
काठमाडौं । नेपाली समयअनुसार बुधबार बिहान ४ बजेर ४२ मिनेटमा अमेरिकामा भइरहेको एउटा रोचक दृश्य दुनियाँले नियालिरहेको थियो । करिब १७ घण्टा लामो यात्रा तय गरेर अन्तरिक्षबाट आएको ड्र्यागन क्याप्सुल छुट्टिएर समुद्रमा अवतरण गर्दा खुसीले संसार हाँसेको थियो । उक्त यानमा हुनुहुन्थ्यो अमेरिकी अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विलमोर । उहाँहरूसँगै क्रु-९ का दुई थप अन्तरिक्ष यात्री निक हेग र अलेक्ज्याण्डर गोर्बुनोभ पनि पृथ्वीमा अवतरण गर्नुभएको हो । उहाँहरूको अन्तरिक्ष यान फ्लोरिडाको तटबाट अवतरण भएको हो ।
यी चार अन्तरिक्ष यात्रीहरू मंगलबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट प्रस्थान गरेका थिए । यसमध्ये सुनी र बुच नौ महिना १४ दिनपछि पृथ्वीमा फर्किनुभएको हो । नियमित चिकित्सा जाँचको लागि स्ट्रेचरमा लगिँदै गरेका बेला उहाँहरू हात हल्लाउँदै मुस्कुराउनुभएको थियो । विल्मोर र सुनीले अन्तरिक्षमा प्रक्षेपण गर्दा अपेक्षा गरिएभन्दा २७८ दिन बढी अर्थात् २८६ दिन बिताउनुभयो । उहाँहरूले पृथ्वीलाई चार हजार ५७६ पटक परिक्रमा गरेको एपीले जनाएको छ । एपीको समाचारअनुसार सुनी र बुच नासाको आठदिने संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’मा जानुभएको थियो । मिसनको उद्देश्य बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेसन र पछाडि लैजानसक्ने क्षमताको परीक्षण गर्नु थियो ।
अन्तरिक्ष यात्रीहरूले पनि आठ दिनमा अन्तरिक्ष स्टेसनमा अनुसन्धान र धेरै प्रयोगहरू गर्नुपरेको थियो । तर, एक थ्रस्टर खराबीपछि उहाँहरूको मिसन नौ महिनासम्म अड्किएको थियो । अन्तरिक्ष यात्रुहरू सुनिता विलियम्स र बच विलमोर गत जुन ५ मा पृथ्वीबाट अन्तरिक्ष पुग्नुभएको थियो । उहाँहरूको प्रारम्भिक यात्रा समय एक हप्ताको थियो । तर, यात्रा बढेर नौ महिना पुग्यो ।
एक हप्ताका लागि जानुभएका उहाँहरू नौ महिना बस्नुपर्ने बाध्यताको कारण प्राविधिक नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार अमेरिका, रुस, जापान, क्यानडा र युरोपेली संघहरूले सञ्चालन गरेको साझा अन्तरिक्ष स्टेसनमा पुग्नुभएका उहाँहरू बोइङको प्राविधिक समस्याको कारणले त्यहीँ बस्नुपर्ने बाध्यतामा पुग्नुभएको हो ।
पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्रीहरूले धेरै फरक अनुभव गर्नुपर्ने हुन्छ । अन्तरिक्षको गुरुत्व नभएको क्षेत्रबाट गुरुत्व भएको पृथ्वीमा आउने फरकपनाले नै हुनुपर्छ उनीहरू कुनै जहाजका यात्रुजस्तो ओर्लेर ठमठम हिँड्न सक्दैनन् । उनीहरूलाई हिृवल चेयरजस्तो गुड्किने ‘रोलिङ चेयर’ मा राखेर हिँडाइन्छ ।
अनौठो बसाइ र चुनौतीपूर्ण फिर्ती
लामो समयसम्म अन्तरिक्षमा बस्नु चुनौतीपूर्ण थियो । महिनौँसम्म शून्य गुरुत्वाकर्षणमा बस्नु, सीमित स्रोतसाधनसँग काम गर्नु र पृथ्वीबाट सयौँ किलोमिटर टाढा दैनिक आवश्यकताहरू पूरा गर्नु ठूलो चुनौती हो । पृथ्वीमा रहेको नियन्त्रण स्टेसनद्वारा प्रत्येक पाँच मिनेटमा अन्तरिक्ष यात्रीहरूको दिन निर्धारण गरिन्थ्यो । उनीहरू बिहानै उठ्थे । आफ्नो फोन-बुथ आकारको सुत्ने कोठाबाट बाहिर निस्कन्थे । पूर्वअन्तरिक्ष यात्री निकोल स्टटका अनुसार यो संसारकै उत्कृष्ट स्लिपिङ ब्यागहरू हुन् । यी डिब्बाहरूमा ल्यापटपहरू हुन्छन् ताकि चालक दलका सदस्यहरूले आफ्ना परिवारलाई सम्पर्क गर्न सकून् । एउटा सानो कुना तस्वीर र किताबहरू राख्नको लागि हुन्छ ।
बाथरुम एउटा सानो बाकसजस्तो डिब्बा हुन्छ । जसमा सक्सन प्रणाली (मेसिन) हुन्छ । सामान्यतया पसिना र पिसाबलाई पुनः प्रयोग गरिन्छ र पिउने पानी बनाइन्छ । अन्तरिक्ष स्टेसनमा कुनै प्राविधिक समस्या भए पनि पिसाब संकलन जारी रहन्छ । यसपछि अन्तरिक्ष यात्रीहरूले आफ्नो काम सुरु गर्छन् । अन्तरिक्ष स्टेसनमा धेरैजसो समय मर्मतसम्भार र वैज्ञानिक प्रयोगसम्बन्धी काममा बित्छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रयोगका लागि ६ वटा प्रयोगशालाहरू छन् । अन्तरिक्ष यात्रीहरूले शरीरमा चुनौतीपूर्ण वातावरणको प्रभाव मापन गर्न मुटु, मस्तिष्क र रक्त मनिटर लगाउँछन् ।
अन्तरिक्षमा मौसम हुँदैन । पानीका थोपाहरू अनुहारमा झर्दैनन् र कपाल हावामा उड्दैनन् । अन्तरिक्ष यात्रीहरूले कामको बीचमा हरेक दिन दुई घण्टा व्यायाम गर्छन् । शून्य गुरुत्वाकर्षणमा हड्डीकोे घनत्व घट्न थाल्छ । शून्य गुरुत्वाकर्षणमा हुँदा शरीरमा पर्ने प्रभावलाई कम गर्न मद्धत गर्ने तीन फरक प्रकारका मेसिनहरू हुन्छन् । ट्रेडमिलमा दौडँदा आफूलाई केही पट्टाहरूले बाँध्नुपर्छ, ताकि शून्य गुरुत्वाकर्षणमा हावामा तैरिनबाट आफूलाई रोक्न सकिन्छ ।
सबै काम गर्दा धेरै पसिना आउँछ । जसका कारण अर्को समस्या आउँछ, त्यो हो लुगा सफा गर्ने । त्यहाँ लुगा धुने ठाउँ हुँदैन । गुरुत्वाकर्षणबिना शरीरबाट पसिना निकाल्न सजिलो हुँदैन । फोहोर लुगाहरूलाई कार्गो गाडीमा राखिन्छ, जुन मिसन समाप्त भएपछि पृथ्वीको वायुमण्डलको सम्पर्कमा आगो लाग्छ । यद्यपि, हरेक दिन लगाउने लुगा सफा नै रहन्छ । यसबाहेक, अन्तरिक्ष यात्रीहरूलाई खाना खान सजिलो छैन । स्टटका अनुसार यदि कसैले मासु वा ग्रेभीको क्यान खोल्यो भने सबैजना सतर्क हुन्छन् किनभने यो खाना बाहिर निस्केर आफैँमाथि पनि पर्न सक्छ । (एजेन्सीहरूको सहयोगमा)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच