
काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि ‘निर्णायक संघर्ष’ गर्ने तयारीमा रहेका राजावादीहरूमा आन्दोलन सुरु नहुँदै मतभेद देखिएको छ । पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएपछि राजतन्त्र पक्षधरहरूबीच नै मतभिन्नता देखिएको हो । राजतन्त्र पक्षधरलाई गोलबद्ध गरेर संयुक्त आन्दोलन हाँक्न सुवेदीको नेतृत्वमा समिति बनाउँदा राजावादीहरूले नै असहमति जनाएका छन् । सुवेदीलाई आन्दोलनको नेतृत्व दिइएकामा लामो समयदेखि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दलहरू असन्तुष्ट बनेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्षले समितिमै बस्न अस्वीकार गरेका छन् । सुवेदी नेतृत्वको ११ सदस्यीय समितिमा सदस्य राखिएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्टि जनाएका हुन् । आफूूहरूसँग छलफल नै नगरी समिति बनाइएको भन्दै लिङ्देनले असन्तुष्टि जनाउनुभएको हो ।
दुर्गा प्रसाईंलाई अघि सारिएकोमा पनि उहाँको असन्तुष्टि छ । प्रसाईंले पनि लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालमाथि रूखो आलोचना गर्दै आउनुभएको छ । फागुन २५ को प्रदर्शनमा अग्रपंक्तिमा देखिनुभएका प्रसाईंले फागुन २७ मा पत्रकार सम्मेलन गरी लिङ्देन र थापालाई ‘माहोल बनेपछि ढोक्सा थाप्न आएको’ भन्दै आलोचना गर्नुभएको थियो । राप्रपाले नै राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई नेतृत्व गर्नुपर्छ भन्ने मत पार्टीभित्र बलियो छ । विगतदेखि अत्यन्त प्रतिकूल अवस्थामा समेत राजसंस्थाको पक्षमा निरन्तर वकालत गर्दै आएको र हाल संसद्मा समेत बलियो उपस्थिति रहेको पार्टीलाई राजाले ‘मिनिमाइज’ गर्न खोजेको राप्रपाको ठहर छ । राप्रपा र राप्रपा नेपाल लामो समयदेखि राजसंस्था पुनःस्थापनाको मुद्दा उठाउँदै आएका छन् । जनतामा स्थापित राजनीतिक दललाई किनारा लगाउन पूर्वपञ्चलाई आन्दोलनको नेतृत्व दिइएको दुवै दलको बुझाइ छ । पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष ८६ वर्षीय सुवेदी पटक-पटक मन्त्रीसमेत हुनुभएको थियो ।
उहाँहरू मात्रै होइन समितिमा राखिएका अरू केही सदस्यले पनि असहमति जनाएका छन् । समितिमा सदस्य राखिनुभएका पूर्वमन्त्री केशरबहादुर विष्टले पनि पदमा नबस्ने बताउनुभएको छ । आफूलाई नसोधी समितिमा राखिएको भन्दै उहाँले असहमति जनाउनुभएको हो । यस्तै, सल्लाहकार राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
समितिमा जनआन्दोलन निर्देशक समितिको सदस्यमा केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, कमल थापा, प्रकाशचन्द्र लोहनी, राजेन्द्र्र लिङ्देन, अस्मिता भण्डारी, रमा सिंह र हरिबहादुर बस्नेतलाई राखिएको थियो । रवीन्द्र मिश्र समितिको सदस्यसचिव बनाइएको छ । धवलशमशेर राणालाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको छ ।
आन्दोलनमा सहभागी हुन आहृवान
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनःस्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याउँदै आफैँ आन्दोलनमा जाने निर्णय गरेको हो । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले लिनुहुने भएको छ । चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेर सार्वजनिक गर्नेछ । ‘१२ गते बस्ने मूल आयोजक समितिको बैठकले आन्दोलनका कार्यक्रमहरू तय गरेर सार्वजनिक गरिनेछ’, श्रेष्ठले भन्नुभयो । राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरूलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आहृवान गरेको छ । नवराज सुवेदी नेतृत्वको समितिलाई राप्रपाले सहयोग गर्नेछ ।
सुवेदीको नेतृत्वमा समिति बनेकोमा राप्रपा नेपाल खुसी
राप्रपा नेपालले सनातन हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न समान विचारधारा भएका सबै राजनीतक दल र समूहबीच एकता र सहकार्य हुनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन संयुक्त जनआन्दोलनमा जानुपर्ने निष्कर्ष निकालेको हो । कुनै एक राजनीतिक दल वा समूहको प्रयासबाट मात्र यो लक्ष्य प्राप्त हुन नसक्ने राप्रपा नेपालको ठहर छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा फागुन ७ गते राष्ट्रको नाममा भएको सम्बोधनको भावनालाई आत्मसात गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी तथा भ्रष्टाचारको अन्त्यजस्ता मुख्य एजेण्डा बोकेर नवराज सुवेदीको संयोजकत्वमा संयुक्त जनआन्दोलन समिति गठन भएको प्रति राप्रपा नेपालले खुसी व्यक्त गरेको छ । जनआन्दोलनमा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने निर्णय बैठकले गरेको बर्तौलाले जानकारी दिनुभयो । सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपा नेपालका तर्फबाट उपाध्यक्ष तारानाथ लुइँटेलले प्रतिनिधित्व गर्ने बैठकपछि उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समितिले निकट भविष्यमा आयोजना गर्ने आन्दोलनका सबै कार्यक्रममा तन मन र धनले सहभागी हुन राप्रपा नेपालका सबै तहका निकाय र भ्रातृ संगठनहरूलाई पार्टीले आहृवान गरेको छ । ‘वर्तमान राज्य प्रणालीको विगत दुई दशकको राजनीतिक अभ्यास, देशको वर्तमान अवस्था र जनताको भावनालाई दृष्टिगत गरी विद्यमान राजनीतिक प्रणालीमा आमूल सुधार गर्नेबारे गम्भीर भएर सोच्न सबै राजनीतिक दल र सम्बद्ध सबैमा समेत राप्रपा नेपाल अनुरोध गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘राजासहितको प्रजातन्त्र’ निरंकुशता वा विगतको व्यवस्थातर्फको प्रतिगमन होइन नेपालको भूराजनीतिक अवस्था र धार्मिक, सांस्कृतिक, सामाजिक परिवेशमा अहिलेको भन्दा धेरै गुणा बढी उन्नत र अग्रगामी प्रजातन्त्र हो भन्ने राप्रपा नेपालको मान्यता रहेको छ ।’ राष्ट्रिय सहमति हुने हो भने वर्तमान संविधानकै परिधि भित्रबाटै सनातन हिन्दू अधिराज्यको मान्यतामा आधारित राज्य व्यवस्था कायम गर्न सकिने राप्रपाको ठहर छ ।
पार्टीका सबै गतिविधि अब आन्दोलन केन्द्रित गरेर जान्छौँ : लिङ्देन
अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले पूर्वनिर्धारित आन्दोलनलाई निरन्तरता दिने बताउनुभएको छ । अबको आन्दोलन काठमाडौं उपत्यकाकेन्द्रित हुने उहाँको भनाइ छ । ‘चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं,’ लिङ्देनले भन्नुभयो, ‘पार्टीका सबै गतिविधि अब आन्दोलनकेन्द्रित गरेर जान्छौँ । अबको आन्दोलन काठमाडौं उपत्यकाकेन्द्रित रहनेछ ।’ उहाँले आन्दोलनमा साथ दिन समान विचार राख्ने राजनीतिक दलहरू, समूह वा व्यक्तिहरूलाई पनि आहृवान गर्नुभयो ।
नवराज सुवेदी नेतृत्वको समितिमा आफूलाई जानकारीबिनै नाम राखिएकाले आपत्ति जनाएको र उक्त समितिमा नबस्ने बताएको उहाँको भनाइ थियो । तर, राजसंस्थाका पक्षमा हुने यस्ता गतिविधिले आफूहरूलाई खुसी नै बनाउने उहाँले बताउनुभयो । ‘भोलि कमल थापा, दुर्गा प्रसाईं लगायतले पनि समिति बनाउनुहोला, त्यहाँ नाम रहला, नरहला, छलफलमा बोलाइएला वा नबोलाइएला, त्यस्ता समितिलाई नपत्याएको भन्ने हुँदैन,’ उहाँले भन्नुभयो, ‘नवराज सुवेदी संयोजक रहेको समिति गठन गर्दा मलाई जानकारी दिइएन । निर्णय प्रक्रियामा हामी सहभागी पनि छैनौँ ।’ पार्टीको आन्दोलन परिचालन मूल समिति संयोजक आफू रहेको र अब निर्णायक बाटोतर्फ लैजाने गरी आन्दोलन गरिने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच