाट त्यस्ता निकायमा कार्यरत व्यक्तिहरू कार्यरत भएको अवस्था हालसम्म विद्यमान नै छ । त्यतिमात्र होइन राजालाई हटाएर गणतन्त्रको स्थापना भएयता माओवादी धेरैपटक सरकारमा पुगेको छ । माओवादीबाट डा.बाबुराम भट्टराई र वर्तमान अध्यक्ष पुष्पकमल दाहाल पटकपटक प्रधानमन्त्री बनिसक्नुभएको छ ।
त्यसकारण यस प्रणालीलाई देशी विदेशीहरूका नजरमा नराम्रो बनाउने कार्यको सहभागी माओवादी पार्टीले पनि बन्नुपर्दैन र ? कार्यपालिकामा बसेका बेला र त्यहाँबाट बाहिर बस्दा बोली फेर्नु राजनीतिक अपरिपक्वता, स्वार्थकेन्द्रित राजनीतिको परिणाम हो । होइन भने पूर्वराजाले देखाएको सक्रियताका सम्बन्धमा हतार गरेर अरू पार्टी र सरकारलाई दोष दिएर निर्णय दिनुको सट्टा सबै पार्टीसँग समन्वय गरेर निष्कर्ष दिन सकिन्थ्यो नि ¤ पूर्वराजाको सक्रियतामा अरूको दोष देख्नुको सट्टा राजालाई पो दोषी देख्नुपर्ने हो । यसको मूल दोषी त पूर्वराजा र त्यसपछि जागेको राजावादीहरू नै हुन् । राजाबाट नागरिक बनिसकेका राजादेखि यस प्रकारले भयभीत बन्नुपर्ने कारण के हुनसक्छ ?
यसको कारण हो आफूबाट सरकार चलाउने, जनतालाई आन्दोलित बनाउने र बिथोल्ने तिनको हितमा कुनै काम नगर्ने, राष्ट्र, राष्ट्रियतालाई कमजोर बनाउने, आफूले आफ्ना मान्छेहरूले राष्ट्रको दोहन गरेर खर्बौं कमाउने काम गरेकाले आफ्नै कार्यबाट आफैं झस्किएको अवस्था अहिले माओवादीलगायत सबै दलरूमा देखिन आएको छ । पूर्वराजाको अहिलेको सक्रियताको विरोधमा सरकारमा संलग्न नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू पनि बोल्दै आउनुभएको छ । तर, उहाँहरूले यसको कारण अर्को कुनै पार्टी हो भनेर दोषी देखाउनु भएको छैन । माओवादीले चाहिँ सरकारलाई दोषी देखाउनुको सट्टा हामी सबै गणतन्त्रवादीहरूको कमजोरीबाट पूर्वराजाले सक्रियता बढाउनुभएको हो भन्ने निष्कर्ष निकालेको भए उचित हुन आउँथ्यो ।
गणतन्त्रको एजेण्डा माओवादीकै हो । त्यस अर्थमा राजतन्त्र फालेको जिम्मेवारी आफूले लिएर अरूले पनि साथ दिएकोमा अन्य राजनीतिक दललाई धन्यवाद दिन सक्नुपर्ने हो, अब पनि गणतन्त्रलाई बचाउने र बलियो बनाउने कार्यमा सबैजना लागौं भनेर सबै दल सँगसँगै हुन सक्नुपर्ने हो । तर, सुरुमै सरकारलाई दोषी देखाएर आपूm पन्छिन खोज्ने माओवादी नै गणतन्त्रलाई मजबुत बनाउन चाहँदैन कि भन्ने आशंका गर्ने स्थान बनाइदिएको छ । पूर्वराजालाई सक्रिय बन्न अग्रसर गराउने काममा विदेशी शक्तिको आड रहेको भन्ने माओवादीको निष्कर्षमा भने सबैले सहमति जनाउन सक्छन् । धर्म निरपेक्ष नेपाल बनाएको कार्य भने धेरैलाई मन परेको छैन । जुन देशमा नब्बे प्रतिशत भन्दा बढी मानिस ओमकार परिवारका छन् त्यही देशलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको सन्दर्भमा पछिल्लो समयमा धमाधम पोल खुलिरहेको छ ।
पश्चिमाहरूले यसका लागि पैसा दिएको भनेर अमेरिका र भारतको संसद्मै चर्चा भएकै हो । अहिले पनि भारतीयहरूले राजाको हालको सक्रियताका सम्बन्धमा समर्थनमा प्रतिक्रिया दिइरहेका छन् । यसको सन्देश सकारात्मक हुनसक्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी यस विषयमा मौन बस्यो भन्दाभन्दै अहिले उसको प्रतिक्रिया पनि आएको छ । त्यो हजारौंको हुल जनताकै हो भन्ने प्रतिक्रिया यस पार्टीका अध्यक्ष रवि लामिछानेबाट आएको हुँदा, घुमाउरो अर्थ रास्वपाको समर्थन पनि राजालाई नै भएको हो कि भन्ने देखिन आयो । प्रखर वक्ता रविन्द्र मिश्र बीबीसीको जागिर छोडेर राजनीतिमा होमिएपछि हाल राजावादी पार्टी राप्रपामा सम्मिलित भए जसरी नै रविले पनि आफ्नो पार्टीलाई त्यही मार्गमा सक्रिय गराउन सक्ने कुरालाई नकार्न सकिँदैन ।
यसो हो भने राजावादीहरूको आड अझै बलियो हुने कुरा निर्विवाद छ । दुई शताब्दीदेखिको दरबारिया राजनीति र पौने शताब्दीदेखिको जनतासमेत संलग्न हुँदै आएको नेपालको राजनीति जस्ताको तस्तै रहनु, मजबुत बन्न नसक्नुका अन्तर्यहरू खोतल्ने हो भने यस्तै एकले अर्कालाई दोष दिने प्रवृत्तिले यसका लागि कारक भूमिका खेलेको छ । पूर्वराजाको हालको सक्रियता दलहरूबीच एकता हुने हो भने ठूलो कुरा होइन सामान्य तर आपसमा एकले अर्कोलाई दोष दिइरहने हो भने चोर औंलाले अर्कालाई देखाउँदा बुढी औंलाले आफैंलाई देखाउँछ भने जस्तो बन्छ । जसले गर्दा हाल पूर्वराजालाई बोक्ने उचाल्ने गर्नेहरूले दलहरूको मुटु छाम्न पाउँछन् र दायाँबायाँ पन्छाएर आपूm अगाडि बढ्छन् । यसबारे सबै सचेत हुनैपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच