काठमाडौं । प्रदर्शनरत चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ । पीडायुक्त शब्दहरू रहेको यस गीतले चलचित्रकी प्रमुख पात्र एञ्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू वयान गरेको छ । यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरको संगीत र प्रभा बर्तौलाको शब्द रचना छ । यस गीतको संक्षिप्त अंश चलचित्रमा समेत सुन्न सकिन्छ । चलचित्रका निर्देशक मिलन चाम्सले यस गीतलाई पूर्णरूपमा सुन्नका लागि दर्शकबाट व्यापक माग आएपछि सार्वजनिक गरिएको बताउनुभयो ।
फागु पूर्णिमाको अवसर पार्दै बिहीबारदेखि सिनेमाघरमा आएको ‘अञ्जिला’ले दर्शकबाट व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । बिहीबार पहिलो शो देखि नै दर्शकहरूको उत्साहजनक उपस्थितिसहित प्रदर्शन भएको यो चलचित्र हेर्दा दर्शकहरू भाव विहृवल भएका छन् ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एञ्जिला आफैंले प्रमुख भूमिकामा अभिनय गर्नुभएको छ । यसमा उहाँको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एञ्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ ।
शो थप हुने बित्तिकै हाउसफूल हुँदा दंग छु : निर्देशक
चलचित्र ‘अञ्जिला’ले शनिबार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिनदेखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिबार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले जानकारी दिनुभयो । देशभरका मल्टिप्लेक्सदेखि सिंगल थिएटरसम्म हाउसफुल शोहरू देखिएको उहाँले बताउनुभयो ।
चलचित्रले दर्शकसँगै समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा चलचित्रका बारेमा आएका समीक्षा सबै सकारात्मक छन् । यसको कथा, निर्देशन, अभिनय र गीतसंगीतलाई प्रशंसा मिलिरहेको छ ।
चलचित्रको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिनुभयो । ‘चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुशी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दंग छु । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ ।
चलचित्र हेरेर दर्शक भावुक भएका छन्, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ’, निर्देशक चाम्सले भन्नुभयो । अहिले सोसल मिडियामा ‘अञ्जिला’को प्रशंसा भएका र दर्शक रोइरहेका भिडियो क्लिप्सहरू भाइरल छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच