
काठमाडौं । ‘दशकदशकका कथावाचन’ कार्यक्रमको सत्रौं शृंखला सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको यस कार्यक्रममा यसपटक विभिन्न पाँच दशकका कथाहरूको वाचन गरिएको थियो । कार्यक्रमको सुरुवात दिवंगत स्रष्टा बोधविक्रम अधिकारीको ‘बाबुछोराको गन्थन’ शीर्षकको कथा वाचनबाट गरिएको थियो । ऐतिहासिक साहित्यिक पत्रिका शारदा (विसं १९९२) मा प्रकाशित यो कथा उपन्यासकार शुकदेव उपाध्यायले वाचन गर्नुभएको थियो । यसपछि, २०२० देखि २०७० को दशकसम्म प्रकाशित कथाहरूको वाचन गरिएको थियो ।
२०२० को दशकअन्तर्गत हरि अधिकारीले २०२८ सालमा मधुपर्कमा प्रकाशित ‘रामलालको आकाश’ (आफ्नै कथासंग्र्रह, २०४० बाट) वाचन गर्नुभएको थियो । २०४० को दशकका लागि योगेन्द्र तिमिल्सिनाले २०४६ सालमा मधुपर्कमा प्रकाशित ‘दिग्भ्रम’ (कथासंग्र्रह ‘अनन्त आकाश’ बाट) वाचन गर्नुभएको थियो । मन्दिरा मधुश्रीले २०५० को दशकको प्रतिनिधित्व गर्दै मधुपर्क मासिक २०५९ साउन अंकमा प्रकाशित ‘मासुको तिर्सना’ वाचन गर्नुभएको थियो । २०६० को दशकको कथाको रूपमा रासाले गरिमा मासिक २०६९ चैत अंकमा प्रकाशित ‘आर्तनादः एउटा कोलाज कथा’ वाचन गर्नुभयो । अन्त्यमा, २०७० को दशकको लागि प्रमोद सारंगले आफ्नो कथासंग्र्रह ‘झ्यालबाट विश्व चियाउँदै’ बाट ‘अन्धकारमा हुरी चलेको सडक’ शीर्षकको कथा वाचन गर्नुभएको थियो ।
कथा विधाकी अनुसन्धानकर्ता समिना खनाल पृथाले सञ्चालन गर्नुभएको कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमले विभिन्न पुस्ताका कथाकारलाई एउटै मञ्चमा ल्याई नेपाली कथा साहित्यको इतिहास र विकासक्रमलाई उजागर गर्ने उद्देश्य राखेको जिकिर गर्नुभयो । अर्का परिकल्पनाकार पुष्कर लोहनीले यस अभियानले निरन्तर पाएको माया र समर्थनप्रति आभार गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच