
काठमाडौं । चिसो सकिएर मौसम विस्तारै तातिँदै छ । मौसमसँगै अहिले नेपालको राजनीति पनि गर्माएको छ । गणतन्त्र र राजावादीहरू दुवैले आन्दोलनमा होमिने तयारी गरेका छन् । फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा ठूलो मास सडकमा आएपछि हौसिएका राजावादी र झस्किएका गणतन्त्रवादी दुवैले चैत लागेसँगै आन्दोलनको तयारी थालेका हुन् । नेकपा (माओवादी केन्द्र)सहित चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् विरोधसभा गर्ने घोषणा गरेको छ । जनताले हटाइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्ने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको मोर्चाले सदन र सडकबाट प्रतिरोध गर्ने निर्णय गरेको हो । राजाको पछिल्लो सक्रियताबाट हौसिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चैत १ गतेदेखि आन्दोलन चर्काउने निर्णय गरिसकेको छ । राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि बृहत् राष्ट्रवादी जन-आन्दोलनको सुरुवात गर्न लागिएको राप्रपाले जनाएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह पनि सनातन हिन्दूराष्ट्र तथा राजतन्त्र फर्काउन चरणबद्ध रूपमा सडक संघर्षमै छ । हिन्दूवादी संघ संगठनहरूले पनि एकपछि अर्को आन्दोलन घोषणा गरिरहेका छन् । यसैगरी, राप्रपा नेपालले पनि चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । नेपालमा यसअघि ठुल्ठूला आन्दोलन चैत महिनामै भएको इतिहास छ । २०३५ साल चैतमा सुरु भएको विद्यार्थी आन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थाबारे जनमत संग्रह घोषणा गर्न बाध्य बनाएको थियो । २०४६ साल फागुनदेखि पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चाले प्रारम्भ गरेको संयुक्त जनआन्दोलन चैत महिनामा उत्कर्षमा पुगेको थियो । चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो । २०६२ सालको चैत २४ गतेबाट प्रारम्भ गरिएको जनआन्दोलनले २४० वर्ष पुरानो राजतन्त्रलाई अन्त्य गर्ने दिशामा मुलुकलाई लगेको थियो ।
समाजवादी मोर्चाले काठमाडौंमा बृहत् जनसभा गर्ने
चार दलीय समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा बृहत् जनसभा आयोजना गर्ने भएको छ । शुक्रबार बसेको मोर्चाको बैठकले १५ गतेको जनसभालाई बृहत् बनाउने निर्णय गरेको नेकपा नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष मोर्चाले निकालेको छ । ‘१५ गतेको बृहत् प्रदर्शनलाई भव्य बनाउने र हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ ।’ मोर्चाले तीन विषयमा राजावादीबाट खतरा रहेको निष्कर्ष निकालेको छ । परिस्थिति गम्भीर रहेकाले सडक संघर्षमा जानुपर्ने मोर्चाको निष्कर्ष छ । नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते बृहत् विरोधसभा राखिएको विश्वकर्माले बताउनुभयो । चैत १५ गते काठमाडौंमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उहाँले दाबी गर्नुभयो । मोर्चाले आज (शनिबार) काठमाडौंमा अन्तरक्रिया गर्ने भएको छ । बुद्धिजीवी र नागरिक समाजका अगुवासँग मोर्चाले अन्तरक्रिया कार्यक्रम राखेको विश्वकर्माले बताउनुभयो ।
सत्ताको नालायकीले सडकमा अराजकतावादी बढे : एकीकृत समाजवादी
नेकपा (एकीकृत समाजवादी)ले सत्ताधारी नालायक हुँदै गएको ठहर गरेको छ । सत्ताधारीको नालायकीले सडक पपुलिष्टको कब्जामा गएको एकीकृत समाजवादीको ठहर छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासचिव घनश्याम भुसालले सत्ताको नालायकीकै कारण मुलुक संकटतर्फ फसेको बताउनुभयो । ‘सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडकमा पपुलिष्ट बढ्दै गएको छ,’ पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो । नेकपा एकीकृतले आन्दोलनका कार्यक्रमहरू समेत सार्वजनिक गरेको छ । महासचिव भुसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुभएको हो । दुई महिनासम्म चल्ने आन्दोलनका कार्यक्रम २५ वैशाखमा सकिनेछन् । ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो, बेरोजगारी र कुशासनविरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो,’ उहाँले भन्नुभयो, ‘र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बीच सहकार्य र एकताको अभियान हो ।’ सार्वजनिक आन्दोलनका कार्यक्रमअन्तर्गत २-६ चैतसम्म मातहतका कमिटीमा छलफल, ७-१५ चैतसम्म केन्द्रीय तहमा विभिन्न संघसंगठन तथा व्यक्तिहरूसँग सुझाव संकलन, २० चैतमा सरकारलाई ज्ञापनपत्र बुझाउने र चैत मसान्तभित्र प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद हुनेछ । ५ वैशाखमा प्रदेश र जिल्ला प्रशासनमार्फत ज्ञापनपत्र बुझाउने, १५ वैशाखसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद गर्ने, १९-२२ वैशाख पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने र २५ वैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गरिने भुसालले जानकारी दिनुभयो ।
परिवर्तन उल्ट्याउने दुःस्साहस गरे इँटको जवाफ पत्थरले दिन्छौँ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै इँटको जवाफ पत्थरबाट दिइने बताउनुभएको छ । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनमा बोल्दै उहाँले हजारौँ जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०/१५ हजार मान्छे उफार्दैमा उल्ट्याउन सम्भव नहुने बताउनुभयो । तर, उल्ट्याउने दुःस्साहस भने भइरहेको उहाँले बताउनुभयो । ‘इतिहासमा हजारौँ जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०/१५ हजार मान्छे उफार्दैमा उल्ट्याउन सम्भव छैन,’ उहाँले भन्नुभयो, ‘तर, दुःस्साहस चाहिँ भएको छ । तर, माओवादी र समाजवादीहरू इँटको जवाफ पत्थरले दिन तयार छन् ।’ चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको भन्दै त्यहाँ उपस्थित हुन उहाँले सबैलाई आहृवान गर्नुभयो । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरूको भरमा नउचालिन उहाँले चेतावनी दिनुभयो । ‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक/दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न पूरा हुँदैन,’ उहाँले भन्नुभयो, ‘मूर्ति चोर को हुन् ? नेपालका ठुल्ठूला मूर्ति चोरहरू र भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सियो भन्ने ठानेको ? राजावादीहरूले देशलाई कहाँ पु¥याए ?’
देश परिवर्तनको संघारमा छ, कसैले रोकेर रोकिँदैन : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनालाई कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश अहिले चौबाटोमा पुगिसकेको दाबी गर्नुभयो । अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापनालाई कसैले रोक्न नसक्ने उहाँको दाबी छ । आफूहरू सबै दल अटाउने प्रजातन्त्रसहितको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उहाँले बताउनुभयो । ‘राजसंस्था र प्रजातन्त्र एक–अर्काको विकल्प र विरोधी होइनन् । राजसंस्था र प्रजातन्त्रसँगै जानसक्छ, राजा र प्रजातन्त्रसँगै जानसक्छ,’ उहाँले भन्नुभयो, ‘देश परिवर्तनको संघारमा पुगेको छ । अब यो एक/दुईजना कसैले रोकेर रोकिने अवस्थामा छैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच