
✍️ मनोेजकुमार कर्ण
२०८१ साल फागुन २५ गते आइतबार नेपालमा राजावादीहरूले ‘नारायणहिटी खाली गर’ को नारासहित ड्रोन क्यामराद्वारा लिइएको तस्वीरमा करिब साढे सत्र हजार मान्छेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गरिएको दाबी अनुसार १० किलोमिटर साँघुरो सडक जाम गरे । २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र आएपछि र २०६५ जेठ १५ गते विधिवत् राजतन्त्रको उन्मूलन भई गणतन्त्र घोषणा भएपछि पहिलोपटक यति मान्छे एकसाथ काठमाडौंको सडकमा पूर्वराजालाई पोखराको हिउँदे बसाइपछि विमानस्थलदेखि उनको निजी निर्मल निवाससम्म स्वागत गर्न एकत्रित भए । यसले पूर्वराजा ज्ञानेन्द्र शाहमा अलिकति उत्साह त थपिएकै हुनुपर्छ साथै केही गम्भीर सवालहरू पनि उठाइदिएको छ ।
के प्रायोजित मास सधैँभरि देशका विभिन्न भागबाट स्वागत गर्न र राजा बनाइदिन काठमाडौंमा आउला, आएपछि कथंकदाचित् कोही राजा बने– मास प्रायोजित जुटाउनेहरू नै पुनः छोटे राजा, मन्त्री आदि बन्ने कि आमजनताले पनि राहत पाउने, को–कस्ता मान्छेहरू राजा ल्याउनमा लागेका छन्, राजावादी भनिएकै बीच फरक विचार प्रकट हुँदा राजतन्त्र आउला कि जनता उनको पछाडि समय बर्बाद गर्दै छन् आदि सन्दर्भमा यो लेख केन्द्रित छ ।
राजा कसलाई चाहियो ?
संवैधानिक राजतन्त्र रहेकै बेला राजा वीरेन्द्र शाहको गद्दी आरोहण दिवसहरूमा सरकारी मुखपत्र गोरखापत्रले नै छापिसकेको शाहवंशी राजाको इतिहासमा ज्ञानेन्द्र शाहको करिब २२औं अघिल्लो पुस्तामा कुलमण्डन खाँ छन् । ‘खाँ’ थर सनातन हिन्दुमा लेखिँदैन, मुसलमानहरूले लेख्छन् । संयोग कस्तो भने नेपालमा हालको शाह वंशकै बीचको पुस्ताका राजा पृथ्वीनारायण शाह र उनका वंशज ज्ञानेन्द्र शाहसम्मका वंशजहरूले आफूलाई सनातन हिन्दुको भगवान विष्णुको अंश आफूलाई स्वघोषणा गरे । तर, शाहवंशी राजाकै सक्रिय शासनमा उनीहरू बस्ने घर नारायणहिटी दरबारको अगाडि त्रिचन्द्र क्याम्पसनेर मस्जिद खडा गरियो ।
नेपालमा राजा चाहियो भनेर सडकमा उत्रनेहरू गणतन्त्रमा नेताहरूबाट आजित केही जनता तर अधिकांश विगतमा राजतन्त्रबाट लाभ उठाएकाका सन्तानहरू, जीवित ती लाभ उठाएका बुढापाका, वित्तीय अपराधमा डामिएर उम्कन खोज्ने दुर्गा प्रसाईं मार्काहरू, राजालाई देखाएर सत्ताको स्वाद विगतमा चाखिसकेका दल खोलेर बसेका नेतालगायत छन् ।
ज्ञानेन्द्र शाह स्वयंले जे नाम दिए पनि अझैै जम्मू-कश्मिरका फारुक अब्दुल्लाह मुसलमानहरूले लाउने टोपी नै लाउँछन् भने स्याङ्जामा ‘आलमदेवी’ मन्दिरको दर्शन गर्छन् । अब आफ्नै कारणले इतिहासको पानामा पूर्वराजाको अवस्थामा पुगिसकेका ज्ञानेन्द्र शाहलाई प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते उनको आहृवान अनुसार तत्काल स्वयंलाई राजा बन्ने लालच छ तर उनीभित्र एउटा पिताको सोचले भने आफू स्थापित भएर छोरा पारस र पछि नाति हृदयेन्द्र शाहलाई राजा बनाउनुपरेको छट्पट्टी देखिन्छ, ताकि आफ्नो कारणले आफ्नोसहित सन्तानहरू सबैको भविष्य बर्बाद भएको कलंकबाट बच्न सकियोस् ।
नेपाली जनता भने अलोकतान्त्रिक, विभिन्न आरोप लागेका, राजाभन्दा व्यापारमा लागेका, सक्रिय राजशाही टिकाउन पछिल्लो समय लोकतान्त्रिक देश कसैले साथ नदिँदा चीन, अफ्रिका, अरबका राजतन्त्रतात्मक मुसलमान र कम्युनिष्ट देशहरूको भ्रमण गरेका ज्ञानेन्द्र शाहलाई मन पराउँदैनन् । ज्ञानेन्द्र मात्रलाई होइन कि उनका छोरो पारस शाह वा अन्य कसैलाई पनि अब आमजनता कुनै पनि रूपमा राजा स्वीकार्न तयार छैनन् । महाभारतमा युद्ध जित्न चालाख र जानकार शकुनिले श्रीकृष्णलाई भाञ्जा दुर्याेधनले फकाउनुपर्ने, दाइ बलरामको आशिर्वाद पाउनलाई भान्जाले नुहेर नढोग्ने, मलाई कष्ट हुन्छ भन्ने र उल्टै श्रीकृष्णलाई नै बन्दी बनाउने कुरा गर्दा अन्त्यमा शकुनिले ‘यो युद्ध जित्ने लक्षण देखिँदैन, म त गान्धार आफ्नो देश हिँडेँ’ जस्तै अवस्थामा छोरा पारस शाह र अन्य दरबारिया नेताहरूको झगडा ज्ञानेन्द्रलाई बनाइदिएको छ ।
वास्तवमा नेपालमा राजा चाहियो भनेर सडकमा उत्रनेहरू गणतन्त्रमा नेताहरूको स्वआर्जन, भ्रष्टाचारमा भएको निर्लिप्तिबाट आजित केही जनता तर अधिकांश मान्छे विगतमा राजतन्त्रबाट लाभ उठाएकाका सन्तान, जीवित ती लाभ उठाएका बुढापाका, वित्तीय अपराधमा डामिएर उम्कन खोज्ने दुर्गा प्रसाईं मार्काहरू, राजालाई देखाएर सत्ताको स्वाद विगतमा चाखिसकेका दल खोलेर बसेका नेतालगायत छन् । यस मासमा निर्दाेष किशोर जो राजाबारे जान्न पाएकै छैनन्, उनीहरू केही संख्यामा मात्र छन् तर उनीहरू सामाजिक सञ्जालद्वारा बढी सक्रिय छन्, भौतिक उपस्थितिमा कम ।
श्रेय लिन आपसमै घोचपेच
आफूलाई नेपालको ‘खलासी’ भन्न रुचाउने तथा राजाहरूका ढुंगाका मूर्तिहरू काठमाडौंमा रंगरोकन गर्ने लक्ष्मण खड्काले ज्ञानेन्द्र शाह जस्तालाई पृथ्वीनारायण शाहको जस्तो राजा मान्न नसकिने र राजेन्द्र लिङ्देन तथा कमल थापाहरूलाई राजावादी मान्न नसकिँने भन्दै एउटा छोेरो पाल्न नसक्नेले देशलाई के पाल्नसक्लान् भनेर ज्ञानेन्द्र शाहमाथि नै प्रश्न उठाएका छन् । उनमा के फ्रस्ट्रेसन देखिन्छ भने गणतन्त्रपछि पनि असजिलो वातावरणमा तयार गर्ने तर वर्षको एक दिन पृथ्वीजयन्तीमा अन्य नेताले गएर फूलमाला अर्पण गरेर मिडियामा अनुहार देखाई भाषण ठोक्ने ।
त्यस्तै गत फागुन २५ गतेकै काठमाडौंमा साढे सत्र हजारको भिडले साँघुरो सडकमा जाम पार्नेगरी विमानस्थलदेखि निर्मल निवाससम्म पूर्वराजालाई स्वागत गरेपश्चात् अन्य राजावादीहरूमा श्रेय लिन तँछाडमछाड देखिन्छ । धेरै बैंकबाट अर्बाैं रुपैयाँ ऋण लिएर नतिर्ने, अरूलाई पनि तिर्नुपर्दन भन्ने र अराजकता मच्चाउने तथा कुनै बेला एमाले र माओवादीहरूको नेकपा भएका बेला २०७४ ताका मार्सी चामलको भात, मासुका परिकारहरू केपी ओली र पुष्पकमल दाहाललाई खुवाएर कट्टर कम्युनिष्ट रहेका दुर्गा प्रसाईंले राप्रपाका नेताहरूलाई सार्वजनिक रूपमै पत्रकार सम्मेलनमार्फत् यसको जस आफूले पाउनुपर्ने दाबी गर्दैछन् ।
प्रसाईंका अनुसार २०६३ सालपछि राप्रपाका आवरणमा जनताबाट राजाको सेन्टिमेन्टमा भोट सोहोरेर समानुपातिक र एकाध सिट संसद्मा जितेका कमल थापा र राजेन्द्र लिङ्देनहरूले पश्चिमा क्रिश्चियनको पैसा खाएर हस्ताक्षर गर्दा नै नेपालबाट हिन्दु राष्ट्र गुम्यो । तसर्थ, प्रसाईंले राजाकै संगत र सँगै आन्दोलन गर्ने तर कारिन्दा थापा र लिङ्देनसँग नगर्ने तथा प्रसाईंले नै राजाको स्वागत फागुन २५ गते गरे भनेर प्रसाईं, अर्जुन र ज्ञानेन्द्र शाह कृष्ण सारथि बन्नुपर्ने रे । उता राप्रपाका सांसद ज्ञानेन्द्र शाहीको पनि भिडियो भाइरल छ जसमा चुनावमा उठ्नुअघि उनी राजसंस्था किन मान्ने भन्दैछन् तर फागुन २५ गतेतिर श्रेय लिन भने उनी कुर्लंदै छन् ।
राप्रपा-नेपालका अध्यक्ष कमल थापा भने वाकपटुतामा माहिर भएकाले गणतन्त्रको विकल्प राजतन्त्र नभएकोले सक्रिय राजतन्त्र नभई संवैधानिक राजतन्त्रका लागि आफू लाग्ने बताएका छन् । वास्तवमा नेपालमा अब कुनै पनि राजतन्त्रको जरुरत छैन । ज्ञातव्य छ कि राष्ट्रवादी विद्यार्थी युवा मण्डलका पञ्चायती प्रोडक्ट कमल थापाहरू क्लबमा ऐनाअगाडि नलर्बराएर भाषण छाँट्ने अभ्यास गर्थे र ‘वाकपटुता’ मा उनी पारंगत छन् । थापाको राजसंस्थाबारे पछिल्लो मिडिया बाइटले ज्ञानेन्द्र शाहसँग मनमुटाव नहटेको र राजावादीबीच नै चरम् मतभेद रहेको प्रष्ट्याउँछ ।
भारतलाई नेपाल सनातन हिन्दू राष्ट्र हेर्न मन छ तर त्यसको संरक्षकमा राजा नै जरुरत छ भने छैन । अमेरिकाको पनि व्यापारिक प्रतिस्पर्धी चीन र भारत नै हुन् र तिनका बीच पनि पटक-पटक युद्ध भइसकेको छ । अतः गणतन्त्रवादी दलहरू चीनतिर नढल्कून्, बरु लोकतान्त्रिक वा तटस्थ रहुन् भन्ने भारत-अमेरिका चाहन्छन् ।
वास्तवमा, २०६४ र २०७० का संविधानसभा चुनावहरूमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका लागि पूर्वराजा शाहसँग चुनाव खर्च माग्न जाने गरेका थिए । तर, धर्मनिरपेक्षतामा थापाले हस्ताक्षर गर्ने र चुनावपछि मुख्य दुई बुँदा नै संवैधानिक राजतन्त्र र नेपाल हिन्दू राष्ट्रमा जनमत संग्रह गरिने भनेर बोल्दै गर्दा ज्ञानेन्द्र शाहबाट ‘के नेपाली जनताले मलाई जनमत संग्रहद्वारा हटाएका हुन्, जो तिमी जनमत संग्रहद्वारा मलाई ल्याउने भनिरहेका छौँ ? के हामी सक्छौँ ? के तिमीले जनमत संग्रहद्वारा सदाको लागि राजतन्त्र समाप्त पार्न चाहन्छौ ?’ जस्ता प्रश्नहरू सोधिँदा सम्बन्ध निकै चिसिएको सञ्चारमाध्यममा आएको थियो ।
गणतान्त्रिक दल र सरकारको अन्तिम मौका
माथिको विवरणले राजावादीबीचको कलह सतहमा ल्याउँछ र समय अझ बिग्रनुभन्दा पहिले नै सरकार र परिवर्तन पक्षधर दलहरूले जनताका आधारभूत समस्यामा ध्यान दिएर जनताको आक्रोश मत्थर पार्नुपर्छ । जनतामा नेपाल देशको नागरिकता, लाइसेन्स, राष्ट्रिय परिचयपत्र, राहदानी जस्ता डकुमेन्ट्सबाहेक कर्मचारी, प्रशासन, प्रहरीले गर्ने राम्रो व्यवहार, सुलभ सार्वजनिक सेवा, अस्पतालमा औषधि, रोजगार सिर्जना, भूकम्पलगायत शीतलहरीमा तत्काल पीडितलाई राहत, महँगी घटेर राहतमा खादान्न प्राप्ति जस्ता केही पनि छैन कि उनीहरूले नेपालमा म पनि सम्मानित नागरिक हुँ भनेर गर्वले अरूलाई भन्न सकून् भन्ने छ ।
अदालतमा गरिब, निमुखाले नपाउने अवस्था छ, न बलात्कृतको सुरक्षा र न्याय छ, न मधेसी, आदिवासी, जनजातिको पहिचान, प्रदेश, संघीयताका कानुन फटाफट बनाएर लागू गरिन्छन् । उल्टै अझै मधेसी कोटामा गैरमधेसी जान्छन् तर मधेसी भने वैकल्पिकमा पर्छन् । देशमा सम्पत्ति शुद्धीकरण कानुन बनेर नेपाललाई एफएटिएफको ग्रेलिस्टबाट तत्काल हटाउनु छ, उच्च शिक्षा तथा रोजगारका लागि विदेशमा युवाको पलायन रोक्नु छ तर मन्त्रीहरूलाई अझै निकटका मान्छे विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगमा पठाउनु छ, शैक्षिक संस्थानमा आफ्ना निकटकालाई नियुक्ति गराउनलाई दबाब दिन युनिभर्सिटीमा विद्यार्थी पठाइन्छ ।
यी गलत कुरा तत्काल रोकेर जरुरततिर सरकारले ध्यान पु¥याउँदा, काम गर्दा तर गफ नदिँदा बरू जनताको आक्रोश मत्थर हुँदैजानेछ । रानावादीहरू यदि गणतन्त्रवादी नेतालाई भ्रष्ट भन्ने आरोप लगाउँछन् भने आफूहरूको छानविन हुन दिनुप¥यो तर सँगै २०४६ सालपछिको मल्लिक आयोग र २०६३ सालपछि न्यायधीश लक्ष्मण अर्यालको छानविन प्रतिवेदनहरू सार्वजनिक गर्नुप¥यो जसले पञ्चायती कर्तुतहरू सबैले थाहा पाऊन् । कसरी २०५८ सालमा राजा वीरेन्द्र सपरिवार मारिँदा ज्ञानेन्द्रको सपरिवार बाँच्न सफल भयो, त्यसको छानविन गराएर जनतालाई जानकार बनाउन आवश्यक छ ।
प्रष्ट होस्, भारतलाई नेपाल सनातन हिन्दु राष्ट्र हेर्न मन छ तर त्यसको संरक्षकमा राजा नै जरुरत छ भने छैन । हो, अमेरिकाको पनि व्यापारिक प्रतिस्पर्धी चीन र भारत नै हुन् र तिनका बीच पनि पटक–पटक युद्ध भइसकेको छ । अतः गणतन्त्रवादी दलहरू चीनतिर नढल्कून्, बरू लोकतान्त्रिक वा तटस्थ रहुन् भन्ने भारत-अमेरिका चाहन्छन् किनकि हिजो सक्रिय शासनमा ज्ञानेन्द्र पनि चीनतिर ढल्केका कारणले अब पुनः राजा भएपछि नढल्केलान् भन्ने छैन । गणतन्त्रका ८० देखि ९० प्रतिशत नेपाली जनतालाई रिस उठाएर प्रतिगमनतर्फ भारत पनि जान चाहँदैन । तसर्थ, नेपालका गणतान्त्रिक दलहरूले आपसी दोषारोपण तत्काल बन्द गरेर यस अन्तिम मौकालाई गणतन्त्रको पक्षमा सदुपयोग गर्नसक्नुपर्छ । (उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच