नेपालका लोकतन्त्र र गणतन्त्रप्रति आस्थावान् भनिएका राजनीतिक दलहरूमा अहिले एकाएक हलचल पैदा भएको छ । कुनै दलका नेता अत्तालिएका जस्ता देखिन्छन् भने कुनैले मुखाकृति र मन्तव्यमा आएको परिवर्तन लुकाउन प्रयास गरे तापनि सारमा बेचैन जस्ता लाग्दछन् । यसो हुनुमा अरू कुनै ठूलो कारण नभएर पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन छ गते साँझ प्रसारित प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिइएको शुभकामना मन्तव्यमात्रै हो । गद्दीमा भएका राजा फ्याँक्ने हिम्मतका साथ पटक-पटक जनआन्दोलन हाँकेका दल र नेताहरू शक्तिविहीन पूर्वराजाको एउटै वक्तव्यबाट किन यति हतास भए भन्ने चाहिँ अहम् सवाल बनेको छ ।
फागुन ७ का लागि पूर्वराजाबाट दिइएको वक्तव्यबाट राजावादीहरू एकाएक हौसिए । पूर्वराजा अब गद्दीमै गएर बस्छन् र उनको स्वस्तिगान गर्न पाइन्छ भने झैँ गरी फागुन २५ गते सडकमा उफ्रिए । पूर्वराजाको समर्थनमा निस्किएको जुलुसको तात्विक महत्व केही नभए पनि जम्मा भएका भीड भने अनपेक्षित नै थियो । जति मान्छे सडकमा आएका थिए त्यति आउँछन् भन्ने न राजावादीहरूले सोचेका थिए न शासनसत्ता समालेर बसेका दलहरूका नेताहरूले नै ठानेका थिए । त्यो भीडले राजावादीहरूलाई फुर्ती लगाउने ठाउँ दिएको छ भने गणतन्त्रात्मक सत्ता ओगटेर बसेका लोकतन्त्रका हिमायतीहरूलाई सोच्न बाध्य बनाएको छ ।
चोरको खुट्टा काट् भन्दा चोरले हत्तपत्त खुट्टा लुकाए झैँ नेताहरू झस्किएका छन् । पूर्वराजाले वर्तमानका नेताहरूमाथि केही झिनामसिना आरोप लगाएका छन् र ती स-साना कुराबाट नेताहरू यति धेरै आक्रोशित हुनुपर्ने जस्तो लाग्दैन तर पनि किन हतास हुनपुगेका होलान् भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ ।
राजावादीहरूमा उत्साह बढ्नुमा गणतन्त्रका नायकहरूले एकले अर्कोलाई आरोप लगाउने क्रम पनि सुरु भएको छ । विशेषगरी प्रतिपक्षी दलका नेता प्रचण्डले वर्तमान शासन शैलीलाई दोष दिएका छन् । प्रजातन्त्र आएपछि पालैपालो सत्तामा बसेका नेताहरूले एकले अर्कातिर औँला ठड्याउनु भनेको आफँैतिर चार औंला देखाउनु हो भन्ने सोच्न सक्नुपर्दछ । शेरबहादुर देउवा, केपी ओली र प्रचण्डले त लोकतन्त्रले दिएको समृद्धिको जस र गणतन्त्रमा पलाएका विकृतिको अपयश सबै अरूतिर पञ्छाउनै मिल्दैन । राम्रा काम जति मैले गरेको र नराम्रा जति अरूले भन्ने थेगो बनाएका नेताहरूले यसैलाई निरन्तरता दिए भने परिस्थिति अझै बिग्रँदै जानेबाहेक केही हुँदैन ।
चोरको खुट्टा काट् भन्दा चोरले हत्तपत्त खुट्टा लुकाए झैँ नेताहरू झस्किएका छन् । पूर्वराजाले वर्तमानका नेताहरूमाथि केही झिनामसिना आरोप लगाएका छन् र ती स-साना कुराहरूबाट नेताहरू यति धेरै आक्रोशित हुनुपर्ने जस्तो लाग्दैन तर पनि किन हतास हुनपुगेका होलान् भन्ने प्रश्न राजनीतिक वृत्तमा उब्जिएको छ । संविधानमा केही परिवर्तन जनताले चाहेका छन् तर आमनागरिकले संविधानका मूलमर्ममाथि संशोधन चाहेका छैनन् । धर्म निरपेक्षताका सन्दर्भमा समग्र नेपालीकै चासो भएजस्तो लाग्दछ तर राजाको पुनःस्थापन जदौ भन्दै दासता प्रदर्शन गरेर केही लाभ लिन बानी परेकाहरूको होला, नेपाली जनताको चाहना होइन । यति कुरा राजनीतिक दलको नेतृत्व गर्दै यहाँसम्म आइपुगेका नेताहरूले बुझेकै हुनुपर्दछ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गतेको प्रजातन्त्र दिवसका लागि शुभकामना वक्तव्य प्रसार गरे । भिडियोमार्फत प्रसारित उक्त वक्तव्यमा जनताले संघर्ष गरेर ल्याएको संविधानप्रतिको चिन्ता थिएन । लोकतन्त्रका मूल्यमान्यतामाथि भइरहेका प्रहारहरूका सन्दर्भमा कुनै आक्रोश पोखिएको थिएन । सयौं नेपाली नागरिक शहीद र हजारौं जनता अंगभंग भएर आएको लोकतान्त्रिक गणतन्त्रात्मक संघीय व्यवस्थाप्रति गर्व थिएन । चिन्ता आफ्नो गुमेको शासनप्रतिको थियो । देश र जनताको दुहाई दिँदै आफ्नै गलत कदमहरूले नेपालबाट अस्तित्वविहीन हुनपुगेको राजतन्त्रको पुनःस्थापनप्रतिको थियो । हराएको श्रीपेच खोज्ने र खोपीमा राखिएको गद्दीमा पुनः आसीन हुने प्रयत्न थियो ।
प्रजातन्त्र दिवसमा दिइएको शुभकामना वक्तव्यमा नागरिकका अधिकारका बारेमा उल्लेख थिएन । इतिहासमा तीन-तीनपल्ट जनआन्दोलन गरेर सार्वभौम भएका नागरिकको सार्वभौमिकता अझ सुदृढ कसरी गर्ने भन्ने पनि बताइएको थिएन । वर्तमानका लोकतान्त्रिक शासकहरूबाट जनताका अधिकारहरू कसरी खोसिँदै गए र अब के गर्नुपर्ने भन्ने भावी दिग्दर्शन थिएन । प्रजातन्त्र दिवसमा पूर्वराजाबाट पाएको शुभकामनाको वास्तविक सार नेपालमा राजतन्त्र फर्किनुपर्छ भन्ने थियो र केही वर्ष ज्ञानेन्द्र शाहले शासन गरेर उनीपश्चात् समान चरित्र भएका युवाहरूको रोजाइमा पर्ने पारस शाहलाई कसरी गद्दी सुम्पने भन्ने नै थियो ।
पूर्वराजाको वक्तव्य आएको केही पला नबित्दैदेखि राजनीतिक दलहरूका नेताहरूबाट थरिथरिका प्रतिक्रियाहरू आउने क्रम बढ्यो । आमनागरिक समुदायले समेत यो वक्तव्यको समर्थन र विरोध दुबैखाले विचारबाट सामाजिक सञ्जाल रंग्याउने काम भयो । बुद्धिजीवी तथा लेखकहरूबाट सञ्चारमाध्यममा विचार प्रस्तुत गर्ने र लेख प्रकाशन गर्ने कार्य भए । त्यतिबेलादेखि आउन थालेका आक्रोशपूर्ण र समन्वयवादी तर्कवितर्क अझै आइरहेका छन् र यसको अन्त्य कहिले हुन्छ यसै भन्न सकिने अवस्था देखिँदैन । सुझबुझपूर्ण कदम चाल्नेहरूले भन्दा पनि लहैलहैमा लागेर होहल्ला मच्चाउनेका कारण देशको राजनीतिक अवस्थामा हलचल ल्याएको छ ।
पोखराबाट काठमाडौं आउँदा एयरपोर्टमा लिन जाने राप्रपा र राजावादी भनिएकाहरूले मच्चाएको हल्लाले अहिलेको राजनीतिक वृत्तमा भुइँचालो नै ल्याए जस्तो देखिएको छ । विमानस्थलबाट सोझै नारायणहिटी राजदरबारमा लगेर श्रीपेच लगाइदिने जस्ता संविधानविरोधी भनाइहरू निरन्तर प्रवाह गराइनाले वर्तमान शासनसत्तामा रहेकाहरूमा मात्रै होइन लोकतन्त्रमा अगाध आस्था राख्नेहरूमा समेत बेचैनी निश्चय नै पैदा गराएको छ । यो राजावादीहरूको दिवास्वप्ना पूरा हुने त कुनै गुञ्जायस छैन र पनि लोकतन्त्रप्रति आस्था भएकाहरूले हल्का रूपमा लिन पनि हुने देखिँदैन ।
आगोको प्रथम झिल्को सानो नै हुन्छ र पछि त्यही झिल्को बढेर जंगलै डढाउँछ । गाउँघरमा आगजनी हुनपुगे वस्ती नै सखाप पार्दछ । अहिलेका राजावादी भनिएकाहरूको संख्या उनलाई गद्दीमा आसीन गराउन सक्ने हैसियतमा किमार्थ छैन तर राजधानीमा उर्लिएकाहरूलाई हेर्दा राजनीतिक दलहरूले केही सोच्न भने बाध्य हुनैपर्दछ । वर्तमान प्रधानमन्त्री केपी ओलीले नै विगतमा सत्तामा रहँदा अवसर दिएका त्यो जुलुसमा देखिन्थे । कांग्रेसले विश्वास गरेका र माओवादीहरूले आशा गरेकाहरू पनि राजावादी भनेर हिँडेको देखिन्छ । त्यसैले यसो हुनुमा के के कारण हो केलाएर सत्तामा बारम्बार रहेका दलहरूले आफूलाई नसुधार्ने हो भने यो संख्या बढ्दैन भन्न पनि सकिँदैन ।
अहिलेको नेपालको युवा जनसंख्यामा आधाभन्दा बढी राजतन्त्र नभोगेको पुस्ता छ । २०४७ सालपछि जन्मेकाहरूको त कुरै गर्न परेन २०६३ पछिको जनसंख्या नै लाखौं भइसकेको छ । जनआन्दोलनबाट खारिएर आएका राजनीतिक दलहरूको शासन व्यवस्थामात्रै देखेका युवाहरूलाई अपेक्षाकृत् सन्तुष्टि दिन पछिल्ला सरकारहरूले नसकेको कुरालाई नेताहरू स्वयंले स्वीकार गर्नैपर्दछ । यीमध्येका कतिपयहरू कोही केही बुझेर त कोही नबुझेर लहैलहैमा राजा फर्काउँछु भन्दै राजावादीहरूको जुलुसमा जानुलाई पनि अस्वाभाविक मान्नु हुँदैन ।
यी युवाहरूले त नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा मात्रै जानकारी पाएका छन् । ललिता निवास प्रकरणमा बालुवाटारको प्रधानमन्त्री निवास नै खरिद गर्ने हिम्मत भएकाहरू मन्त्री आदि ठूलाठूला पदमा विराजमान भएको वर्तमान युवा पुस्ताले देखेको छ । जनता महामारीले आत्तिएका बेलाको ओम्नी काण्डमात्रै देखेको छ । गोकर्णको सरकारी जग्गामा भएका यति प्रकरण, झापाको गिरिबन्धु टि स्टेट काण्ड, सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्रीले एक अरब बढाइदेन भनेको जस्ता कुरामात्रै सुनेका युवाहरूले राजाका पालामा स्वर्णयुग नै थियो भन्ने ठान्नु अचम्मको कुरो पनि होइन । वाइडबडी विमान खरिदको हल्लाले वाक्क भइरहेका बेलामा नेताहरूले अपनाएको नातावादले योग्य नागरिकहरूमा वितृष्णा पैदा गराउँदा राजतन्त्र नै नदेखेकाहरूले पञ्चायतकाल नै उपयुक्त भने भनेर आश्चर्य पनि मान्नुपर्दैन ।
नेपाल रहँदासम्म पृथ्वीनारायणको प्रशंसाका साथ स्मरण गरिरहनै पर्दछ । उनकै योगदानका कारण शाहवंशले एघार पुस्तासम्म नेपालमा राज गर्यो र आफ्नै गल्तीका कारण गद्दी गुमायो । राजा ज्ञानेन्द्रमा तानाशाह बन्ने महत्वाकांक्षा नपलाएको भए शायदै आज देश गणतन्त्रमा पुगेको हुन्थ्यो होला ।
प्रचण्डले चलाएको हिंसात्मक आन्दोलनमा अनाहकमा सत्र हजार नेपालीले ज्यान गुमाए । किरियापुत्रीदेखि लिएर विद्यालय पढाउँदै गरेका शिक्षकहरू कोही बाँकी रहेनन् । विप्लवले के के न गर्छु भनेर त्यस्तै आन्दोलन चलाए । यस्ता क्रियाकलाप भोगेको वर्तमान पुस्ताले पूर्वराजाले कसैको हिंसा नगरी गद्दीमा फर्कन्छु भनेको मात्रै देखेका छन् । आन्दोलनमा सहभागी नभए परिवारै सिध्याइदिन्छु भनेर भनेका पनि छैनन् । त्यसैले कतिपयलाई राजाको शासन आए स्वर्गै पुगिन्थ्यो जस्तो लागेको पनि होला तर राजाको शासन भोगेकालाई मात्रै त्यतिबेलाको कठिन अवस्थाका बारेमा जानकारी हुन्छ ।
कुनै पनि सरकारी कार्यालयमा दस्तुरबिना काम फत्ते गर्न हत्ते हुन्छ । सवारी चालकका लागि लिइने परीक्षा उत्तीर्ण गरेको दुई वर्षसम्म परीक्षार्थीको हातमा लाइसेन्स पर्दैन । लाइसेन्स नवीकरण गरेकाहरू दुई वर्षभन्दा बढी समयसम्म पैसा तिरेका रसिद बोकेर हिँड्न बाध्य छ । राज्यले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्छ तर परिचयपत्र बनाउन तीन महिना कुर्नुपर्दछ । पासपोर्ट बनाउन जाऊ लाइन, लाइसेन्स बनाउन जाऊ लाइन, मालपोत तिर्न लाइन, कर तिर्न लाइन अर्थात् जता गयो उतै दिक्क हुनुपर्ने परिस्थिति छ । यस्ता दिग्दारीहरूतिर सरकारको ध्यान जाने हो भने वर्तमान सत्ताले पूर्वराजालाई गाली गर्नै पर्दैन । लोकतन्त्रप्रति जनताको आस्था जाग्ने काम सरकार आफैंले गर्ने हो, अरू कसैले होइन ।
पूर्वराजाका पछि लागेकाहरूले पनि एकपटक नेपालमा राजतन्त्रको इतिहास अध्ययन गर्नैपर्दछ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर सारा नेपालीलाई गुन लगाए र लडाइँका बेला भएका छिटपुट अन्यायदेखि बाहेकका कुनै पनि कुरामा उनको कुरो काट्ने ठाउँ छैन । नेपाल रहँदासम्म पृथ्वीनारायणको प्रशंसाका साथ स्मरण गरिरहनै पर्दछ । उनकै योगदानका कारण शाहवंशले एघार पुस्तासम्म नेपालमा राज ग¥यो र आफ्नै गल्तीका कारण गद्दी गुमायो । राजा ज्ञानेन्द्रमा तानाशाह बन्ने महत्वाकांक्षा नपलाएको भए शायदै आज देश गणतन्त्रमा पुगेको हुन्थ्यो होला ।
एघार पुस्ताले राज गर्दा क-कस्ता राजा भए भन्ने मनन् गर्नै पर्दछ । बहादुर शाह र रणबहादुर शाहका बीचको द्वन्द्वले कस्तो असर पार्यो ? राजेन्द्र शाह र उनका पत्नीहरूका बीचको हानाथापले नेपाललाई कस्तो बनायो ? सुरेन्द्र शाह जस्ता साँढे पालेर बस्ने र त्यो साँढे मर्यो भन्न कसैले नपाउने उर्दी जारी गर्ने राजाका पालामा के भयो ? राजा त्रिभुवनको दैनिकी कसरी बित्थ्यो ? राणाले दरबारभित्रै अधिकारविहीन बनाएर कैद गरेका त्रिभुवन, महेन्द्रहरूलाई गद्दीमा कसले पुर्यायो र गद्दीमा पुर्याउने नागरिकहरूकै अधिकार उनीहरूले कसरी खोसे ? राजा वीरेन्द्रको वंशनाश दरबार बाहिरको कसैले गरेको हो र ? जस्ता प्रश्नहरूको उत्तर नखोजी राजसंस्थाको पुनःस्थापना भन्दै दौडिनुमा कसैगरी पनि बुद्धिमानी ठहर्दैन ।
पञ्चायतकालमा कस्ता-कस्ता प्रजातान्त्रिक योद्धाहरू कसरी मारिए ? नागरिक अधिकारको आवाज उठाउँदा कतिले कति वर्षसम्मको जेल सजायँ पाए ? नेपालका अति प्राचीन मूर्तिहरू तस्करी गरेर विदेश कसले पुर्यायो ? जस्ता प्रश्नहरूको उत्तर युवाहरूले खोज्नु पर्दछ र मात्रै नेपालमा कस्तो व्यवस्था ठीक हुन्छ निर्णय गर्न उचित हुन्छ । ज्ञानेन्द्र शाहलाई गद्दीमा पुर्याइयो भने उनीपछि राजा को-को बन्छन् भन्ने पनि राजावादीहरूले पक्कै हेरेकै हुनुपर्दछ । व्यवस्था परिवर्तनको राँको हावादारी तबरले बाल्नु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु जस्तोमात्रै हो । जनता स्वस्ति गर्दै दिएको खाने वर्गमात्रै होइन राष्ट्रको सार्वभौमसत्ता बोकेको नागरिक हो भन्ने बुझ्नै पर्दछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र