
काठमाडौं । राजावादी शक्तिहरू संगठित हुन थालेपछि सशंकित प्रमुख दलहरू नजिकिन थालेका छन् । राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई सशक्त बनाउन राजावादी शक्तिहरू एकजुट हुन थालेपछि व्यवस्था बचाउन भन्दै प्रमुख दलहरू पनि नजिकिन थालेका हुन् । राजावादीविरुद्ध शक्ति प्रदर्शनको तयारी गरिरहका गणतन्त्रको पक्षधर विपक्षीले सत्तारूढ दलसँग पनि संवाद थालेका हुन् । पूर्वराजाको स्वागतमा ‘अभूतपूर्व’ सहभागिता देखिएपछि हौसिएका राजावादीहरूले गणतन्त्रलाई धक्का दिनेगरी एकताबद्ध आन्दोलनको तयारी गरेका छन् । यसैलाई काउण्टर गर्न सत्ता-प्रतिपक्षी पनि नजिकिएका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गर्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रस्ताव गरेका हुन् । प्रचण्डनिकट स्रोतका अनुसार राजावादी शक्तिहरूले षड्यन्त्र गरिरहेकाले त्यसलाई असफल बनाउन गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डको प्रस्ताव छ । तर, यसबारे तीन नेताबीच सामूहिक छलफल भने भइसकेको छैन । तीन नेताबीच संवाद गराउने वातावरण बनाउने काम भइरहेको छ ।
गणतन्त्र पक्षधरको सरकार बनाउने ढोका खुलेको माओवादी नेता लेखनाथ दाहालले बताउनुभयो । त्यसका लागि प्रारम्भिक छलफलसमेत सुरु भएको उहाँको भनाइ छ । संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमालेभन्दा कांग्रेससँग बढी छलफल हुने बताउनुभएको थियो । तर, अध्यक्ष प्रचण्डको सचिवालयले भने यसलाई सरकारमा जाने तयारीका रूपमा नबुझ्न आग्रह गरेको छ । अध्यक्ष प्रचण्डकी छोरीसमेत रहनुभएकी सचिवालय सदस्य गंगा दाहालले माओवादीको अभियानबाट तर्सिएर निराधार हल्ला चलाइएको स्पष्ट पार्नुभयो । माओवादी वर्तमान सरकारमा जाने हल्ला निरर्थक रहेको उहाँको भनाइ छ । ‘माओवादी केन्द्रको अभिमतबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले माओवादी सरकारमा जाँदै छ भन्ने बेतुकको हल्ला बजारमा चलाइएको रहेछ । यसमा विल्कुलै सत्यता छैन,’ उहाँले स्पष्ट पार्दै भन्नुभएको छ, ‘हाम्रो पार्टी र नेतृत्वको अहिलेको सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गर्दछु ।’
यसैगरी, सत्तारूढ दल एमालेले राष्ट्रिय सहमतिको सरकारबारे अहिले चलिरहेको चर्चालाई बेमौसमीको संज्ञा दिएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संकटको अवस्थामा कसैले पनि सत्तामा जाने भ¥याङ बनाउन नहुने बताउनुभयो । ‘यो एकदमै बेमौसमी विषय हो । यो विषयमा हामी प्रवेश गरेनौँ । यस्तो बेलामा पनि भागबण्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’ उहाँले भन्नुभयो ।
यता, राजावादीहरूले भने राजसंस्था पुनःस्थापनाका लागि नवीन समझदारीको प्रस्तावसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । राजसंस्थासहितको प्रजातन्त्रको जगमा सकारात्मक राजनीतिक एवं संवैधानिक परिवर्तनको निम्ति उपयुक्त समय आएको उनीहरूको निष्कर्ष छ । राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन राजावादी शक्तिहरू एकजुट हुने प्रयासमा लागेका छन् ।
राजतन्त्र फर्काउने प्रयास सफल हुँदैन : एमाले
एमालेले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको उहाँले बताउनुभयो । ‘अहिले पनि वंशको आधारमा शासन गर्ने बहस आफैँमा हास्यास्पद छ । यो देशको लागि हानिकारक र निरर्थक प्रयास हो । हाम्रो पार्टी संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको पक्षमा उभिन्छ,’ उहाँले भन्नुभयो । एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्षसमेत निकालेको छ । ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक-पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ उहाँको भनाइ छ । केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण उहाँले बताउनुभयो । ‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भन्नुभयो, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो ।’
पूर्वराजाले नै जनता भड्काउने काम गरे : सिटौला
कांग्रेस नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताउनुभएको छ । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सरकारले स-सम्मान बिदाइ गरेको पूर्वराजा ज्ञानेन्द्रले केही गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको बताउनुभयो । पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने उहाँको भनाइ थियो । तत्कालीन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेण्टी गरेको उहाँले बताउनुभयो । जनतासामु राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने तर, राजा आउँछ भनेर जनतालाई भड्काउने काम गर्न उहाँले बताउनुभयो । ‘अहिले आएर म केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र दिँदै हिँड्नु शोभनीय भएन । हामीले उहाँलाई दिएको सम्मान ग्रहण गरिरहनु उचित हुन्छ । होइन भने जनतासामु म राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । राजा आउँछ भन्ने सन्देश दिएर जनतालाई भड्काउने काम भएको छ र, त्यसमा परिवर्तनकारी दलहरूको जुन किसिमको दृढता हुनुपर्ने हो त्यो भने देखिरहेको छैन’, उहाँले भन्नुभयो । यस विषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको उहाँको धारणा छ । ‘समावेशी लोकतन्त्र, संघीयताको निर्मम समीक्षा गरौँ, जनताको आवश्यकताका आधारमा अब संविधान संशोधन गर्न ढिलाइ गर्नुहुन्न’, सिटौलाले भन्नुभयो ।
जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ : डा. कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताउनुभएको छ । सोमबार विराटनगरस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताउनुभएको हो । जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने उहाँको भनाइ थियो । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ तर, पछिल्लो १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको उहाँले बताउनुभयो । फ्रान्समा त अझै राजा फर्काउने चर्चा भइरहेको भन्दै राजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको उहाँको भनाइ थियो । जनताको आकांक्षा पूरा गर्नेतर्फ दलहरू चुकेका कारण सडकमा आक्रोश देखिन थालेको डा. कोइरालाले बताउनुभयो ।
इतिहासको चक्का पछाडि फर्काउने दुःस्साहस भइरहेको छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले राजावादीहरूलाई अगाडि बढ्ने दुःस्साहस नगर्न चेतावनी दिनुभएको छ । सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दरबारियाहरूले अगाडि बढ्ने दुःस्साहस गरिरहेको बताउनुभयो । ‘यो व्यवस्थामा केही पनि भएन भन्नु गलत हो । हामीले के के गरियो भन्ने बुझाउन सकिएन,’ उहाँले भन्नुभयो, ‘अहिले इतिहासको चक्का पछाडि फर्काउने दुःस्साहस भइरहेको छ । दरबारियाहरू अगाडि बढ्ने दुःस्साहस गरेका छन् ।’ आफू नेतृत्वको पार्टी सरकारमा जाने विषयमा कांग्रेस–एमालेसँग कुनै छलफल नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘सरकारमा जाने पार्टीको नीति छैन । त्यसमाथि सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘सरकारमा जानेबारे औपचारिक कुरा पनि भएको छैन ।’
‘नवीन समझदारी’ गर्न राजावादीको प्रस्ताव
राजावादीहरूको भेलाले राजसंस्थावादी अभियानका चार एजेण्डा तय गरेको छ । सोमबार भएको राजावादीहरूको बृहत् भेलाले राजसंस्था पुनःस्थापना गर्नेसहित चार एजेण्डा तय गरेको हो । जसमा संवैधानिक राजसंस्थाको पुनःस्थापनासँगै सनातन हिन्दू अधिराज्यको पुनःस्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासन रहेका छन् । राजावादीहरूले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा जनताको सर्वोच्चतामा आधारित राजसंस्था आफूहरूले चाहेको उल्लेख छ ।
राजावादी शक्तिहरूको संयोजन पञ्चायतकालीन नेता नवराज सुवेदीले गर्नुहुने भएको छ । राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउन आफूलाई संयोजनको जिम्मेवारी दिएको उहाँले बताउनुभयो । राजावादीको भेलामा उहाँले नै ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनको प्रतिबद्धता’ पेस गर्नुभएको थियो । राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापना गर्न अहिले आन्तरिक र बाहृय स्थिति अनुकूल रहेको उहाँको दाबी छ । ‘नेपालको परिप्रेक्ष्यमा राजनीतिक दलहरूलाई न्यूनीकरण गरेर वा राजसंस्थालाई निषेध गरेर देशको हित नहुने रहेछ भन्ने प्रष्ट भइसकेको छ । २०४७ सालको संविधानलाई आधार मानेर, २०७२ सालको संविधानका सकारात्मक प्रावधानहरूलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सर्वपक्षीय सम्मेलनमार्फत देश शान्तिपूर्ण रूपमा ‘नवीन समझदारी’मा जाओस् भन्ने सम्पूर्ण राष्ट्रवादी-राजसंस्थावादीहरूको चाहना हो,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नवीन समझदारी त्यस्तो अवधारणा हो, जहाँ देशको शान्ति, स्थिरता, सामाजिक सौहार्दता, धर्म-संस्कृति, परम्परा, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको प्रतीकका रूपमा राजसंस्था अनि नियमित राज्य सञ्चालनका लागि राजनीति दलहरू दुवै अटाउन सकून् ।’ शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारीको प्रस्तावलाई दलहरूले तत्काल सम्बोधन नगरेको खण्डमा संयुक्त जनआन्दोलनमा जान बाध्य चेतावनी दिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच