
काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष बस्नेतको शनिबार बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
उहाँको शनिबार पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो ।
गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिय रहनुभएका उहाँ हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष हुनुहुन्थ्यो । पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहनुभएका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिनुभएको थियो ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । उहाँ २०३६ सालमा जनमत संग्रहको घोषणापछि जेल मुक्त हुनुभएको थियो । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच