
नेताहरूमा संयम र बोलीमा नियन्त्रण पाइन छाडेको छ । नेतामै संयमता नपाइएपछि कार्यकर्ताहरूमा त्यस्तो संयमताको आशा र अपेक्षा गर्नु अन्यथा हुन आउँछ । हालै पूर्वराजाले प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको शुभकामना सन्देशको एक महिना बित्न लाग्दा पनि राजनीतिक बजार तातेको तात्यै छ । उहाँको भनाइपछि एकाएक राजनीतिमा पैदा भएका तरंगहरूका प्रतिक्रियाहरू आइरहेका छन् । यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रतिक्रियाहरू क्रमशः आइनै रहेका छन् ।
कुनै पनि क्रियापछि त्यसको प्रतिक्रिया हुनुलाई स्वाभाविक मानिन्छ । त्यो अन्यथा होइन तर त्यस्ता प्रतिक्रियाहरू के कसरी र कुन रूपमा आएका छन् तिनको भने बृहत् समीक्षा हुने गर्छ र हुनु पनि पर्छ । त्यस्ता समीक्षाहरू बौद्धिक वर्गबाट, राजनीतिक विश्लेषकहरूबाट, विभिन्न क्षेत्रका भ्रातृ तथा पेसागत संघ संगठनहरूबाट र जनस्तरबाट समेत आउने गर्छन् । तर, पूर्वराजाको आग्रह र उहाँको समर्थनमा भएको प्रदर्शनपछि गण्नतन्त्रवादीहरूबाट निरन्तर कटाक्ष भइनै रहेका छन् । सामान्य व्यक्तिहरूका मात्र होइन राजनीतिक विश्लेषकहरूकै प्रतिक्रियाहरूको पनि लेखाजोखा गर्न सम्भव छैन किनभने यस्ता प्रतिक्रियाहरू दिने व्यक्तिहरूको संख्या असीमित छ ।
नागरिकहरूका प्रतिक्रियाको त झन् लेखाजोखा गर्न सकिने सम्भावना नै छैन । सधैँ छुच्चा कुरा गरेर आफ्नो अथाह बौद्धिकतालाई समेत संरक्षण गर्न नसकेर आशालाग्दो व्यक्तित्व छँदाछँदै पनि त्यसलाई जोगाउन नसकेर हाल राजनीतिको स्पष्ट बाटो समाउन नसकी यता न उताको अवस्थामा पुग्नुभएका डा. भट्टराईले पूर्वराजाको शालीन आग्रहको खरो टिप्पणी अरूभन्दा पहिले गर्नुभएकै हो । पूर्वराजाले सुदूरपश्चिमका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गर्दा पनि म भएको भए थुनिदिन्थेँ भन्ने भट्टराईले आपूm प्रधानमन्त्री भएका बेला किन त्यसो गर्नुभएन र पदबाहिर भएका बेला चाहिँ त्यसो भन्नुभएको हो भन्ने प्रश्न त्यसबेला पनि उठेको थियो । हाल पनि पूर्वराजालाई नियन्त्रणमा लिनुपर्छ भन्ने उहाँको प्रतिक्रिया त्यस प्रकारको पहिलो हो ।
अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिक्रियाले राजनीतिक बजार तताएको छ । राजाको शालीन र भद्र भनाइको प्रतिक्रियाका रूपमा किन यस्तो उत्तेजक, अराजक, निम्नस्तरको र हिंसा भड्काउने खालको प्रतिक्रिया उहाँले दिनुभएको हो त्यो उहाँलाई नै थाहा होला । तर, त्यत्तिको उपल्लो स्तरको व्यक्तिले केही राजनीतिक लेखाजोखा नगरेर बोल्नु भने पछि आफैँलाई अफ्ठेरोमा पार्नु मात्र हो । उहाँले जे जस्ता शब्द प्रयोग गरेर राजाको भनाइको प्रतिक्रिया दिनुभएको छ त्यसबाट उहाँको राजनीतिक उचाइ निकै नै होचिन पुगेको छ । उहाँको भनाइको प्रतिक्रियास्वरूप उहाँको फोटो जलाउनेदेखि उहाँविरुद्ध नाराहरू लाग्न थालेका छन् । त्यति मात्र होइन उहाँले राजालाई गाउँलेहरूले साँध– सिमाना र पानीपँधेरामा गरेको झगडा र मुख छाडाछाडको शैलीमा भाइमारा, सुन तस्कर, मूर्तिचोर जस्ता शब्द प्रयोग गर्नुभएको छ ।
पदकै मर्यादा र गरिमा घटाउने यस्ता दुर्वचन आकाशतिर फर्केर थुकिएको थुक नै हो । जुन अन्ततः आफ्नै थाप्लामा आइपुग्छ । एउटा वरिष्ठ नेता तथा उच्च पदलाई नसुहाउने यस्ता बोली-वचन तत्काल बन्द गरिनु नै श्रेयष्कर हुन्छ । जनसाधारणले त उहाँको पारिवारिक कुरा खोतलेर त्यसको दोषी पनि उहाँलाई नै बनाइरहेका छन् । त्यसको प्रष्टीकरण उहाँबाट आउला नै तर आफू पटक-पटक प्रधानमन्त्री बन्दा राजालाई कुनै कारबाही गर्न नसक्ने र पदबाहिर छँदा उग्र र अराजक शब्दमा गालीगलौज गर्नु भने त्यो उहाँहरूमा देखिएको डर मात्र हो भन्न सकिन्छ ।
क्षणिक लाभ, स्वार्थका लागि विभिन्न आश्वासन दिएर ‘सेन्टिमेन्ट ब्लाक मेलिङ’ गर्ने पात्र र प्रवृत्ति बग्रेल्ती छन् । र यस्तो आश्वासनबाट जनता पटक-पटक आजित भए पनि अन्ततः तीनै नेता र भाषणमै जानी नजानी फस्ने गरेका छन् । यो नेपाल र नेपालीहरूको नियति जस्तो बनेको छ । राजनीति भनेको प्रतीक्षाको चौतारी हो । भोलि प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्नुहोला । त्यस बेला पूर्वराजालाई कुनै कारबाही गर्न सक्नुभएन भने जनतालाई के जवाफ, दिनुहुन्छ । हुन त यो प्रचण्डको प्रवृत्ति नै हो । अगाडिको भिड हेरेर बोल्ने गर्नुहुन्छ । रुक्मांगत कटुवाल, पशुपतिनाथको पूजारीको प्रसंगदेखि मास हेरेर रुने, म भावुक मान्छे हुँ भन्ने, मलाई प्रधानमन्त्री बनाउन फलानाले दिल्ली दौडाहा गरेर सहयोग गर्नुभयो भन्ने अनि संसद्मा पुगेर माफी माग्ने पाँच हजार मानिस मारेको जिम्मा म लिन्छु भन्ने जस्ता अनेकौँ सन्दर्भहरूमा उहाँ पछाडि धकेलिनुभएको छ । यसो भनेर पूर्वराजाको समर्थन र गणतन्त्रको विरोध गरेको भन्ने अर्थमा यसलाई हेरिनु हुँदैन । गणतन्त्रवादी नेताहरूलाई दिएको सुझावका रूपमा यसलाई लिनुपर्छ ।
अज्ञातबाहेक १७ हजार ज्ञात मानिसहरू मारिएका, कैयौँ बेपत्ता पारिएका र त्यसभन्दा बढी संख्यामा विकलांग बनाइएकाहरूको समूहको माझमा उभिएर यो कार्य हिंसा होइन महान् जनयुद्ध हो भनिरहँदा हिजोभन्दा आज उहाँको कद निकै होचो भइसकेको छ ।
राजनीतिक विवाद, बहस, छलफल आदि आफ्नो ठाउँमा हुन्छ र यो निरन्तर चलिरहन्छ । पात्र र प्रवृत्तिजन्य खराबीविरुद्ध बोल्न जरुरी छ । तर, त्यसरी बोल्दा पनि अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा बिर्सेर अर्को गल्ती गर्ने दुःस्साहस कसैले गर्नुहुन्न । विडम्बना, शीर्षस्थ नेताहरू पनि लाजसमेत लजाउने गरी आग्रह, पूर्वाग्रह र प्रतिशोध साँधेर क्षणिक आक्रोशमा भाषण गर्छन् र एकैछिनमा भाइरल बन्छन् । यो प्रवृत्तिका हिसाबले गलत हो । त्यसमा राजनीतिक संस्कार, मर्यादा, अनुशासन कायम राख्ने काम पनि नेताहरूकै हो । यो कुरा नबुझी क्षणिक उत्तेजनामा आउँदा जग हसाउने काम मात्र हुँदैन वर्तमान पुस्ताका नेताहरूले आफ्ना पिँढीलाई के सिकाइरहेका छन् ? प्रश्न उब्जिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच