
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको साधारणसभामा पुरस्कार र सम्मान वितरण गरिएको छ । संघले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच पुरस्कार र सम्मान अर्पण गरेको हो । लामो समयअघिदेखि आफ्नो पेशागत कर्ममा क्रियाशील रहेका पत्रकार र कलाकारहरूलाई संघको २०औँ साधारणसभामा सम्मान तथा पुरस्कारले विभूषित गरिएको थियो । नेपाली चलचित्रमा लामो समय निरन्तर अभिनयकर्म गरेर योगदान पुर्याएका कलाकारहरूको कदरस्वरूप पुरस्कार÷सम्मानको थालनी गरिएको संघका अध्यक्ष मोहन निरौलाले बताउनुभयो ।
समारोहमा विसं. २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार विगत पाँच दशकदेखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता मुकुन्दकिशोर भट्टराईलाई, विसं. २०७९ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार, चार दशकदेखि अभिनय गर्दै आउनुभएका चरित्र अभिनेता लय संग्रौलालाई र विसं. २०८० सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार, यस्तै विगत चार दशकदेखि अभिनय गर्दै आउनुभएका अभिनेता पुरण जोशीलाई अर्पण गरिएको छ । नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँ रहेको छ । यसअघि यो पुरस्कारबाट नीर शाह, वसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढाथोकी, रविन्द्र खड्का, लक्ष्मी गिरी, शर्मिला मल्ल, हरिहर शर्मा, शकुन्तला शर्मालगायतका विशिष्ट कलाकारहरू पुरस्कृत भइसक्नुभएको छ ।
यसैगरी रमेश बुढाथोकी अध्यक्ष रहेको कार्यकाल विसं. २०६८ मा संघका संस्थापक संयोजक स्व. शान्ति मास्केको स्मृतिमा स्थापित स्व. शान्ति मास्के स्मृति पुरस्कार विगत चार दशकदेखि अभिनय गर्दै आउनुभएकी अभिनेत्री गौरी मल्ललाई अर्पण गरिएको छ । स्व. शान्ति मास्के स्मृति पुरस्कारको राशि ५६ हजार रहेको छ । यसअघि यो पुरस्कारबाट मदनदास श्रेष्ठ, आरपी पन्त, मिथिला शर्मा बोहरालगायतका विशिष्ट कलाकारहरू पुरस्कृत भइसक्नुभएको छ ।
केही वर्षअगाडि दिवंगत हुनुभएका कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहनुभएका कलाकार र लक्ष्मी शर्माले संघको रविन्द्र खड्का अध्यक्ष रहेको कार्यकालमा संघलाई प्रदान गर्नुभएको तीन लाख रुपैयाँको अक्षय कोषबाट प्राप्त ब्याजबाट यस वर्षदेखि दश हजारको स्व. गोपाल राउत स्मृति पुरस्कार अर्पण गरिने निर्णयअनुरूप विसं. २०८० सालको गोपाल राउत स्मृति पुरस्कार विगत चार दशकदेखि अभिनय गर्दै आउनुभएका कलाकार रामकाजी घिमिरेलाई अर्पण गरिएको छ ।
नेपाल चलचित्र कलाकार संघले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान डा. रूपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गरिएको छ । संघका अध्यक्ष मोहन निरौलाको अध्यक्षता एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गोपाल ढकाल ‘छन्दे’ले सञ्चालन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच