काठमाडौं । भुवन मास्के ‘मुस्कान’को संस्मरण संग्रह ‘समय र अनुभूति’ लोकार्पण गरिएको छ । वासु शशी स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौंमा एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति वरिष्ठ कवि विष्णुविभु घिमिरे लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
वासु शशी स्मृति प्रतिष्ठानकी उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा आयोजित कार्यक्रममा कृतिको लोकार्पणपछि प्रमुख अतिथि घिमिरेले संस्मरण र यात्रा साहित्यमा इतिहास र संस्कृति पनि आउने भएकोले जानकारी लिन चाहानेहरूको निम्ति यस्ता कृति अत्यन्तै पठनीय हुने बताउनुभयो । उहाँले लेख्नु भनेको भाङको नशा जस्तो भइको जिकिर गर्नुभयो । कृतिकारको कृतिले गायक प्रेमध्वज प्रधानलगायत अन्य थुप्रै लुकेका इतिहासहरू उजागर गरेको पनि बताउनुभयो ।
कृतिमाथि समीक्षा गर्दै नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कृति पढ्दै जाँदा सजिलो भाषा, मीठो शैली, पढ्दा कुराकानी गरेको जस्तो लाग्ने पाएको बताउनुभयो । मेरो मन तानियो भन्दै उहाँले प्रेमध्वज प्रधानको विषयमा चारवटा निबन्ध लेखिएको जानकारी दिनुभयो । उहाँले टुडिखेलको बारेमा समेत धेरै हामीलाई थाहा नभएको कुरा कृतिमा आएको सुनाउनुभयो । मालश्री धुनबारे जानकारी भएको भन्दै उहाँले कृतिले कुनै सन्दर्भ, दुःख, घटनालाई लिएर पाठकको मन रुवाउन सक्ने खुबी नै लेखकको सफलता रहेको जिकिर गर्नुभयो । ‘वास्तवमा कृतिले पाठकको मन निचोर्ने खुबी राख्छ,’ उहाँको भनाइ थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाले नयाँ कृतिकार जन्माएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले वासु शशी, प्रेमध्वज प्रधान र दिवंगत वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्रीको स्मरण पनि गर्नुभयो । कृतिकार मास्केले पुस्तक निकाल्न प्रत्यक्ष र परोक्ष रूपमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गर्दै पढेर आफ्नो कृतिबारे सुझाव र सल्लाह दिन अनुरोध गर्नुभएको थियो ।
कवि मुरारी सिग्देलले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा परिषद्का सदस्यसचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो । आयोजकले स्रष्टा भुवन मास्केलाई सम्मान पनि गरेका थिए । कार्यक्रममा बिहीबार राति निधन हुनुभएका साहित्यकार लीलबहादुर क्षेत्रीलाई एक मिनेट मौन धारण गरी श्रद्धा व्यक्त पनि गरिएको थियोे ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि