
सर्लाही । तराई-मधेसमा उल्लासपूर्वक मनाइने रङहरूको पर्व होली यस वर्ष अपेक्षाकृत फिक्का देखिएको छ । विगतका वर्ष रंग, पिचकारी, बेलुन तथा होलीका अन्य सामग्री किन्नेको भीड लाग्ने बजार यसपालि सुस्त छ । व्यापार मन्दीले व्यवसायी निराश देखिएका छन् । बजारमा विशेषगरी बालबालिकाका लागि आकर्षक पिचकारी, पानी भर्ने बेलुन, विभिन्न रंग तथा होली खेल्न प्रयोग गरिने सामग्री राखिएको छ । तर, ग्राहकको संख्या न्यून देखिन्छ ।
समाजसेवी रजनीकान्त झाका अनुसार केही वर्षपहिले मनोरञ्जनका सीमित विकल्प भएकाले चाडपर्वमा विशेष रमझम देखिन्थ्यो तर अहिले मोबाइल, सामाजिक सञ्जाल तथा अन्य डिजिटल मनोरञ्जनका माध्यमले यस्ता चाडहरूको महत्व घटाइरहेको छ ।
होली विशेषगरी युवाहरूले धुमधामसँग मनाउने पर्व हो तर रोजगारीको खोजीमा हजारौं युवा विदेश पलायन भइरहेकाले चाडपर्वमा उनीहरूको सहभागिता घट्दो छ । झा भन्नुहुन्छ, ‘यदि यो प्रवृत्ति रोकिएन भने बजार सुनसान हुनेछ, परम्परा र संस्कृति जोगाउन पनि कठिन हुनेछ ।’
यसैबीच सर्लाही प्रशासनले होलीको सुरक्षालाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाएको छ । स्थानीय प्रशासनले आमनागरिकलाई संयमित भएर पर्व मनाउन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडाइ गर्ने जनाएको छ । यस वर्षको होलीले व्यापार, संस्कृति र समाजमा गहिरो प्रभाव पारेको छ । अबको प्रश्न के हो भने के भविष्यमा पनि चाडपर्वको रौनक यसरी नै घट्दै जाने त होइन ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच