काठमाडौंं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्षमुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका उहाँले बैठकमार्फत् आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हाैं ।’ हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिँंदै आएकोे छ । उपचार लिनेको संख्या बढिरहँदा केन्द्रले त्यसमा आन्तरिक स्रोतसमेत थप गरेर आर्थिक अभाव भोगेका बालबालिकाको शल्यक्रियासहितका सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
यस वर्षको पुससम्म चार सय ८० बालबालिकाले गंगालालबाट शल्यक्रियासहितको उपचार सेवा निःशुल्क प्राप्त गरेका छन् । मन्त्री पौडेलले भन्नुभयो, ‘आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित नहोउन् भन्ने हाम्रो चाहना हो । यसका लागि थप स्रोतको खोजीसमेत गरिनेछ ।’
सञ्चालक समिति बैठकले बाल मुटु उपचारका लागि थप स्रोत खोजी गर्न स्थानीय तहहरूसँग समेत सम्झौता गर्ने निर्णय गर्दै त्यसका लागि सदस्य सापकोटालाई जिम्मेवारीसमेत तोकेको छ । सञ्चालक समिति सदस्य सापकोटाले भन्नुभयो, ‘स्थानीय तहहरूसँगको सहकार्यमा बाल मुटु उपचार थप पहुँचयुक्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ, सहकार्य गर्ने गरी गृहकार्य सुरु गरेका छौं ।’ नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको एक अध्ययनले देखाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच