
सिर्जना तलबी होइन तर जागिर हो जसमा नियमित रूपले गइरहनु पर्छ । सिर्जना विनाशक होइन तर अफिम पक्कै हो जसले जति बेला पनि लठ्याइरहेको हुन्छ । सिर्जना दम होइन तर चुरोटको सर्को हो जसको लत बसेपछि अन्य सबै विस्मृतिका गर्भमा हराउँछन् । सिर्जना दालभात हो जसलाई भोक लाग्छ भनेर नलाग्दैदेखि बनाउन थालिन्छ, थाल्नै पर्दछ । मान्छे सिर्जनालाई समयावकाशको सुर सम्झन्छन् यो बकबास हो । यसलाई निरन्तर स्मृतिपटलबाट झिकिरहेन भने चैतको जल सुकेझैँ सुक्छ यो फेरि खोजेर कहिल्यै नपाइने गरी ।
सिर्जनशीलता आलिसान भवन होइन जो विस्तारै पैसा कमाएपछि बनाउँला भन्दा बनोस् । यो छोराछोरी पनि होइन जो चाहेर ठीक चाहेकै बेलामा पाउन वा जन्माउन सकियोस् । यो मनको उर्वर माटो भएको त्यो खेत हो जसलाई नचलाई, नछोई, गोडमेल नगरी, निरन्तर बाली नलगाई राखियो भने निर्जन बन्छ । चाहेका समयमा खोज्दा हात लाग्यो शून्य नै हुन्छ । यस्तै सिर्जना संसारकी अब्बल स्रष्टा कल्पना काफ्लेका सन्दर्भमा म यो प्रसङ्ग कोट्याउँदै छु आज ।
कल्पना काफ्लेका यी दुवै कृति अर्काको या मेरो नामबाट छापेर लोकार्पण गरेको भए सायद भिड पनि शून्य, दर्शक पनि खाली कुर्सी, ताली त यसै पनि निस्तब्ध सन्नाटा हुन्थे होला सायद । अब मूल्यांकन कसको ? कल्पना काफ्लेको मुस्कान, हाउभाउ, बोली, पहुँच सम्भवतः यो चाहिँ निकै माथिल्लो हो ।
कल्पना काफ्ले अर्थात धनकुटेली चेली अहिलेका कम भाइरल स्रष्टा मध्येकी एक हुन् । कतिपयः भाइरल नेपाली स्रष्टाहरू या त जाँडका उन्मादले भट्टीपसलको बासमा पुगेका छन् या त सम्पत्तिको उन्मादले भोजनको रवाफमा । यिनी कहाँ पुग्छिन् समय प्रतीक्षामा छ । थुप्रै सम्मान र पुरस्कारले सम्मानित÷पुरष्कृत कल्पना काफ्लेका अहिलेसम्म उनी धेरै ठान्छिन् म कम ठान्छु जम्मा दुईवटा कृति मात्र प्रकाशित छन्-‘भावसरोवर’, पद्य कविता संग्रह र ‘अशान्त धड्कन’ मुक्तक संग्रह ।
‘भाव सरोवर’ पद्य कविताको निकै राम्रो सङ्ग्रह हो तर यसले कसैलाई छुँदैन र नाम पनि कल्पना अनि म लेख्नेलाई बाहेक सायद उनकै पति कृष्णलाई पनि थाहा नहोला । लोकार्पणको दिन चाहिँ डिल्लीरमण पुस्तकालयको सभाकक्षमा मान्छे नअटाएर बाहिर उभिनुपरेको थियो । भर्खर लोकार्पित कृति ‘अशान्त धड्कन’ प्रज्ञाको लेखनाथ कक्षमा त झन मान्छे खचाखच मात्र होइन करिडोरमा उभिनुपरेको थियो । भाव सरोवर कवित्व चेतनाको प्रवाह हो । सङ्लो सरोवर हो ।
विविध छन्दमालामा उनिएर साङ्गीतिक तरङ्को धुन लहराउने कहाँ भाव सरोवर, मुक्त शैलीमा दृश्य जगत्का सामन्य विषयलाई व्यङ्ग्य बनाएर काम पनि बेकाम पनि अर्कालाई धज्जी उडाउने चार पङ्क्तिको बाहृयकारमा संरचित कहाँ यो धमिलो पानीको सानो कुवा मुक्तकसङ्ग्रह । मान्छेको असवाफ भिड देखेर त देवी नेपालले प्वाक्क भनिदिए- मानव सागर । प्रश्न उठ्छ यो साहित्यिक बुझाइको जनरुचि हो वा व्यक्ति आकर्षणको जनरुचि । यसको प्रभावमा परेर सर्जक आफू नखुम्चियोस्, नबिग्रियोस्को सन्दर्भ उक्काउनु र यसमा खुला बहस गर्ने बेला नेपाली साहित्यमा देखापरिसकेको छ अहिले ।
छुट छ सबैलाई मानवीय समाजको घेरामा रहेर लेख्ने, बोल्ने र आफूलाई अघि बढाउने तर क्षमताशील मानिस तालीको भरमा, भिड उपस्थितिको भरमा मक्ख नपरेर प्रचण्ड गृष्मर्तुको गर्मीमा कञ्चन साहित्यिक सरोवरमा पौडिएर विनाताली, विनाजनसागर एक्लै आनन्दको उत्ताल तरंगमा तैरिने कि साना धमिला कुवामा छट्पटाउने ।
यहाँनेर विश्वसन्दर्भ तान्नु आवश्यक ठान्छु म । प्रसिद्घ चित्रकार अझ बढी गृह रङ्रोगनकार लियोनार्दो दा भिञ्ची जो भविष्यवक्ता पनि हुन् जसले तीन सय चौरासी वर्ष पहिला नै पेट्रोलियम पदार्थको आविष्कार हुन्छ र मानिस पनि चरो झैँ आकाशमा उड्न सक्छ भन्ने उद्घोष गरे । आलोचित भए । सामान्य मानिसलाई त्यो हुनै नसक्ने लाग्नु स्वभाविक पनि हो । ठीक तीन सय चौरासी वर्षपछि अमेरिकाको ओहायो राज्यमा विलियम र विल्भर दाजुभाइले यो काम गरे । यी दुईले पनि यो अनौठो कार्य हेर्न हजारौँलाई निम्ता गरेका दिन बल्लतल्ल पाँच जना मान्छेको उपस्थितिले नयाँ कार्यप्रति आमजनचासोलाई स्पष्ट पार्दछ । अझ कतिले त दुवैलाई पागलखानामा राख्नु पर्छसम्म भने । उच्च र असल कार्यप्रति जनउत्सुकता शून्यप्रायः हुन्छ भन्ने उदाहरण हुन् यी ।
साहित्य मूल्याङ्कनका आधार दृश्य, दर्शक र ताली होइनन् । यो अन्तर गहनता हो । न दृश्यले दिन सक्छ, न दशर्कको दृष्टि पुग्न सक्छ, न तालीको आवाज आउन सक्छ । भिड भन्नु, दर्शक भन्नु, ताली भन्नु व्यक्ति प्रभाव र भाइरलको अवस्थामा भर पर्छ । कल्पना काफ्लेका यी दुवै कृति अर्काको या मेरो नामबाट छापेर लोकार्पण गरेको भए सायद भिड पनि शून्य, दर्शक पनि खाली कुर्सी, ताली त यसै पनि निस्तब्ध सन्नाटा हुन्थे होला सायद । अब मूल्याङ्कन कसको ? कल्पना काफ्लेको मुस्कान, हाउभाउ, बोली, पहुँच सम्भवतः यो चाहिँ निकै माथिल्लो हो । यसका भरमा स्रष्टा मख्ख प¥यो भने त्यो उचाइमा उक्लने व्यक्तित्व निश्चय नै तल खस्छ । बुझेका मान्छेहरू मौन रहनु अर्काको व्यक्तित्वलाई खस्काउनु हो, समाप्त पार्नु हो ।
अधिकांश स्रष्टाको मनस्थिति साक्षरभन्दा माथि छैन । गहिरो अध्ययन छैन, मनन छैन । उनीहरूले जे देखेका छन्, भोगेका छन्, जे अनुभव गरेका छन् तिनै हल्का कुरा आवाजमा मिलाएर ट्वाक्क भनिदियो भने उनीहरूका मनस्थितिमा काउकुती लाग्छ । नसामा त्यस्ता कुरा र तिनका अर्थ झ्वाट्ट सञ्चरित हुन्छन् । ऊ बर्र ताली पिटेर वा वा भन्न पुग्छ । कल्पना काफ्लेको अशान्त धड्कन यसको मात्र शीर्षस्थ धड्कन हो । हो, माथि जान नसक्ने, कवित्व चेतनाको फराक फाँट विस्तरित हुन नसकेका, लेख्न नजानेका तर मुक्तक, गजल, कोपिला, हाइकु, सुसेली, बाछिटा, झर, पञ्चाङ्ग, उदक, ताङ्कामा चाहिँ कलम चलिसकेका स्रष्टाका लागि यी पनि स्वर्गीय आनन्दका स्थल हुन् ।
कल्पना काफ्ले जस्ता लामो समय साहित्य लेखन अभ्यासमा समय व्यतित गरिसकेकी स्रष्टाले एउटा मुक्तक संग्रह हल्लाएर देश विदेश घुम्नु, त्यसमा रमाउनु भनेको घर पोलेर खरानीको न्यानोमा रमाउनु हो । लामो लेख्ने समय छैन भन्नु व्यक्तित्व पलायनको संघारमा उभिनु हो । पछि लेख्छु भन्नु बहाना हो ।
यी उपविधा पनि साहित्यका सन्तान हुन् यसमा विवाद गरेर समय खर्च गर्नु भनेको या त सुरा उन्माद हो या त मूर्खताको पराकाष्ठा । यस्ता उपविधाका स्रष्टालाई केही नहुनुमा केही छन् भनेर तिनीहरू मध्ये नै खारिएकालाई सम्मानित, पुरस्कृत र ऐतिहासिक स्थान सुरक्षित गर्नुपर्छ । यो भिड गजल, मुक्तक, चारु, सुसेलीमा अत्यधिक मात्रामा अहिले नेपाली साहित्यमा बढेको छ, ठीकै छ । माथि जान नसक्नेका लागि यसमा रमाउनु पनि केही नहुनेका सामु सम्पूर्ण छ ।
कल्पना काफ्ले जस्ता लामो समय साहित्य लेखन अभ्यासमा समय व्यतित गरिसकेकी स्रष्टाले एउटा मुक्तक सङ्ग्रह हल्लाएर देश विदेश घुम्नु, त्यसमा रमाउनु भनेको घर पोलेर खरानीको न्यानोमा रमाउनु हो । लामो लेख्ने समय छैन भन्नु व्यक्तित्व पलायनको सङ्घारमा उभिनु हो । पछि लेख्छु भन्नु बहाना हो । भौतिक मोहको सिरक ओढेर साना उपलब्धिमा समय खर्चनु समयको बर्बाद मात्र हो । वावा साहित्य मूल्याङ्कनको कसी होइन । जनसागर मूल्यबोधको मापन हुँदै होइन । अहिलेको नेपाली साहित्य सन्दर्भमा भन्ने हो भने त जनसागर र ताली अवमूल्यनको द्योतक हो भन्दा पनि फरक पर्दैन । यो नेपाली साहित्यमा मात्र नभएर विश्वकै कला साहित्यमा स्थापित भएको रोग हो ।
विश्वप्रसिद्घ तिनै लियोनार्दो दा भिञ्चीका दुई कलाकृति-मोनालिसा र अन्तिम रात्रिभोज छन् । मोनालिसा बच्चादेखि वृद्घसम्मका ओठमा झुण्डिएको हुन्छ । आँखाका नानीमा नाचेको हुन्छ । यसको नाम नसुन्ने र फोटो नै भए पनि घरमा नटाँग्ने विश्वमा कमै मान्छे होलान् तर अन्तर वा वस्तु मूल्यांकनका दृष्टिले एक धनले उन्मत्त भएकी व्यापारीकी स्वास्नीको कुरूप चेहरा मात्र हो ।
मानवमूल्यका दृष्टिले, जीवन जगत्को गम्भीर अर्थबोधका दृष्टिले अन्तिम रात्रिभोज त्यो अमर कलाकृति हो जसको अमरत्व कहिल्यै समाप्त हुँदैन । यसको नाम नसुन्ने विश्वका सबै छन् । सुन्ने चाहिँ औँलामा गन्नुपर्ने हुन्छ । अहिलेको नेपाली साहित्यको गति लगभग त्यसतिर नै उन्मुख हुँदै गएको देख्न सकिन्छ । आर्थिक हिसाबले बिकाउ होलान् । मञ्चबाट उपस्थित दर्शकलाई ताली पिटाउने हिसाबले आकर्षक होलान् । यिनै कुरालाई तथ्य मानेर क्षमताशील स्रष्टा यिनमै केन्द्रित भई माथिल्लो यात्राबाट बिमुख हुनु आत्महत्या गरे बराबर हो ।
कल्पना काफ्लेको भाव सरोवर कसैलाई थाहा नै नहुनु र अशान्त धड्कन बिक्रीको शिखरमा पुग्नु, चर्चाको व्यापकतामा रहनु पनि अन्तिम रात्रिभोज र मोनालिसा जस्तै हो । जसमा देखे, सुने, भोगेको भन्दा पर केही छैन ऊ हाई हाई । जसमा कलात्मक साहित्यिक सौन्दर्यको रहस्यात्मकको झिल्को झिल्किन्छ ऊ केही होइन । कल्पना काफ्लेले यस लेखका तालीमा नभई गालीमा बढी ध्यान दिने कि ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच