
भक्तपुर । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको महत्त्वबारे प्रकाश पार्दै नेपाली समाज पछाडि फर्कन नसक्ने स्थिति रहेको बताउनु भएकाे छ ।
बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नभएको र यसको महत्वलाई सबैले बुझ्न आवश्यक भएको बताउनु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, "लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ। आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने गर्छ। कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं।"
उहाँले लोकतन्त्र र गणतन्त्रका विषयमा समाजमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्नु भयो । गृहमन्त्रीले गणतन्त्रले केही गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको आवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्रको मूल विशेषता भएको बताउनु भयो । उहाँले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्गलाई उठाउँदै भन्नु भयो , "राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको थियो।"
गृहमन्त्री लेखकले तानाशाही र राजतन्त्रको विरोध गर्दै लोकतन्त्रको पक्षमा जोड दिँदै भन्नुभयाे, "जनताको आवाज कुल्चिएका तानाशाही व्यवस्थामा पत्रकारको आवाज पनि दबाइन्छ। त्यो व्यवस्था भनेको राजाको व्यवस्था हो। लोकतन्त्रले जनताको आवाज सुन्छ र पत्रकारिताको आवाज पनि सुनिन्छ।"
लोकतन्त्रको कमजोरीको आलोचना गर्नेहरूलाई उहाँले चुनौती दिँदै भन्नुभयो, "लोकतन्त्रले केही गर्न सकेन भन्ने गलत धारणा बनाइएको छ। गणतन्त्रले जनताको आवश्यकता बुझ्दछ र यसको विकल्प खोज्नुपर्ने कुरा धेरै गडबड छ।" उहाँले समाजमा लोकतन्त्र र गणतन्त्रको महत्व बुझ्न र यसको सशक्तिकरणको लागि सबैले जागरुकता ल्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
गृहमन्त्रीले इतिहासका पाटोको स्मरण गर्दै भन्नुभयाे, "२०६१ सालको कूको समयमा नेपाली सेना र सशस्त्र प्रहरी सबैभन्दा पहिले सञ्चारमाध्यमका अफिसमा जान्थे। यसको अर्थ, राजतन्त्रले जनताको आवाज थिच्न चाहन्थ्यो, जबकि लोकतन्त्र भनेको जनताको आवाज सुन्ने व्यवस्था हो।"
नवनिर्मित जुद्ध वारुण यन्त्र कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भविष्यमा लोकतन्त्रको रक्षा र यसको सशक्तिकरणको आवश्यकता रहेको जोड दिनुभयो । वारुण यन्त्र कार्यालयको भवन ३ रोपनी ७ आना जग्गामा ५ करोड ७६ लाख ९८ हजार रुपैयाँको लागतमा निर्माण गरिएको हो।
कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडी, संघीय सांसद दुर्लभ थापा (भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित), बागमति प्रदेशका सांसद सुरेस श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष शुन्दर सिल्पकार र जिल्ला समन्वय समितिका पूर्व प्रमुख नवराज गेलाल लगायतका प्रमुख व्यक्तिहरू सहभागी हुनुहुन्थ्याे। प्रत्येक सहभागीले लोकतन्त्र र गणतन्त्रको महत्त्व र जुद्ध वारुणयन्त्रको भूमिकाबारे विचार व्यक्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच