
-सुरेशकुमार भट्ट
उहिलेको कुरा हो बालुवा भन्ने एउटा गाउँमा तक्दिरे भन्ने खड्का बस्दथे । उनको झिटीझाम्टो दरै राम्रै थियो । एक मानाको वृत्ति राम्रै चलेको थियो । उनी हरेक कुरालाई तक्दिरको कुरा हो भन्थे । गाई भैंसी ब्याए नि तक्दिर, नब्याए नि तक्दिर, बिरामी भए नि तक्दिर सारसौंदो भए नि तक्दिर, खेती भए नि तक्दिर नभए नि तक्दिर भन्थे । जेलाई पनि तक्दिर भन्दाभन्दै भाग्यबहादुर खड्काको नामै तक्दिरे हुन पुग्यो । सबैले तक्दिरे खड्का भन्थे । कतिपयले आदर गरेरभन्दा पनि ए तक्दिर बा भन्थे । बाउ बितेर सबै शिराभारा उनले गर्न थालेपछि प्रतिवर्ष ओरालो लाग्दै र अनिकाल लाग्दै जानथाल्यो । यसलाई पनि तक्दिरको कुरा हो भनेर चित्त बुझाउने र सुनाउने गर्थे । आफ्नो थिति–तिथि मितिबाट टसमस नहुने हुनाले खड्का खेती भनियो । उपती नहुने खेती नै खड्का खेती हो ।
तक्दिरमा भरपर्ने खड्का जहिले पनि पाखा खेती जुन दिन अघिल्ला वर्षहरूमा छरियो त्यही दिन पछिल्लो वर्ष पनि छर्थे । यो उनको समयतालिका नै थियो । जति वर्ष आए त्यही दिन घैया छरे मकै रोप्ने गर्थे । उनी वर्षा भयो कि भएन ? माटोले बिउ मागेको छ कि छैन ? वर्षे खेती अघिल्लो फाल छ कि पछिल्लो कुनै ख्याल गर्दैनथे । संयोगले खेतीबाली राम्रो भए नि तक्दिरले, बिग्रियो राम्रो भएन भने पनि तक्दिरले भन्दाभन्दै हाड लागेर साल बसाल खान नपुगेर उपाय नभएपछि ‘पहाडका आपत्ति चितवनका लखपति’ यो पनि तक्दिरै हो भन्दै भारी बोकेर चितवनतिर लागे ।
उतै फँडानीमा केही जमिन जुवाईं पर्ने नेताले मिलाइदिएकाले त्यही लिएर बस्न थालेपछि तक्दिरी छोडेर पाखुरीमा भर गर्न थालेपछि फेरि गरिखान थालेरे तीन बिघाका मालिक भए रे भन्ने हल्ला पहाडतिर आइपुग्यो भन्थे । खेतीलाई मौसम विचार नगरी तक्दिर भन्दै खेती लाउँदै गर्ने खड्काको खेती र हालको वर्तमानको नेपालको राजनीति कति नजिक कति टाढा अथवा कति नीति कति विनसित्ति अब सप्रसंग हेरौं । सधैं उही नेतालाई भोट हालिरहने जनताको मनस्थिति र एउटै असफल र भ्रष्टलाई नेता मानिराख्नुपर्ने राजनीति, एकोहोरा बौरा बबुरा निरीह जनता चुनिरहन बाध्य छन् ।
नयाँ अनुहार आयो भनेर रमायो तर ऊ झन् जण्डु देखापर्दिन्छ अनि जनतालाई बाख्रीलाई बेतैपिच्छे रूनु भनेजस्तो हुन्छ । ठगैठग फटाहा फटाहाको चंगुलबाट कहिल्यै मुक्ति हुन सक्दैनन् नेपाली जनता भन्ने भाष्य बनिरहेको छ नेताको सधैं एउटै खड्का खेतीले गर्दा । नेतासम्मका कुनै पनि पार्टीका नेताहरू मुलुकका जनता र राष्ट्रको सार्वभौमिकताका लागि रतिभर इमानदार देखिँदैनन् खड्काको तक्दिरभन्दा माथि यी छन् यो सबै हाम्रो तक्दिरले पाएको हामी नै नेता हामी नै सरकार हामी नै राज्य र हामी नै राजा भनेर खड्काले मौसमको विचारै नगरी तक्दिर भन्दै खेती लाउँदै गरेझैँ वर्तमानका नेताहरूले आफ्नो तक्दिरको बरदान सम्झी सत्ताको र नेतृत्वको दुरुपयोग गरिरहेका छन् ।
हाम्रो पार्टीले भन्दा नि हाम्रो शीर्षनेताले जे ग¥यो त्यही ठीक उसले जे गरिरहेको छ त्यही गरिरहन्छ अवस्था विचार गर्दैन, अन्तर्राष्ट्रिय परिवेश कुन चराको नाम हो थाहा छैन । जहिले पनि त्यही जहिले पनि त्यही नयाँ नौलो गर्दैन केही तैपनि उस्तै छ । जनता कार्यकर्ता हाम्रो उहाँले भनेपछि हुन्छ भन्छ पछि–पछि । २२/२४ सालतिरको पक्नाजोलको लाहुरेको पछि लाग्नेहरू जस्तै डोलाउँदै पछि लाग्दै गर्छन् अनि जनता जनार्दन भन्ने कसलाई ? यी खड्काका रैती भएपछि । ४० सालसम्म पनि पोखरामा विद्यार्थीबीच के तिहुन/तरकारी खायौ ? भनेर बिहान सोध्दा आलु प्याज बेलुकी के तरकारी खायौभन्दा प्याज आलु यही क्रमले उत्तर आउँथ्यो ।
त्यस्तै यी नेताहरूको पनि यी र यस्तै उत्तर आउने क्रियाकलापले, भ्रष्ट र नगनाएको त एउटा बिस्तुर नेता छैन । हिजोमात्रै ‘सी’ को परीक्षा दिनेलाई पूर्वमन्त्रीले शुभकामना दिँदै गरेको भनेको सुनियो ‘सबैको आआफ्नै खुबीलिटी हुन्छ’ उहाँको यस्तो नेपांग्रेजी कति पाच्य र यथार्थपरक होला के शुद्ध बोली नै त्यही हो ? प्रधानमन्त्रीले मरिचको ठूलो रूख हुन्छ भन्नु पनि सही नै होला त ? काममा त भ्रष्ट र फट्याइँ गरे गरे तर बोली र भाषामा पनि किन मनपरी खड्काले खेती लाउन मौसमको ख्यालै नगरी पोहर आजैको दिन घैया छरेको मकै रोपेको यसपालि पनि आफ्नै तिथि मितिमा लाउने भनेझैँ यसरी आफ्नै मनोमानीमा चल्नेहरू तक्दिरे खड्का भन्दा कति माथि कति तल भनेर हामीले नाप्ने वा जोख्ने ?
दुई दशकदेखि टिआरसी टसमस केही भएकै छैन पुरानै इरादा र पारामा घुमाकोघुमायै आफूलाई हेग पु¥याउँछन् भन्ने डरले छल्नकै लागि बाँचुन्जेल यसै गरिरहने अक्ष र कक्षमै घुमिरहने चालामाला छ । यो खड्काको खेतीकै धार र बाटोमा चलिरहेको छ । एउटा लोकप्रिय काम गरेको कर्मचारीलाई हुत्याउन कन्दनी छिनालेर लाग्दा सिंहदरबारमा बिजुली बत्ती बलिरहँदा पनि अँध्यारो सोचेर हरिबुंगै पो भए । बसाइँ जानेविपरीत बुद्धि अझैं बिगिँ्रदै गयो । बिनापैसाको रमिता सडक तताउने तातो मसलाको पोकै दिए त्यसले शासनमा सास्ती र रासनमा पाती आँखामा भतभती नपार्ला भन्ने हामीलाई लाग्दै लाग्दैन । यो पनि पुरानै तक्दिरे खड्काको बुद्धि नै हो हामी जनता जनार्दनले भन्ने कि नभन्ने ?
अब अहिले सडकमा चलेको छ राजावादी हाहाहुहु । यो पनि दुसरा कल्वा यहीँ पर मिलेगा भन्दा कति फरक ? विहारमा नेपालबाट देश जाने भनेर हिउँदमा भागेर गएका नेपाली केटाहरू भोकै परेर बसिरहेका बेला नजिकैको किसानको घरमा छ धार्नी जतिको खसी मर्न लागेको रहेछ । बुढाले छोरालाई बोलाएर भन्यो ‘ए ¤ बबुवा कलुवाको बोला लो’ जी हँ । भन्दै छोरो गयो । यता भोका भगौडाको बीचमा सल्लाह भयो ‘हामी नै पोली खाम’ तब गएर भने बाबुजी हामको दो ए बकरी ? बाबुजी बोले क्या तुम खाएका ? हँ जी खाएगा ।’ तब बाबुजी ने बेटाको बोलाए–‘अरे ओ बेटा इदर सुनो व कल्वाको मत बुलाओ, दुसरा कल्वा यहीँपर मिले । आओ ।’
कुरा के त भन्दा २०६२ को आन्दोलन अर्थात ज्ञानेन्द्रको माहेन्द्रीय सत्रसाले शासनको विरुद्ध एकट्टा भई पूर्णलोकतन्त्रको भाषाभित्र गणतन्त्र ल्याउन र राजा धपाउन पनि राजाकै हुकुम सन्देशबाट संसद् पुनःस्थापना गरियो अनि फेरि पुरानै कथा दोहोरियो । यहाँ पनि खड्का खेती लाग्यो तर खेतीमा सुक्खा त २४० वर्षको राजसंस्थालाई पो लागेर खड्का चितवन बसाइँ गए झैँ राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर कोटेली दरबार नागार्जुन हावाखोरीमा हावा खान पुगे, राजसंस्थाको खेती समाप्त भयो । किनकि उनले पनि खड्काले झैं नै पुरानै बाउको पालाका तुलसी गिरी, कीर्तिनिधि बटुलेर माहेन्द्रीय खेती लाए दानु उपलब्धि भएन पूरै सुक्खा लागेर तलीतुमडी च्यापेर दरबारबाट बाहिरिनु प¥यो ।
अहिले फेरि राजावादी युवाहरू पुराना धेरै राजनीतिज्ञ हुँदाहुँदै फेरि बाउले पञ्चायतको बारीमा खेती लाएका तिनै टेवालाउनुपर्ने उमेर र कुनामा बसेर तातो–चिसो मिलाएर लेउन भन्ने बेलाकालाई नै फेरि खड्का खेतीको नमुना दिँदै नवराज सुवेदीलाई संयोजक बनाएर अरूलाई मनोनित गरेर राजेन्द्र लिंदेन, ज्ञानेन्द्र शाही, रविन्द्र मिश्र जस्ता युवाहरूलाई बेवास्ता गर्ने अनि पुराना पशुपति शमशेर, डा.लोहनीलगायतलाई बाइपास गरेर फेरि पुरानै खेती किन सुरु गरिरहेका छन् ? नगर्नु गरिसकेपछि र नआउनु सडकमा आएपछि राजाले किन बेत बसेका भैंसी र हरबसेका गोरु नारेर राजनीतिक भाते रोपाइँ गर्न लागेका ?
राजावादी भावनाका विशेष मान्छेलाई प्रत्यक्ष राखेर आन्दोलन परिचालन समिति नबनाएर केको मनोनितमा रमाउने र खेलाउने ? बाउ महेन्द्रको दाम्लो समातेको यो त कत्ति पनि भएन पुनर्विचार गरे हुन्छ । कम्तीमा आन्दोलन पक्षको प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीच रस्साकस्सीपछि वार्तामा बस्न लायक त हुनै प¥यो नि होइन र ? सडकमा त रिसाएका र यो गन्हाएको सरकारबाट बिच्किएका सबै आएकै हुन् आउँछन् तर ती राजावादी भइरहँदैनन् यो पनि विचार पु¥याउनु पर्दैन र ? संविधान संशोधन नगरी त कुनै काम हुने छैन । त्यसैले संवैधानिक बाटा नभई त्यो सम्भव हुने छैन । युवाहरू मध्येबाटै नेतृत्व सम्हालेकालाई पनि त चेतावनी हुन्छ ।
खड्का खेतीबाट पार पनि भइन्छ । सत्तामा र पाए सत्ता चलाउँला हल्लाउँला खाउँला भन्नेहरूको स्वरूप पनि हेरौं न । शेरबहादुरलाई उही खड्का खेती बाली लागोस् नलागोस् उब्जनी होस् नहोस् सातपटक गन्तीमा प्रधानमन्त्री हुनुछ । बीपीको आदर्शबाट डिरेल भइसकेको छ कांग्रेस । त्यसैले त्यहाँ अझै खड्का खेती भइरहन्छ । अन्यौलमा खेल चलिरहन्छ । एमालेमा ओली पदबाटै महाप्रस्थान गर्ने दिन नआएसम्म अध्यक्ष र टाक्कटुक्क मिलाएर सत्ता पाएसम्म आफूबाहेक अर्कोलाई खेती लाउन नदिने भएपछि ओलीको खड्का खेती त्यस दिनसम्म जारी हुन्छ जुन दिनसम्म त्यस्तो हुँदैन ।
न कम्युनिष्ट न डेमोक्र्याटिक दोहोरो बाटोमा चलिरहेको छ चलिरहन्छ । अब आयो चाइनाको कार्ड, भारतको आडमा हिंसात्मक विद्रोहबाट वर्गीय होइन जातीय राज्य बाँडेर आएकाले माओवादी पनि एमाले जस्तै भयो जुन दिन संसद् छिरेर एमालेको हाराहारीमा सिट दिएर लिएर नाम कम्युनिष्ट काम जमिन्दारी गरेर हैकम चलाएका २०४४ सालको सेक्टर काण्ड असफल भएपछि फलिफाप भएका पिके/प्रचण्डले खड्का खेती लाउन थालेको पनि पुरापूर ३७ वर्ष भयो । दोस्रो कोही उभिनै पाउँदैन जमिन्दारीको अघि सबै लल्याकलुलुक । अर्को कुरा सत्तामा बस्नेले प्रतिकार स्वरूप जुलुस भेला सडक तताउण्ने काम जो गरिँदैछ गर्न गइरहेका छन् भने त्यो त पञ्चायती शैली नै भएन र ?
हिजो हामी त्यही शैलीको विरोध गर्ने अहिले सत्तामा वा सत्ताको खातिरमा विरोधीसँगै सडकमा आउनु लोकतान्त्रिक चरित्र पनि हुनसक्दैन किनकि चित्त नबुझेकोमा र सरकारको गलत कामको विरोध गर्न चाहनेले नपाए त्यो के लोकतन्त्र ? हिंसा जसले गरे नि त्यो निन्दनीय नै हुन्छ । एकसाथ सडकमा निस्कने भन्नु नै हिंसा निम्त्याउनु हो । यो रोकिनुपर्छ । यी सत्ताभित्र बाहिर गरिरहेका ओदाने ‘खशेपु’ यी समयले बनाएका नेता हुन् जनताका नेता हुनै सकेनन् होइनन् पनि । तसर्थ यस्तै गर्ने त हो फेरि राजा सिंहासनमा राखे नि किनकि हामी नेपालीले सम्झनै पर्ने कुरा हामीले जति सजिलो गरी सात सालदेखि पद्धति परिवर्तन गर्न सफल भयौं २०६३ सम्म त्यत्तिनै असफल भएका छौं व्यवस्थापन गर्न ।
जति परिवर्तन गरे नि हामीले व्यवस्थापन गर्न जानेनौं, गरेनौं र गर्न सकेनौं । त्यसैले २०/२० वर्षभित्रमा पद्धति परिवर्तनमै हाम्रो पौने शताब्दीको जिन्दगी गयो । किनभन्दा पद्धति फे¥यौं प्रक्रिया फेरेनौं, पात्र फेरेनौं, प्रवृत्ति फेरेनौं अनि कसरी हामीले स्थिर सरकार पाउछौं र मुलुकको उन्नति हुन्छ ? आमूल परिवर्तनको हामीले कहिल्यै चिन्तनसम्म पनि गरेनौं । त्यसैले अब त झन् छिमेकीले पनि खुसुखुसु यहाँको पानी धमिल्याएर असला माछा मारिरहेका छन् । हामी नेपालीका नेताको बुद्धिमा बट्टा लागेको छ शुद्धि बुद्धि घाटामा गएको छ । सधैंको मगन्ते र रैती भएका छानौं । हामी कसैले त्यति पर पुगेर सोचेका छौं ? हामी सबैको पाडा गए घमाउँदै बाछा गए रमाउँदैमा जुनी बितेको छ । सधैं उही आहान उही कुम्लो, खड्का खेतीको हलो । अस्तुः ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच