
दाइँ गर्दा बीचमा राखिएको लामो लिंगोलाई मियो भनिन्छ । मियो दरो र बलियो हुनुपर्दछ । मियो दरो भएन भने दाइँ गतिलो हुँदैन । मियोमा बाँधिने पहिलो गोरु गतिलो र बलवान् हुनु अनिवार्य मानिन्छ । मियो बलियो भएन भने दाँइ नै नहुने हुनाले मियोलाई सकेसम्म बलियो बनाएर गाडिएको हुन्छ । यही अवस्था परिवारमा पनि हुने गर्दछ । परिवारको मियो वा मुली गतिलो भएन भने परिवारमा पनि भाँडभैलो मच्चिन सक्छ । पारिवारिक रूपमा मुली मानिसले गतिलो तरिकाले परिवारलाई सही मार्गमा डोराएको हुन्छ । यही अवस्थामा बाँचेको हुन्छ परिवार र पारिवारिक जीवनको संरचना पनि ।
यही २०८१ सालको प्रजातन्त्र दिवसका अवसरमा ज्ञानेन्द्रले देशका नाममा आफ्नो वक्तव्य दिए । सोही वक्तव्यलाई लिएर राजावादीहरू हौसिए । यही फाल्गुण २५ गते ज्ञानेन्द्र पोखराबाट काठमाडौं आए । आउँदा उनलाई स्वागत गर्न र उनको निजी निवास निर्मल निवास पु¥याउन हवाई अड्डादेखि निर्मल निवाससम्म मानिसको ताँती लाग्यो । सरकारले सोचेको र कल्पना गरेको अवस्थाभन्दा भिन्न प्रकारको मानिसको भिड त्यहाँ देखियो । त्यो भिड आयातित थिएन । उक्त भिड संयमित भएर अघि बढेको थियो । सुरक्षाकर्मीको पनि संयमता उक्त भिडमा देखियो । उनीहरूले लगाएको नारा र बोकेको राष्ट्रिय झण्डामा नेपाल चम्केको थियो । संयमता सुरक्षाकर्मी र सडकमा उत्रिएका नेपालीमा देखिएको थियो ।
सामान्य रूपमा आएको परिवर्तन थिएन यो । यो परिवर्तनका लागि पुग-नपुग अठार हजार नेपालीको रगत बगेको छ । त्यो रगतको टाटो नसुक्दै यो व्यवस्थाप्रतिको वितृष्णा नेपालीमा जाग्नुलाई नेपालका शासकले गम्भीर रूपमा लिन सकेनन् भने व्यवस्था नै जानसक्ने खतरालाई नेपालका शासक र गणतन्त्रवादीले बुझ्नुपर्ने अवस्था देखिएको छ ।
उनीहरूको संयमताले नेपालीलाई मात्र होइन विदेशी सञ्चारलाई पनि चकित पारेको देखियो । उक्त भिडलाई देखेर राजावादीहरू हौसिनुलाई अचम्म मान्नुपर्ने अवस्था रहेन । उक्त भिडलाई देखेर अत्तालिए गणतन्त्रवादीहरू । एकाएक वक्तव्य जारी गरे । किन अत्तालिए गणतन्त्रवादी यही हो आजको सोच र नेपाली जनताले सोचेको विषय पनि । राजावादीमा भने फुटको अवस्था देखिन थाल्यो । एक–अर्काका बीचमा उनीहरूभित्र क्लेश देखिन थाल्यो । यो उनीहरूभित्र पलाएको विषमताले राजावादीहरू नै एक ठाउँमा छैनन् भन्ने तथ्यलाई प्रमाणित गरिदिएको छ ।
गणतन्त्र कमजोर भएको हो र ?
२०६२/०६३ को आन्दोलनले तत्कालीन सक्रिय राजतन्त्रलाई समाप्त पारेर गणतन्त्रको स्थापना गरेको हो । गणतन्त्रको स्थापनापछि तत्कालीन राजा मानिएका ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर २०६५ साल जेठ २९ गते दरबार छोडे । नेपालीको चाहना यही भएकाले मैले दरबार छोडेको हुँ । गणतन्त्रले नेपालको विकास र नेपालीको उन्नति गरोस् भन्ने चाहना उनले राखे । दरबार छोडेको लगभग १५ वर्षपछि उनले प्रजातन्त्र दिवसका अवसरमा मलाई साथ दिनुहोस् भन्ने मान्यतासहितको अभिव्यक्ति राखे ।
उनले पश्चिम नेपालका केही मन्दिरको दर्शन गर्ने नाममा नेपालीको समर्थन चाहेका हुन् भन्ने सन्दर्भलाई अस्वीकार गर्न सकिँदैन । उनको भ्रमण पूर्णधार्मिक थिएन । बाहिरी आवरण धार्मिक भए पनि आन्तरिक भने राजनीतिक नै रहेको देखिएको थियो । राजनीतिक रूपमा उनी कमजोर नै थिए तर फागुन २५ गतेका दिन उनको स्वागतका लागि देखिएको भिडले उनी हौसिएका छन् । उनको अभीष्ट प्रत्यक्ष शासन हो वा संवैधानिक हो बुझ्न भने नेपालीलाई गारो परेको देखियो ।
गणतन्त्र संसारको विकल्प नभएको शासन व्यवस्था हो । जनताका प्रतिनिधिबाट गरिने शासन भएकाले यसलाई शासन व्यवस्थाको उत्तम रूप मानिएको छ । शासकीय पद्धतिमा जनप्रतिनिधिहरू नै यसका सर्वेसर्वा मानिएका हुन्छन् । जनताको जनजीविकाका सवालमा गणतन्त्रवादीहरू सफल छन् भन्ने दृष्टिकोण आजको संसारमा देखापरेको शासकीय पद्धतिले देखाएको पनि छ । तर, नेपालमा आएको गणतन्त्रका विरुद्ध यति ठूलो जत्था कसरी आयो । गणतन्त्रका विरुद्धमा नारा किन घन्किए ? यसको जवाफ नेपाली जनतासित छैन । यसको जबाफ गणतन्त्रलाई आफ्नो घरको सम्पत्ति मानेर रजाइँ गर्ने नेताहरूसित मात्र छ ।
नेपालीले जवाफ आज होइन हिजो मागेका छन् । गणतन्त्र नेपालीका लागि हो वा नेताको चाकरीमा लम्पसार परेर आफ्नालाई मात्र खानका लागि बाटो खोल्ने नेताका आफन्तको हो । यसको जवाफ नेपालीले खोजेका छन् । गणतन्त्र व्यवस्थाका दृष्टिले र शासन प्रणालीका दृष्टिले कमजोर होइन । गणतन्त्र त शासनका दृष्टिमा पनि उत्तम व्यवस्था हो । नेपालका हकमा यो व्यवस्था किन कमजोर भयो यसको उत्तर नेपाली जनताले खोजेका छन् ।
शासक बलवान् भयो । उसले आफूलाई सबैभन्दा उच्च स्थानमा राख्यो । नेपाली जनतामा देखिएको निराशालाई चिर्न सक्ने अवस्थामा आजका गणतन्त्रवादी देखिएनन् । सामान्य रूपमा आएको परिवर्तन थिएन यो । यो परिवर्तनका लागि पुग–नपुग अठार हजार नेपालीको रगत बगेको छ । त्यो रगतको टाटो नसुक्दै यो व्यवस्थाप्रतिको वितृष्णा नेपालीमा जाग्नुलाई नेपालका शासकले गम्भीर रूपमा लिन सकेनन् भने व्यवस्था नै जानसक्ने खतरालाई नेपालका शासक र गणतन्त्रवादीले बुझ्नुपर्ने अवस्था देखिएको छ । नेपालको राजनीतिमा नेपालीलाई नेताले आधार बनाउन सकेनन् । उनीहरूको राजनीतिले नेपालको भूगोल र नेपालको धार्मिक अवस्थालाई आत्मसाथ गर्न सकेन ।
अनाहकमा हावाका रूपमा नेपाललाई धर्मनिरपेक्ष मुलुक घोषणा गरियो । मुस्लिम मुलुक र इसाईका मुलुकमा अन्य धर्मको अवस्था के छ ? त्यो बुझ्न यिनीहरू लागेनन् । देशलाई धर्मनिरपेक्ष बनायौँ भने सबै समाधान हुन्छ भन्ने यिनीहरूको विश्वास थियो तर त्यसो हुन सकेन । संसारमा एउटा मात्र हिन्दू राज्य रहेको नेपाललाई सनकका भरमा धर्मनिरपेक्ष बनाइयो । यो नै यी गणतन्त्रवादीको सबैभन्दा ठूलो कमजोर कडी बनेर देखियो ।
राजाको स्वागतका लागि आएको भिड अनायास थिएन । त्यो भिडमा गणतन्त्रको विरोधभन्दा पनि गणतन्त्रले सामान्य नेपालीलाई दिएको घाउ थियो । गणतन्त्रवादीले बुझेर यो समस्याको समाधान छिटो गर्नु आवश्यक देखियो । आउँदो निर्वाचनमा धर्म र प्रदेशलाई जनमतसंग्रहमा लाने हो भने समस्याको समाधान सजिलो तरिकाले हुनसक्ने सम्भावना देखिन्छ ।
राजनीति देशको विकास जनताको उन्नतिका लागि गर्ने हो । मान्दै आएको परम्परा र धर्मलाई राजनीतिको अभीष्ट बनाउने होइन । यही बनाए नेपालका नेताले । धर्मलाई राजनीतिको साधन बनाएर केही समय तातो लागे पनि अब यिनीहरूको राजनीति यही धर्मले सिध्याउने अवस्थामा पुगेको देखिन थालेको पाइन्छ । नेपाली आपसमा मिलेर बसेका छन् । धार्मिक द्वन्द्व आजसम्म यो देशमा भएको पनि छैन हुन पनि दिनुहुँदैन तर गणतन्त्रले पहिलो आक्रमण नै धर्ममा गरेको अनुभव सामान्य नेपालीले गरेका छन् ।
राजनीतिको मियो नै कमजोर देखिन थाल्यो । मानिसले गफ र भाषणका माध्यमबाट केही समय शासन गर्नसक्छ । सधैँ भाषणले शासन गर्न सकिँदैन । काम, माम र विकास जनताले खोजेको हुन्छ । यो सत्य हो । यही सत्यमा अडिएको हुन्छ शासकीय पद्धति पनि । यो पद्धतिलाई अस्वीकार गर्ने हो भने शासकीय व्यवस्था नै कमजोर हुने तथ्यलाई नकार्न सकिँदैन ।
देशको युवाबाहिर छ । उसले पठाएको रकमबाट देशको अर्थतन्त्र धानिने अवस्थामा छ । नेपालको विकासभन्दा पनि नेताका आसेपासे मोटाएर किर्ना जस्ता बनेका छन् । सामान्य नेपालीको जीवन कहालीलाग्दो बनिसक्यो । राम्रो काम गर्ने व्यक्तिलाई जसरी पनि पाखा लाउने रणनीतिमा सरकार देखिन थालेको छ । परिश्रम, मेहनत र इमान्दारिताको मूल्य छैन । आफू र आफ्नालाई बाहेक नेपालका गणतन्त्रवादीले केही गर्न सकेनन् भन्ने भावना नेपालीका मनमा भरिन थालेको छ । व्यवस्थाको विकल्प खोज्न थालिसके नेपालीले ।
हौसिए राजावादी
फागुन २५ को भिड देखेर राजावादी हौसिएका छन् । उनीहरूको लडाइँ अब नेतृत्व कसले लिने भन्नेमा केन्द्रित देखिएको छ । उनीहरूमा पनि अहिले नेतृत्वका लागि तँछाडमछाड भइरहेको देखिन्छ । उनीहरूमा देखिएको नेतृत्वको खैलाबैलाले गणतन्त्रवादीहरूलाई न्यानो भएको छ । अनायकाविनश्यन्तिनश्यन्तिबहुनायका भन्ने अवस्थामा पुगेको देखियो । उनीहरूमा एकल नेतृत्व भयो र सर्वस्वीकृत नेतृत्व आयो भने नेपाली जनताले गणतन्त्रविरुद्ध शंखघोष गर्ने अवस्था नआउला भन्न सकिँदैन ।
गणतन्त्रको विकल्प राजतन्त्र होइन । गणतन्त्र आफैँमा सबल सक्षम जनप्रणाली हो । तर, विकल्प खोज्ने जनता राजावादी मात्र होइनन् । नेपालको शासनलाई र गणतन्त्रले दिएका विकृतिलाई समाप्त पार्न राजतन्त्रको खोज गर्न थालियो । राजावादी पनि हौसिनु आवश्यक छैन । गणतन्त्रलाई मास्ने क्षमता राजावादीसित पक्कै पनि छैन । यो अवस्थाको ख्याल अब गणतन्त्रवादीले बुझ्नु आवश्यक मानिन्छ ।
राजाको स्वागतका लागि आएको भिड अनायास थिएन । त्यो भिडमा गणतन्त्रको विरोधभन्दा पनि गणतन्त्रले सामान्य नेपालीलाई दिएको घाउ थियो । गणतन्त्रवादीले बुझेर यो समस्याको समाधान छिटो गर्नु आवश्यक देखियो । आउँदो निर्वाचनमा धर्म र प्रदेशलाई जनमतसंग्रहमा लाने हो भने समस्याको समाधान सजिलो तरिकाले हुनसक्ने सम्भावना देखिन्छ । यसैलाई समस्या समाधानको उपाय मानेर अघि बढ्दा गणतन्त्रको विजय हुने निश्चित देखिन्छ । गणतन्त्रको मियो कमजोर नबनाऔँ । गणतन्त्रलाई जोगाऔँ । अब सबै नेपाली गणतन्त्रका लागि उभिने अवस्था नदेखिन सक्छ । अब बेला गयो सचेत बनौँ र सबै मिलेर गणतन्त्रको मियोलाई बलियो बनाऔँ । यही नै आजको राजनीतिको आवश्यकता हो र गणतन्त्रको बलवान् हतियार पनि हो । नेताहरूले पनि आफूलाई सुधार र आफन्तका चाहनालाई पनि सुधार ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच