
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रूपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा आइतबार आयोजित तीनदिने हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन, २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवत्खण्ड सम्मेलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको तथा यहाँ राम्रो मन्थन भएको आफूले पाएको बताउनुभयो । सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवात यही हिमवत्खण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उहाँले यो भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको धारणा राख्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले हिमवत्खण्डको गौरव र नेपाली जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउने संकल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गर्नुभएको थियो । समापन सत्रमा छानिएका कविहरूले कविता वाचन गर्नुभएको थियो ।
नेपाल र विदेशका गरी करिब ५०० स्रष्टा सहभागी उक्त सम्मेलनले १७ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सम्मेलनको उद्घाटन गर्नुभएको थियो भने प्रधानमन्त्री ओलीले समापन गर्नुभएको थियो ।
सम्मेलनको अन्तिम दिन समाजमा घटेका विभिन्न घटनाक्रमलाई सञ्चार गर्ने क्रममा मिडियाले प्रयोग गरिरहेको भाषाका विषयमा परिसंवाद भएको थियो । ‘सञ्चार माध्यममा नेपाली भाषा’ विषयमा भएको परिसंवादमा पत्रकार अखण्ड भण्डारीले पछिल्लो समय नेपाली मिडियाले नेपाली भाषालाई बिगारेर लेखिरहेको र भाषामा दक्षता आवश्यक पर्ने उल्लेख गर्दै मिडियामा काम गर्नेका लागि समय-समयमा तालिम आयोजना गर्न सुझाव दिनुभयो । सार्वजनिक सेवा प्रसारण संस्थाका बोर्ड अफ डाइरेक्टर्स फूलमान बलले भाषाले मनोविज्ञान र संस्कृति बनाउने भएकाले नेपाली समाजमा रहेका आदरार्थी शब्दलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।
साहित्यकार गीता त्रिपाठीले नेपाली भाषाको कुनै पनि शब्दले ध्वनिको प्रतीक चिहृनमात्रै नभई सांस्कृतिक महत्व बोकेको बताउनुभयो । नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद्का पूर्वसदस्य प्रा.डा. हेमनाथ पौडेलले सञ्चार माध्यममा आदरार्थी शब्दको प्रयोग नहुँदा अमिल्दो हुन जाने बताउनुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी मोहराज शर्माले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी ‘संस्कृति र समृद्धि’ परिसंवादको पनि आयोजना गरिएको थियो ।
यसअघि सम्मेलनको पहिलो दिन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लेख्नुभएको कविता ‘मरे पनि केही छैन, सपना देख्न पाऊँ...’ को भावमा नाटक मञ्चन गरिएको थियो । प्रधानमन्त्री ओलीले उक्त कविता २०७५ असार ३१ गते चन्द्रागिरिको डाँडामा लेख्नुभएको थियो । वीरेन्द्र हमालसहित चार कलाकारको प्रस्तुति रहेको नाटकमा देशप्रेम, साहस, आशा, परिवर्तन र उत्साह भाव व्यक्त गरिएको थियो ।
सम्मेलनमा ‘साहित्यिक चलचित्र उत्सव’ तथा चलचित्रमा भाषा परिसंवाद विषय अन्तरक्रियाका साथै कला उत्सवअन्तर्गत चित्रकला कार्यशाला र लोकबाजा प्रदर्शनी गरिएको थियो । सो क्रममा भारतको आसाम, दार्जिलिङ, मेघालय, सिक्किमलगायत क्षेत्रमा रहनुभएका नेपाली तथा नेपाली भाषीको सांस्कृतिक तथा गायन प्रस्तुति गरिएको थियो ।
सम्मेलनमा आसाममा कलाकारले ‘परदेशबाट फर्किआयौँ आफ्नै प्यारो माटो सम्झेर...,’ म्यान्मारमा सिर्जना गरिएको गीत तथा नृत्य ‘देउराली डाँडालाई काटेर गए पनि...’, सिक्किमको च्याब्रुङ नाच, मेघालयको कौडा नृत्य, मिथिला, नेवार सभ्यताका नृत्य, तामाङ सेलो, देउडा, गन्धर्व धुनले सांस्कृतिक उत्सवलाई झनै आकर्षक बनाएको थियो ।
सम्मेलनमा काशी हिन्दु विश्वविद्यालयका आचार्य प्रा.डा. दिवाकर प्रधानको प्रमुख आतिथ्यमा नेपालबाहिर नेपाली लोकसंस्कृतिबारे प्राज्ञिक विमर्श गरिएको थियो । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा ‘हिमवत्खण्ड : महिमा र गौरव’ विषयक विद्वत् सभा र सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । सम्मेलनमा भारत, चीन, बंगलादेश, म्यान्मार, भुटान, थाइल्याण्डमा बस्ने नेपाली भाषीको सहभागिता थियो ।
पहिलो दिनको उद्घाटन कार्यक्रमपश्चात् सोही दिन नेपालभित्रका गोष्ठीपत्र प्रस्तुति (राष्ट्रिय सभागृह), नेपाली चलचित्र प्रदर्शनी (नेपाल पर्यटन बोर्डको प्रेक्षालय), नेपाली चलचित्रमा भाषा र लोकसंस्कृति विषयक समूह विमर्श कार्यक्रम (नेपाल पर्यटन बोर्डको प्रेक्षालय) लगायतका समानान्तर कार्यक्रम भएका थिए ।
दोस्रो दिन (चैत्र २ गते) नेपालबाहिरका कार्यपत्र प्रस्तुति, विद्वत् प्रवचन, साँझ हिमवत्खण्ड सांस्कृतिक कार्यक्रम तथा चैत १ र २ गते दुवै दिन राष्ट्रिय सभागृहको लबिमा देशका ख्यातिप्राप्त ललित कलाकारहरूद्वारा सिर्जित हिमवत्खण्डको लोकसंस्कृति झल्किने कलाकृतिहरूको प्रदर्शनी जारी रहेको थियो भने तेस्रो दिन लेमन ट्रि होटल, बुढानीलकण्ठमा कविगोष्ठी, प्रवचन कार्यक्रमसहित कार्यक्रमको समापन गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच