
भैरहवा । नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेस प्रदेशले बुधबार भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । पुलिसले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी र मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै जित निकालेका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकीलाई सात विकेटले हराएको थियो । ९३ रनको झिनो लक्ष्य पुलिसले १६ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको थियो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ र अर्जुन साउदले १८ रन जोड्नुभएको थियो । बलिङमा गण्डकीका विपिन खत्री र सुवास भण्डारीले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमा ९२ रन बनाउँदा अलआउट भएको थियो । गण्डकीका अर्जुन कुमालले ४८ तथा रोहित चन्द र सुवास भण्डारीले समान १०-१० रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका ललित राजवंशीले पाँच विकेट झार्नुभएको थियो । उहाँले ५.२ ओभरमा सान रन खर्चिनुभयो । यस्तै, गुलशन झाले चार विकेट लिनुभयो ।
बुधबार नै रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हरायो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।
सुदूरपश्चिमको जितमा किरणकुमार ठगुन्नाले नटआउट रहँदै सर्वाधिक ४३ रन बनाउनुभयो भने नारायण जोशीले अविजित २५ र प्रकाश पाण्डेले २२ रन जोड्नुभएको थियो । लुम्बिनीका रमेश कुर्मीले दुई तथा विप्रशन केसी, अजय चौहान र निर्मल गुरुङले समान एक–एक विकेट लिनुभएको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ र प्रज्ज्वल थापाले ३० रन जोड्नुभयो भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हेमन्त धामीले चार तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले समान दुई–दुई विकेट लिनुभएको थियो ।
यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा बुधबार भएको खेलमा मधेसले त्रिभुवन आर्मी क्लबमाथि तीन विकेटको जित हात पा¥यो । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेसले ४८ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो ।
मधेसको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन बनाउनुभयो भने रूपेश सिंहले नटआउट ३८, हरिशंकर साह र पवन सर्राफ समान ३७–३७ तथा शैलेन्द्र साहले १५ रन जोड्नुभएको थियो । आर्मीका नरेन साउदले तीन तथा सोमपाल कामी र बसिर अहमदले समान दुई-दुई विकेट लिनुभएको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन बनाउनुभएको थियो भने सन्तोष कार्की ३३, कुशल मल्ल २४, विवेक यादव १६, तृतराज दास १४, कप्तान विनोद भण्डारी ११ र बसिर अहमदले १० रन बनाउनुभएको थियो । मधेसका लागि पवन सर्राफ, कमल गुप्ता र रूपेश सिंहले समान दुई-दुई तथा रञ्जित कुमारले एक विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच