काठमाडौं । विगत डेढ दशकभन्दा लामो समयदेखि नृत्य निर्देशनमा व्यस्त कृष्ण रसालको यतिबेला नयाँ हिन्दी गीत सनम बे...रिलिज भएको छ । बाराको सिमरामा छायांकन गरिएको यो गीतको भिडियो हालै रिलिज गरिएको हो । भारतीय गायक-गायिका प्रजेस र मेहर अञ्जुनले गाएको यो गीतको भिडियोमा हरि पाण्डे र सृष्टि खड्काको अभिनय छ । सञ्जय पाण्डेले निर्देशन गरेको यो गीतको भिडियोमा कोरियोग्राफी कृष्ण रसालको छ ।
कृष्ण रसाल नेपाली कला क्षेत्रका लोकप्रिय नृत्य निर्देशक हुनुहुन्छ । त्यसो त उहाँले नेपालीबाहेक अरू थुप्रै हिन्दी, भोजपुरी, सादरी गीतहरूको नृत्य निर्देशन गरिसक्नुभएको छ । उहाँले जी म्युजिक कम्पनीको हिन्दी गीत कुछ तो हे, भोजपुरी गीतहरू भतरामे मजा, चुम्बा, ले सेल्फी, सादरी भाषाको चलचित्र सुनौना, तोरबिन, तुजको देखी देखी केसहित थुप्रै विदेशी गीतको भिडियोमा नृत्य निर्देशन गरिसक्नुभएको छ । यसै क्रममा उहाँले नयाँ गीत सनम बे सनम बेको नृत्य निर्देशन गर्नुभएको हो ।
चुजी नृत्य निर्देशकका रूपमा परिचय बनाउनुभएका रसाल रौटहटको चेतनगर-७ मा जन्मिनुभएको हो । उहाँ नृत्य भनेपछि बाल्यकालदेखि नै हुरुक्कै हुनुहुन्थ्यो । उहाँ स्कुलमा प्रायः हरेकजसो कार्यक्रममा नृत्यमा पुरस्कार जित्नेमध्येमा पर्नुहुन्थ्यो । यसरी सुरुका दिनमा नृत्यबाट कलायात्रा सुरु गर्नुभएका रसालले पछि नृत्य निर्देशनलाई आफ्नो पेशा बनाएर यसैमा निरन्तर लागिरहनुभएको छ । नृत्य निर्देशक कृष्णको कोरियोग्राफीमा गत महिनामात्र नयाँ गीत छोड सताउन...को भिडियो रिलिज भएको थियो । सरिता भारती र ओम सुनारको स्वरमा रहेको यो गीतलाई पत्रकार डब्बु क्षेत्रीले लेख्नुभएको हो ।
कृष्ण रसालले पहिलोपटक वीरेन्द्र झाको स्वरमा रहेको गीत साडीको छेउ पञ्जावी कुर्था सुरुवालले लियो...गीतको नृत्य निर्देशन गर्नुभएको थियो । गीतको भिडियोमा अभिनेता ईश्वर थापा, अभिनेत्री ममता बस्नेत र तारा गुरुङले अभिनय गर्नुभएको थियो । त्यसपछि उहाँले हालसम्म करिब दुई सयवटा गीतको नृत्य निर्देशन गरिसक्नुभएको छ ।
उहाँले नृत्य निर्देशन गर्नुभएको ओ मेरो हेण्डसम, ओ लब्ली, लाठी चर्चा २, पूर्वदेखि पश्चिमसम्म, हे कान्छी, कुसुमे रुमाल, सातै सुरमा, मायाकै पिर, बजाइदेऊ न बाजा, तिम्रै झल्कोजस्ता कैयौं भिडियो छन् । नृत्य निर्देशनसँगै केही गीतको भिडियोमा आफैं मोडलिङसमेत गर्नुभएका कृष्ण आफूलाई नृत्य निर्देशककै रूपमा चिनाउन चाहनुहुन्छ । आफ्ना अग्रज नृत्य निर्देशकहरू कमल राई, नवीनचन्द्र राई, अच्युत घिमिरे, रमेश वन्तजस्ता थुप्रै नृत्यका गुरुसँग काम गरेपछि उहाँ नृत्य निर्देशनमा उत्रिनुभएको हो ।
सो क्रममा कृष्णले आफ्ना यी गुरुहरूसँग जून-तारा, अवतार, शिखर आरोहण, गोधुली, पिरती आफैं हुँदो रैछ, सुपर स्टार, मलाई माफ गरिदेऊ, नाता रगतको जस्ता चलचित्रका गीतको भिडियोमा सहायक कोरियोग्राफीका रूपमा काम गर्नुभएको थियो । त्यसपछि आफूले नृत्य निर्देशकका रूपमा काम गरेको पनि कृष्णले बताउनुभयो । उहाँले नेपाली चलचित्र रिलेसन, शिखर आरोहणका गीतमा पनि नृत्य निर्देशन गरिसक्नुभएको छ । डान्स कोरियोग्राफीको यो यात्रामा कृष्ण रसालले लोक, आधुनिक, पप, चाडपर्व, राष्ट्रिय भाव, देउडाजस्ता विभिन्न जनराको गीतमा नृत्य निर्देशन गरिसक्नुभएको छ ।
उहाँले विदेशका विभिन्न कार्यक्रममा पनि नृत्य कोरियोग्राफी गरिसक्नुभएको छ । कृष्णले फ्रान्स, स्पेन, चीन, दुबई, सिंगापुर, मलेसियाजस्ता थुप्रै देशमा पुगेर त्यहाँ सम्पन्न स्टेज कार्यक्रमको नृत्य निर्देशनसँगै आफूले नृत्य प्रस्तुतिसमेत दिनुभएको छ भने यतिबेला यही चैत १२ गते थाइल्याण्डमा हुने पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ मा आफ्नो प्रस्तुति दिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । नेपालमै पनि पाँच सयभन्दा बढी स्टेज कार्यक्रममा नृत्य कोरियोग्राफी एवं नृत्य गरिसक्नुभएको छ । डान्स कोरियोग्राफीबाटै राम्रो आम्दानी गरिरहनुभएका कृष्ण रसाल यसै क्षेत्रमा सक्रिय रहिरहने बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच