
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर समाजवादी मोर्चा, नेपाल र राजसंस्था पुनःस्थापना गर्ने अभियानमा लागेका राजावादीहरू एकैदिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित एकीकृत समाजवादी र नेकपालगायत मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने तय भएको छ । भृकुटीमण्डपमा मोर्चाले शक्ति प्रदर्शन गरिरहँदा केही किलोमिटरको दूरीमा रहेको तीनकुनेमा राजावादी समूहले शक्ति प्रदर्शन गर्दै छ । चैतको चर्कँदो घाममा एकैदिन दुई पक्षको विरोध प्रदर्शनबाट उपत्यका अस्तव्यस्त हुने भएको हो । सानो जात्रा मात्र हुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने काठमाडौंमा दुई ठाउँमा जुलुस निकाल्दा जनसाधारणले सास्ती पाउने निश्चित छ ।
प्रदर्शनलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा रणनीति बनाएको छ । दुई फरक समूहले एकैदिन एक–अर्कोलाई आरोप प्रत्यारोप गर्दै गर्न लागेको प्रदर्शनमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको हो । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
दुवै समूहको कार्यक्रम हुने समयभन्दा केही अघिदेखि नै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखिन्छ । त्यसैले प्रहरीले शुक्रबार काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाउन लागेको छ । प्रहरीले शुक्रबार निषेधित क्षेत्र, सरकारी भवन, नारायणहिटी दरबार क्षेत्रलाई विशेष ध्यान दिएर सुरक्षा रणनीति बनाएको छ । केही दिनअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा बैठक बसेको थियो ।
शुक्रबारको कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा खटिनेछन् । त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पनि बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । दुई समूहले हजारौँ मानिस सडकमा आउने दाबी गरिरहेका छन् । यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा १५ हजारसम्म मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्टिङ थियो ।
प्रतिगामी तत्त्व पानी धमिल्याएर माछा मार्न खोजिरहेका छन् : भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा राजसंस्था पुनःस्थापना असम्भव रहेको दाबी गर्नुभएको छ । बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजाको पक्षमा १० हजार भाडाका मान्छेहरू ल्याएको भन्दै उनीहरूसँग नडराउने बताउनुभयो । देशभित्र असन्तुष्टि बढिरहेको बेलामा केहीले पानी धमिल्याएर माछा मार्न खोजिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
‘देशभित्र असन्तुष्टि बढिरहेको बेलामा शक्ति केन्द्रले चासो बढाउँदै लगेको मैले देख्या छु । पानी धमिल्याएर माछा मार्न खोजिरहेका छन् । जो सत्ताका लोभी छन्, उनीहरूलाई प्रयोग गर्न खोजिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘गणतन्त्र जनताले लडेर ल्याएको हो । लोकतन्त्रको विकल्प राजतन्त्र वा सैनिक सत्ता हुन सक्दैन । त्यो भ्रममा पर्नुहुँदैन । (राजा) आउने सम्भावना पनि छैन । यसले कहीँ पनि पु-याउँदैन ।’
यसअघि अग्रगमनका निम्ति आन्दोलन भएको स्मरण गर्दै अब पछाडि फर्किन नसक्ने उहाँले ठोकुवा गर्नुभयो । ‘राजतन्त्र आउनु भनेको संविधान भत्काउनु हो । त्यो सम्भव छैन । पहिलेको आन्दोलन त अग्रगमनको निम्ति थियो । यो त पछाडि फर्कने कुरा भयो । गुण र गोबर त फरक हुन्छ नि । हेर्दा उस्तै देखिन्छ तर, गुणात्मक अन्तर हुन्छ । उनीहरूको गोबर हो, हाम्रो गुण हो,’ उहाँले भन्नुभयो ।
मुलुक निरंकुशतातर्फ जान सक्दैन : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने दोहो¥याउनुभएको छ । बिहीबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले मुलुक निरंकुशतातर्फ जान सक्दैन भन्नेमा आफू प्रष्ट रहेको बताउनुभयो । समाज पछाडि फर्कन नसक्ने उहाँको दाबी थियो ।
‘एक–दुईचोटी प्रयास गरिएका हुन् । ती प्रयास नेपाली जनताले निस्तेज गरे । किनभने नेपाली जनता लोकतन्त्रमा विश्वास गर्छन्, लोकतन्त्रको मार्गमा अगाडि बढिसकेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यहाँबाट समाज फर्किंदैन । सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा हुन्छ । तर, लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज निरंकुशतातर्फ जाला भन्ने मलाई लाग्दैन ।’ जति काम हुनुपर्ने त्यो हुन नसक्दा मानिसमा केही चिन्ता र पीडा रहेको उहाँले बताउनुभयो ।
त्यो चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्थाकै विरुद्धमा प्रयोग गर्ने प्रयत्न भइरहेको उहाँको भनाइ थियो । ‘हामीले सुशासन दिनुपर्छ, आर्थिक समृद्धितर्फ अगाडि बढ्नुपर्छ, नागरिकलाई सुविधा दिनुपर्छ, सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘जनताका पीडा र समस्या छन् । ती पीडा र समस्याको समाधान निरंकुशता होइन लोकतन्त्रमार्फत गर्ने हो ।’
‘केही हुँदै छ भनेर भ्रम फैलाइएको छ, केही पनि हुँदैन’
प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी मोर्चा र राजावादीहरूले काठमाडौंमा के–के न हुन्छ भनेर चलाइएको भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ । महिला उद्यमी मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १०/१५ हजारको जुलुस नेपालमा सधैँ निस्कँदै आएको बताउनुभयो । समाजवादी मोर्चा र राजावादीहरूले तिललाई पहाड बनाउन खोजेको उहाँको भनाइ थियो ।
‘कोही अहिले अगाडि बढेको देशलाई पछाडि फर्काउने काम गर्न खोज्दै छन्, हुने होइन तर, अविश्वास, आशंका, अन्योल, असुरक्षा भाव गराउँदै छन् । १०÷१५ हजारको जुलुस त नेपालमा निस्केका निस्कै छन् त,’ उहाँले भन्नुभयो, ‘यहाँ केही हुँदै छ भनेर भ्रम फैलाइएको छ । केही हुँदैन । एउटा भृकुटीमण्डपमा सभा हुन्छ, अर्को कोटेश्वरमा सभा हुन्छ । यस्तो त सधैँ हुने नै हो । यस्ता काममा वास्ता नगरेर हामी देश विकासको काममा अघि बढ्छौँ ।’
२०४७ को संविधानलाई आधार मानेर अघि बढौँ : सुवेदी
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले २०४७ को संविधानलाई आधार मानेर २०७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै सहमतिको बाटो खोज्न चाहेको बताएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले वर्तमान संविधानमा सातातिना फेरबदल गरेर सम्भव सम्भव नभएको भन्दै २०४७ को संविधानलाई आधार मानेर सहमतिको बाटो खोज्न चाहेको बताउनुभएको हो । ‘वर्तमान संविधानमा सानातिना फेरबदल गरेर सम्भव नै छैन ।
तसर्थ, व्यापक रूपमा सबैले प्रशंसा गरेको २०४७ को संविधानलाई आधार मानेर ०७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस् भन्ने हामी चाहन्छौँ,’ उहाँले भन्नुभयो । यो बाटोबाट जाँदा संविधान र व्यवस्था दुवैमा ‘संरचनागत पुनरावलोकन’ गर्न सकिने उहाँले बताउनुभयो । ‘त्यसबाट मात्र नेपालको क्षीण हुँदै गएको राज्य, राजनीति र समाजलाई ट्र्याकमा ल्याउन सम्भव हुनेछ,’ उहाँले भन्नुभयोे, ‘अन्यथा, यो गौरवशाली इतिहास बोकेको देश बदलिँदो विश्व भूराजनीति तथा बिग्रँदो आन्तरिक परिस्थितिमाझ अस्तित्वको संकटतर्फ उन्मुख हुने खतरा बढेर जानेछ ।’
राजसंस्थाको विपक्षमा नेवाः समुदाय
प्रमुख दलसम्बद्ध नेवाः समुदायले आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी जसपाका नेताले सामूहिक वक्तव्यमार्फत आफूहरू राजसंस्थाको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रको पक्षमा निकालिएको सामूहिक वक्तव्यमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाले मुलुकको विविधतालाई मेटाएर नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक, आर्थिक रूपमा दमन गरेको उल्लेख छ ।
असन्तुष्टिमाथि खेलेर केही समयदेखि संघीयताको खारेजी, राजतन्त्र हिन्दूराष्ट्र पुनःस्थापनाको मागसहित प्रतिगामी शक्ति चलमलाउन थालेको उनीहरूले बताएका छन् । ‘लामो संघर्षको बलमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रमाथि आघात पु¥याउनेजस्ता गतिविधिहरू हामी नेवाः समुदायलाई कदापि स्वीकार्य छैन । आफ्ना कुत्सित मनसाय पूरा गर्न यी तŒवहरूले नजिकै आइरहेका नेवाः जात्रा चाडपर्वहरूमा अवाञ्छित गतिविधिहरू गर्ने सम्भावना रहेकाले त्यस्तो कार्य कोही कसैले नगर्न नगराउनसमेत खबरदारी गर्दै जात्रा पर्वको महŒव र मौलिकता बचाउन नेवाः समुदाय प्रतिबद्ध रहेको अवगत गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
प्रसाईं राजावादी आन्दोलनको कमाण्डर
नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर बनाएको छ । समितिका संयोजक सुवेदीले प्रसाईंलाई जनकमाण्डर बनाइएको जानकारी दिनुभयो । जनप्रदर्शनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. धवलशमशेर राणाको नेतृत्वमा एक हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी पनि दिनुभयो । सुवेदी नेतृत्वको समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ । आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई एक हप्तासम्म बेवास्ता गरिए चैत २१ गतेबाट सशक्त जनआन्दोलन गर्ने घोषणा गरिएको हो ।
राधेराधेमा आज लाइसेन्सको ट्रायल नहुने
भक्तपुरको राधेराधेमा आज सवारी साधनको लाइसेन्सका लागि प्रयोगात्मक (ट्रायल) नहुने भएको छ । राजावादी र गणतन्त्रवादी दुवैको छुट्टाछुट्टै शक्ति प्रदर्शनका कारण सम्भावित असहज परिस्थितिलाई ध्यानमा राख्दै ट्रायल रोकिएको हो । कार्यालयले सूचना निकालेर शुक्रबारका लागि तय भएका सबै प्रयोगात्मक परीक्षा विशेष कारणले स्थगित गरिएको जनाएको छ ।
‘यस कार्यालयबाट जारी हुने सवारी चालक अनुमति पत्रको लागि मिति २०८१ साल चैत १५ गते शुक्रबार सञ्चालन हुने भनिएको ए, के, बी जे१, जे२, जे४ र १३ को परीक्षा विशेष कारणले सञ्चालन हुन नसक्ने भएको छ । उक्त दिनलाई तोकिएको प्रयोगात्मक परीक्षा चैत १७ र १८ गते हुनेछ,’ सूचनामा उल्लेख छ । आन्दोलनका कारण ट्रायल रोकिएको यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरका सूचना अधिकारी जीवनकुमार बस्नेतले बताउनुभयो ।
प्रदर्शन शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले समाजवादी मोर्चा र राजावादी समूहलाई शुक्रबारको प्रदर्शन शान्तिपूर्ण बनाउन आग्रह गरेको छ । प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्नसक्ने अवस्थाप्रति आयोगले विज्ञप्तिमार्फत चासो राखेको हो ।
बिहीबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रदर्शनलाई नै मध्यनजर गरेर उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरिएको उल्लेख छ । छलफलका क्रममा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको बताएको पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार प्रदर्शनमा आयोगले विभिन्न टोलीहरू बनाई अनुगमन गर्नेछ ।
काठमाडौंका यी ठाउँमा हुनेछ सवारी जाम
गणतन्त्र र राजावादीको प्रदर्शनका कारण आज (शुक्रबार) काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न ठाउँबाट -याली निकाल्ने हुँदा बिहानैदेखि सवारी आवागमन असहज हुनसक्ने कार्यालयको ठहर छ ।
ट्राफिक प्रहरीका अनुसार, रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन असहज हुनेछ । त्यस्तै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, बानेश्वर क्षेत्रका सडकमा पनि सवारी आवागमन अस्तव्यस्त बन्नसक्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी व्यवस्थापनका लागि एक हजार ८०० ट्राफिक प्रहरी खटाउने तयारी कार्यालयको छ । आवश्यकताअनुसार विभिन्न सडकबाट सवारी डाइभर्सन गर्ने प्रहरीको तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच