
काठमाडौं । कलाकार शशीविक्रम शाहलाई भीमदर्शन रोका आदर्श गुरु सम्मानबाट र काभ्रेपलाञ्चोकको पनौतीस्थित ‘सहारा ज्येष्ठ नागरिक समाज’लाई भीमदर्शन रोका आदर्श समाजसेवा सम्मानबाट सम्मानित गरिएको छ । जनही पचास हजार रुपैयाँको राशिसहित काठमाडौंमा भएका एक कार्यक्रममा उक्त सम्मान समर्पण गरिएको हो । नेपाली आधुनिक मुक्तकका प्रवर्तक तथा आदर्श गुरु भीमदर्शन रोकाको स्मृतिमा आयोजित समारोहमा साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतथ्यितामा सम्मान गरिएको थियो ।
प्रमुख अतिथि घिमिरेले शशी शाहको कलाकारिताको प्रशंसा गर्दै उहाँलाई नेपाली चित्रकलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने विशिष्ट कलासाधकको संज्ञा दिनुभयो । यसैगरी, उहाँले ज्येष्ठ नागरिकको सेवा र सम्मानमा समर्पित सहारा ज्येष्ठ नागरिक समाजको पनि उच्च प्रशंसा गर्नुभयो । घिमिरेले भीमदर्शन रोकाको साहित्यिक र शैक्षिक व्यक्तित्वको चर्चा गर्दै उहाँका विद्यार्थीहरूद्वारा स्थापित कोषले हरेक वर्ष यसरी आदर्श व्यक्तित्व तथा संस्थालाई सम्मान गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।
समारोहका सभापति एवं सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले २०४० सालमा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूले आफ्ना आदर्श गुरु रोकाको सम्मानमा यो संस्था स्थापना गरेको स्मरण गराउनुभयो ।
कार्यक्रममा कलाकार कृष्ण मानन्धरले शशीविक्रम शाहको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, पूर्वसचिव दीपेन्द्रनाथ शर्मा लगायतले भीमदर्शन रोकाको योगदानको स्मरण गर्नुभएको थियो ।
सम्मानित शशीविक्रम शाह र सहारा ज्येष्ठ नागरिक समाजका प्रतिनिधिले सम्मानबाट गौरवान्वित भएको प्रतिक्रिया दिनुभएको थियो । कार्यक्रममा भीमदर्शन रोकाकी धर्मपत्नी मीना रोकाको पनि स्मरण गरिएको थियो । यादव भट्टराईको सहजीकरणमा सम्पन्न कार्यक्रममा नेपाली साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच