
हालै भएका पूर्वराजाका केही गतिविधिबाट गणतन्त्रवादीहरू भयभीत छन् । यसरी भयभीत हुनुको कारण भने आफ्नै कमजोरी हो । खुट्टो काटभन्दा खुट्टा झिके जस्तै भएको छ गणतन्त्रवादीहरूमा । पूर्वराजाको कडा विरोध गर्नेदेखि एक-आपसमा दोषारोपण सुरु भएको छ । तर, राजावादी दलहरूमा पनि एकसमानता देखिएको छैन । उनीहरूबीच राजावादी आन्दोलनको जस कसले लिने भनेर हानाथाप सुरु भइसकेको छ । यति छोटो समयमै तिनको एकता पानीको फोका जसरी फुट्न सुरु भएको छ । आपूm राजावादी हुँ भनेर दोबाटोमा ढुकेर बसेका केही राजनीतिक शक्ति र पार्टीहरू एउटा बाहना पाउना साथ एकाएक जुर्मुराएर बाहिरी मञ्चमा आइपुगे तर त्यसको केही दिन बित्न नपाउँदै तिनीहरूबीचको असन्तुष्टि छताछुल्ल भएर पोखिन पुग्यो ।
पहिले कम्युनिष्ट पार्टीहरूकै निकट रहँदै आउनुभएका तर पछि ती नेताहरूबाट पर हुनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत आइतबार काठमाडौंमा भएको राजावादीहरूको शक्ति प्रदर्शनको जस खोज्नुभएको छ । उहाँले आफ्नै प्रयासबाट मानिस ठूलो संख्या सडकमा उतारेको दाबीसमेत गर्नुभयो । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रापा नेपालका अध्यक्ष कमल थापाले त्यसको जस लिन चाहेकोमा उहाँले आपत्ति जनाउनुभएको छ । भक्तपुरस्थित आफ्नै निवासमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रसाईंले लिङ्देन र थापाले ढोक्सा थापेर जस लिन चाहेको आरोप लगाउनुभयो । यस अभियानको एकलौटी जस प्रसाईंले लिन चाहनुभएको छ ।
आन्दोलनको सुरुवातमै राजावादीहरूबीच आपसी आरोप-प्रत्यारोप सुरु हुँदा झस्किन पुगेका गणतन्त्रवादीहरूमा प्रसाईंको अभिव्यक्तिले केही राहतको महसुस भएको हुनसक्छ । नत्र गणतन्त्रवादी राजनीतिक दल र ती दलका नेताहरू राजाको विरोधमा प्रतिक्रिय दिँदै हिँड्न थालेका थिए । त्यतिमात्र होइन राजाको सक्रियताको कारण अन्य दललाई देखाएर आपसमा आरोप-प्रत्यारोपको अवस्था सिर्जना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको देशलाई पछाडि फर्काउने होइन अगाडि बढाऔं भन्ने भनाइदेखि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सरकारको विश्वसनीयता सकिएकै कारण राजतन्त्रवादीहरू हौसिए भन्ने भनाइलाई गणतन्त्रवादीहरू बीचको दोहोरीको उदाहरणका रूपमा लिन सकिन्छ ।
संसद्भित्र यस सन्दर्भले राम्ररी चर्चा पाउँदैछ । हालका सम्पूर्ण गतिविधि यही सरकार हो भन्ने माओवादीको आक्षेपको जवाफ सत्ताको नेतृत्वमा रहेको एमालेले सत्ताबाट निस्कनेबित्तिकै देश बिग्रियो भनेर माओवादी पार्टी उम्किन पाउँदैन भनेर चेतावनी दिएको छ । आसय गणतन्त्र आएपछिका दिनहरूमा माओवादी पटक-पटक सरकारमा र सरकारको नेतृत्वमा समेत रहेको थियो । विगतलाई माओवादी पार्टीले विचार गर्नैपर्छ । गणतन्त्र यदि कमजोर भएकै हो र बिग्रिएको हो भने त्यसरी यसलाई बिगार्नेमा गणतन्त्रकालमा सरकारमा जानेहरू सबै सहभागी छन् । विशेषगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तीनैवटा दलले यसको समान जिम्मेवारी लिनुपर्ने हुन्छ ।
यी तीन दल गणतन्त्रलाई बनाउन वा बिग्रिएको हो भने बिगार्न पनि बराबरी सहभागी छन् । गणतन्त्रले राम्ररी गति लिएको हो भने त्यसको प्रशंसाको समान हकदार छन् । अरू साना दलहरूको कुरा पर पन्साएर भन्ने हो भने ठूला तीन दलले एकअर्कामा गणतन्त्रको सम्बन्धमा समान धारणा बनाउनु आवश्यक छ । एकले अर्कालाई दोष दिएर अगाडि बढ्न खोज्नु भनेको सत्तामा रहँदा र बाहिर बस्दाको फरक अनुभूतिमात्र हो । भावावेशमा आएर एकअर्कालाई लाञ्छित गरेर भनिएको भए तापनि जनतालाई यस विषयमा पूरापूर जानकारी छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजाको उक्साहट र निर्देशनमा भएका गतिविधि दण्डनीय भएको विचार व्यक्त गर्नुभएको छ भने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानविपरीतका षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्छ भन्नुभएको छ ।
राजावादी दलहरूको चर्को स्वर भने संसद्भित्र पनि सुनिने गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गणतन्त्रवादी नेताहरूलाई लुक्ने ठाउँ खोज्नुहोला भनेर चुनौती नै दिनुभएको छ । अहिले गणतन्त्र बिगार्ने र सपार्ने को हो भनेर लेखाजोखा गर्ने बेला होइन, यसमा सबैको हात समान छ तर दुर्गा प्रसाईंले राजेन्द्र लिङ्देन र कमल थापालाई आफूले राजालाई अगाडि ल्याउन सम्पूर्ण माहौला तयार पारिसकेपछि ढोक्सा थाप्न र धमिलो पानीमा माछा मार्न आएका हुन् भनेर आरोप लगाएको सन्दर्भले राजावादीहरूको अभियान अब कमजोर भइसकेको छ । त्यसै पनि गणतन्त्रवादी नेताहरू डराउनुपर्ने अवस्था थिएन त्यसमा पनि अब ढुक्क भएर अगाडि बढ्न सकिने भएको छ ।
तर, यसो भन्दैमा गणतन्त्र हामीले नै ल्याएका हौं, यो हाम्रै व्यवस्था हो र संबद्ध हामी नेताहरूले जे गरे पनि हुन्छ भन्ने मानसिकतामा भने गणतन्त्रका संबाहक नेता र दलहरूले सोच्नुपर्ने हुन्छ । बेलाबेलामा अनेकौं उपद्रव मच्चाउने, मानिसहरूको हुल जम्मा गरेर प्रदर्शन गर्ने, सबैलाई उत्तेजक, अराजक खालका गाली गर्ने, अपशब्द बोल्ने, बेलाबेलामा राजनीतिक क्याम्प बदलिरहने दुर्गा प्रसाईंको बोली र व्यवहारलाई नै सबै थोक मानेर अगाडि बढ्ने काम भने राजनीतिक सुझबुझ भएका लामो समयदेखि राजनीति गर्दै आएका, दिग्गजहरूको समेत सहभागिता भएका, स्थापित मान्यता र सिद्धान्त लिएर हिँडेका दलहरूले गर्नु हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच