
लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही आउनुभएको छ । उहाँलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यही चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहनुहुने बताउनुभयो ।
शुक्रबार लुम्बिनी विकास क्षेत्रमा निर्माण गरिने बिहारको शिलन्यास गर्ने र शनिबार यस क्षेत्रका महिला जनप्रतिनिधिसँगको अन्तरसंवाद भएपनि त्यसअघि र पछि उहाँले नेकपा एमालेको विभिन्न तहमा रहेका नेता–कार्यकर्ताहरूसँग भेटघाट सुरू गर्नुभएको छ ।
उहाँ तीन दिनसम्म रुपन्देही बस्ने कार्यक्रम रहेको छ ।
रुपन्देहीमा पनि पूर्वराष्ट्रपति भण्डारीका अन्य कार्यक्रम तय भएपनि मुख्य उद्देश्य एमालेभित्र आफ्नो माहोल बनाउने रहेको आंकलन उहाँ निकटस्थहरूको छ ।
यसअघि भण्डारीको कोशी भ्रमणले एमाले वृत्तमा तरंग ल्याएको थियो भने राष्ट्रिय राजनीतिमा पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिक भूमिकामा फर्किने चर्चा लिएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले भैरहवामा रहँदासम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, यहाँका केन्द्रीय सदस्य, प्रभावशाली नेताहरू, युवा, विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्ने तय भएको छ ।
नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले तीन दिनको कार्यक्रम लिएर पूर्वराष्ट्रपति भण्डारी यहाँ आएको र आफूले पनि भेटेर फर्केको बताउनु भयो ।
कँडेलले भन्नुभयो, ‘मसहितका नेताहरू उहाँलाई विमानस्थलमा स्वागत गरेर लुम्बिनी भिलासासम्म आएर एकछिन कुराकानी गरेर फर्केका हौं, भोलि लुम्बिनीमा विहारको शुभारम्भ कार्यक्रम रहेछ, पर्सी महिला जनप्रतिनिधिसँगको अन्तरक्रिया रहेछ, सामान्य राजनीतिक अवस्थाका कुराकानी भएको उहाँले बताउनु भयो । उहाँ राजनीतिबाटै त्यहाँ जानुभएको हो, अरु कुरा हुने त सामान्य नै भयो तर बाहिर चर्चा आएजस्तो पार्टी नेतृत्वको, महाधिवेशनको विषयमा कुनै कुरा भएको होइन ।’
लुम्बिनीको कार्यक्रमअघि र पछि उहाँले भेटघाटलाई निरन्तरता दिनुभएको छ । आन्तरिकरूपमा नेकपा एमाले नेता–कार्यकर्तासँग भेटघाट, लुम्बिनी र भैरहवामा हुने कार्यक्रममा सहभागिता जनाउने छन् । यो बीचमा उहाले केही धार्मिक यात्रा गर्ने र भैरहवास्थित सिद्धार्थ भिलासामा बस्ने कार्यक्रम तय भएको एमाले नेताहरूकै भनाइ छ ।
विहीबार साँझ उहाँले बुटवलस्थित लुम्बिनी केबलकार भ्रमण तथा माँ कामाख्यादेवी मन्दिर दर्शन गर्ने र साँझ ८ देखि ९ बजेसम्म भैरहवास्थित भिलासामा भेटघाट गर्ने कार्यक्रम राखिएको छ । एमाले केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पूर्वराष्ट्रपति भण्डारीसहित आफू लुम्बिनीमा रहेको बताउनु भयो ।
‘पूर्वराष्ट्रपति भोलि लुम्बिनी विकास कोषभित्र बन्न लागेको विहारको शिलन्यास गर्न आउनुभएको हो, म उहाँसँगै छु’ उहाँले भन्नुभयो ।
एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका उपमेयर सावित्रा अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई भैरहवामै भेटेर आफू बुटवल फर्केको बताउनु भयो ।‘उहाँ आउने पूर्वसूचना नै थियो, म भैरहवामै पुगेर भेटेर फर्केको हुँ, ’ उहाँले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको नेतृत्वमा जानेगरी तयारी गरेको र अहिले त्यही अनुसार भेटघाट बढाएको विषय चर्चामा छ । तर, उहाँलाई भेटेका नेताहरूले यसबारे केही खुलाएका छैनन् ।
पूर्वराष्ट्रपतिले तीन दिनसम्म एमालेका लुम्बिनी प्रदेशका विभिन्न तहका नेता–कार्यकर्ता भेटघाट गर्नेकार्यक्रम रहेको बताईएको छ । दुई कार्यकाल मुलुकको सर्वोच्च निकाय राष्ट्रपति पद सम्हालेकी उहाँले जिल्ला दौडाहामा निस्किएर आफ्नो पुरानो राजनीतिक विरासत फर्काउन खोजेको भन्ने यो विषयले चर्चा पाउन थालेको छ ।
शुक्रबार उहाँ लुम्बिनीमा आयोजित एक कार्यक्रममा आधा घण्टा बिताउने कार्यक्रम छ । यसपछि २ बजेदेखि साढे तीन बजेसम्म भेटघाटमा व्यस्त हुने कार्यक्रम समेत रहेकोछ । दिउँसो साढे ३ बजे उहाँ त्रिवेणी धाममा धार्मिक यात्राका लागि निस्किने छन् । त्यहाँबाट फर्किएपछि बेलुका ८ देखि १० बजेसम्म भेटघाटमा व्यस्त हुनेछन् ।
१६ गते शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरुबीचको अन्तरसंवाद कार्यक्रममा सहभागी रहने कार्यक्रम रहेको बताईएको छ । चैत १७ गते उनी काठमाडौं फर्किने कार्यक्रम छ । भण्डारी भैरहवा आउँदा उहाँलाई एयरपोर्टदेखि भैरहवास्थित होटल सिद्धार्थ भिलासासम्म ल्याउन एमाले नेता–कार्यकर्ताहरुको ठूलो पंक्ति पुगेको थियो ।
उहाँलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, जिल्ला अध्यक्ष यज्ञ गैरेसहितका नेताहरू पुगेका थिए । प्रतिनिधिसभा सदस्य रहेका वासुदेव घिमिरे भण्डारीसँगै काठमाडौंबाट आउनु भएको थियो ।
पूर्वमन्त्री एवं एमाले सचिव पद्या अर्याल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ भण्डारीसँगै छन् । यस्तै, बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगर उपप्रमुख उमा अधिकारी, एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनेरास्ववियु, युवा संघ, पार्टीका गाउँ–नगर कमिटी अध्यक्ष तथा पदाधिकारी, अनेमसंघका नेतृहरूले भेटघाट गरिसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच