
काठमाडौं । संविधान संशोधनबारे धारणा तय गर्न आहृवान गरेको सत्तारूढ दल नेपाली कांग्रेसले बैठकले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेसले राजावादी शक्तिका पछिल्ला गतिविधि वर्तमान व्यवस्थाविरुद्ध जनतामा सृजना गर्ने उद्देश्य प्रेरित रहेको निष्कर्ष निकालेको छ । संसद्को सबैभन्दा ठूलो दलसमेत रहेको कांग्रेसले पूर्वराजा र राजावादीले भ्रम सिर्जना गर्न खोजेको भन्दै यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएको हो । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले फागुन २५ गते राजावादीले गरेको प्रदर्शनको समीक्षा गर्दै उनीहरूले गणतन्त्रको विरुद्धमा भ्रम सिर्जना गर्न खोजेको जनाएको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीको संयुक्त बैठकको निष्कर्षबारे जानकारी दिँदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, ‘फागुन २५ गते पूर्वराजा र राजावादीले प्रदर्शन गर्दै गणतन्त्रको विषयमा भ्रम सिर्जना गर्न खोजे । तर, पश्चिमबाट सूर्य उदाउँदैन भनेजस्तै अब नेपालमा राजसंस्था सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो । हामी संविधान, गणतन्त्र र यसको व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध छौँ । एक ढिक्का भएर राजावादीको अभियानको प्रतिवाद गर्ने निर्णय भएको छ ।’ बैठकमा राजावादीको प्रदर्शनबारे गृहमन्त्री रमेश लेखकले बिफ्रिङ गर्नुभएको थियो । बैठकमा समसामयिक राजनीतिक, नेविसंघको अधिवेशन, पार्टी अभियानबारे पनि छलफल भएको बताइएको छ ।
सर्वदलीय सरकार बनाउने चर्चा खारेज
नेपाली कांग्रेसले सर्वदलीय सरकार बनाउने विषयमा कुनै चर्चा नभएको प्रष्टीकरण दिएको छ । बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पार्टीभित्र सर्वदलीय सरकार बनाउने कुनै विषय नउठेको जिकिर गर्दै भन्नुभयो, ‘अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा छन् । त्यसैले सरकारमा आउँदा गणतन्त्र पक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति छैन । यो इस्युमा सबै एकै ठाउँमा छौँ ।’ उहाँले कांग्रेस र माओवादी मिलेर सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गर्नुभयो । बैठकले व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्ण रूपमा क्रियाशील हुने निष्कर्ष निकालेको डा. महतको भनाइ छ ।
कार्यसम्पादन समितिको बैठक आहृवान
नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी/पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो, ‘बैठकमा पार्टीका विभिन्न संगठनहरूको महाधिवेशनका विषयमा छलफल भयो । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागि कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक यही चैत १० गते बस्ने निर्णय भएको छ ।’ १० गते बस्ने कार्यसम्पादन समिति बैठकमा राजावादीको पछिल्लो सक्रियताबारे छलफल हुने महतको भनाइ छ ।
यस्तै, कांग्रेसले सांविधान संशोधनमा पार्टीको आधिकारिक धारणा बनाउने भएको छ । पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको जानकारी दिँदै सहमहामन्त्री महालक्ष्मी उपाध्यायले भन्नुभयो, ‘संविधान संशोधनमा पार्टीकै नेताहरूबाट फरक–फरक धारणा आइरहेका छन् । ती धारणालाई पार्टीको संस्थागत धारणा भनेर कतिले भनिरहेका पनि छन् । तसर्थ संविधान संशोधनमा पार्टीको आधिकारिक धारणा तय गर्न चैत १० गते कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय भएको छ । पार्टीले आधिकारिक धारणा बनाएपछि त्यही धारणालाई ल्याएर कांग्रेसले अन्य पार्टीहरूसँग संशोधनबारे छलफल गर्छ ।’
भिलेनका रूपमा गणतन्त्र स्थापनामा पूर्वराजा ज्ञानेन्द्रको भूमिका छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनका रूपमा सहयोग गरेको टिप्पणी गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरूले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्कालीन राजा शाहले भिलेनका रूपमा भूमिका खेलेको टिप्पणी गर्नुभएको हो । पूर्वराजाले मूर्खतापूर्ण हिसाबले पनि आफूहरूलाई सहयोग गरेको जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘गणतन्त्रका निम्ति आधार तयार हामीले पा¥यौँ । र, ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्धत गरेकै हो । उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष...। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे । भिलेनको रूपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ ।’ अहिले पनि फेरि राजतन्त्र पुनःस्थापनाको कलाविहीन नाटक प्रदर्शन गरिएको अध्यक्ष प्रचण्डको टिप्पणी छ ।
राजावादीहरूको सक्रियताको पछाडि अन्तर्राष्ट्रिय शक्तिको चलखेल : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गर्नुभएको छ । विप्लवले नेपालमा ठूलो दुर्घटनाको खतरा रहेको भए पनि अहिले जनता गणतन्त्रबाट फर्किहाल्ने मुडमा नदेखिएको जिकिर गर्दै भन्नुभयो, ‘०४६ सालपछि तीनै अनुहारहरू घुमाइरहेका छन् । तिनीहरूले नयाँ नीति पनि दिन नसक्ने, नयाँ नेतृत्व पनि दिन नसक्ने हुँदा असन्तुष्टि बढेको छ । अहिले चलिरहेको अस्थिर संसदीय प्रणालीबाट जनता निराश भएका छन्, दोस्रो अन्तर्राष्ट्रिय शक्तिहरूले हाम्रो भूराजनीतिमा चलखेल गर्दाखेरी राजतन्त्रको विषय प्रखर भएर आएको जस्तो देखेका छौँ । तर, त्यो सहज छैन । राजतन्त्र फर्किने राजनीतिक रूपमा औचित्य पुष्टि हुने आधार देखेका छैनन् । तर, अन्तर्राष्ट्रिय शक्तिहरूको आफ्नो स्वार्थ पूरा गर्ने चलखेल छ । त्यो गम्भीर छ । ठूलो दुर्घटनाको खतरा पनि देखेका छौँ ।’
राजावादीको सक्रियता बढेपछि रोकिएको माओवादीको अभियान पुनः सुरु
नेकपा माओवादी केन्द्रको पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित गरिएको थियो । मधेस प्रदेशको बारा र पर्सा बाँकी रहेको छ । अभियानमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू आज (बुधबार) बाराको सिमरा पुग्ने कार्यक्रम छ । मधेसको कार्यक्रम सकेर नेताहरू ९ गते चितवनको अभियानमा सहभागी हुनेछन् । अबको कार्यक्रम लगातार गर्नेभन्दा पनि बीचबीचमा ब्रेक गरेर सञ्चालन हुने नेताहरूको भनाइ छ । यसअघि पूर्वनिर्धारित कार्यक्रमअनुसार बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुने तय भएको थियो । यस्तै, नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रूपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुने तय भएको थियो । त्यस्तै, कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिने तय भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच