
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आउनुभएकामा सोहीअनुसार संघीय अस्पतालहरूले सेवा विस्तार तथा थप गर्दै आएका छन् । सोहीअनुरूप १४ वटा अस्पतालमा चैतभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले बताउनुभयो । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरूमा एक्सरे फिल्म हटाउनेदेखि आइभिआर सेवा थाल्ने, शैया विस्तारलगायत रहेका छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सर परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैतभित्र एमआरआई, सिटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिनेछन् ।
भरतपुर अस्पतालले क्याथ ल्याब चैतभित्र सञ्चालनको तयारी गरेको छ भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसिभी परीक्षण चैतभित्र थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैतभित्र क्षमता विस्तार गर्नेछ भने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसिएच भवन उद्घाटन गरेर ओपिडी चैत दोस्रो साताभित्र सुरु गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत तेस्रो साताभित्र आरम्भ गर्नेछ ।
त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र ४ शैय्याको पिआइसियु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ । तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रले चैत दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ भने डडेल्धुरा अस्पतालमा एकीकृत ल्याब नमुना संकलन सेवा चैत तेस्रो साताभित्र सुरु हुनेछ । नारायणी अस्पतालले एनआइसियुमा इएमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसियु शैय्या थपसँगै जलन वार्डमा छ शैय्या थप गर्ने तयारी गरेको छ । चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच