
नमागिएको सल्लाह:
‘हामीलाई भगाएर पठाएको यो तेस्रो ठाउँ हो, अछूत भनेर समाजले हामीलाई भगाइ रहन्छ, हामीलाई कसैले मान्छे गन्दैन, धेरै बोल्दा हामीलाई झन् समस्या हुन्छ, हामीलाई बोल्न नलाउँनुस् ।’ यो भनाइ सिरहामा पुराण लगाउने स्थलको पवित्रता कायम गर्न भन्दै घर भत्काएर विस्थापित बनाइएका दीपक मलिक डोमकी पत्नी अनिता मलिक डोमको हो । एकसाता पनि भएको छैन, सिरहा जिल्लाको औरही–५ मा पुराण आयोजना गर्नका लागि महायज्ञ स्थल बनाउने भनेर प्रधानमन्त्री आवास कार्यक्रमले बनाइदिएको दलित परिवारको घर गाउँपालिका अध्यक्षसमेतको अगुवाइमा डोजर लगाएर भत्काइयो । भत्काएरमात्र प्रयोजन पूरा नभएर आयोजक बजरंगी बाबाको आग्रहमा घर रहेको स्थानको माटोसमेत अपवित्र हुने भनेर खनेर फालियो ।
यो घटनामा स्थानीय अगुवा प्रहरी प्रशासन मौन रहे । जब मूलधारका पत्रिकाबाट यो विषय सार्वजनिक भयो अनि सरोकारवालाहरूमा एक किसिमको पराकम्प गयो । पुराण आयोजनाका लागि उत्प्रेरित गर्ने बजरंगी बाबा भूमिगत भए, गाउँपालिका अध्यक्ष र वडाध्यक्ष कानुनी हिरासतमा छन् । हिरासत मुक्तिका लागि सम्बन्धित पार्टीहरू राजनीतिक दबाब बनाउनमा व्यस्त छन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको विषय पनि सार्वजनिक भएको छ । अब प्रसंग सुरु गरौं आफ्नो पिरमर्का कसैसँग भन्न पनि डराइरहेकी, भरे के होला, भोलि के होला भन्ने सोचाइका कारण भयातुर बनेकी अनिताको भनाइबाट । नेपालको संविधान पढ्दा लाग्दछ नेपालमा जस्तो नागरिकलाई इज्जत र सम्मान गर्ने संविधान संसारमा कमै होलान् ।
पञ्चायती शासन व्यवस्थाका दलित मोहडा थिए मन्त्री हीरालाल विश्वकर्मा । मन्त्री हुँदा पनि उनीमाथि हुनेगरेको छोइछिटोका बारेमा धेरै चर्चा गरिन्थ्यो । वर्तमान संविधानले दलितका लागि सरकारी सेवालगायतका क्षेत्रको जागिरमा आरक्षणको व्यवस्था गरेको छ । धेरै दलित नागरिकहरू सरकारी सेवाको उच्च तहमा पुगिसकेका छन् ।
सम्मानपूर्वक बाँच्ने हक, समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक जस्ता राम्रा शब्दावली छन्, के नै कमी छ र संविधानमा । लेखेरमात्र नहुने रहेछ, जबसम्म समाजका बहुसंख्यक व्यक्ति, समूह, समुदायले यसलाई स्वीकार गर्दैनन्, मनसा आत्मसात् गर्दैनन् त्यस्ता लेखोटहरू कागजका खोष्टा सावित हुने रहेछन् भन्ने उदाहरण बनेको छ यो घटना । अनिता, दीपकको घर भत्काइएको छ, जबर्जस्ती खुशीराजीको कागज गराइएको छ, अगुवाहरूले भनेको स्थानमा गएर बसेका छन् । उजुरबाजुर कतै गरेका छैनन् तर राति सुतेपछि बिहान देख्न पाइएला नपाइएला भनेर पिरोलिनु परेको छ ।
कल्पना पनि गर्न सकिन्न एक्काईसौं शताब्दीको विश्वमा यस्तो कुकर्म होस् । कान्तिपुर जस्तो सञ्चारमाध्यमले यो विषय सार्वजनिक नगरेको भए सामन्तहरूको प्रयास सफल हुने थियो । दीपक अनिताको, सरकारले बनाइदिएको घर भत्काउँनेहरू फूलमाला खादाले सजिसजाउ भएर प्रसाद ग्रहण गरेर महापुण्य कमाएको भ्रममा छाती फुलाएर शहर चोकमा थप वर्चस्वशाली बन्ने थिए ।
शृंखलाबद्ध अत्याचार:
सिरहामा नै रिंकु कुमारी सदालाई सामूहिक बलात्कारपछि आत्महत्या गर्न बाध्य बनाइएको घटना सेलाउन नपाउँदै र रिंकुका परिवारले न्यायको अनुभूति नगर्दै यो घटना भएको छ । यस्तो जघन्य घटनामा पञ्चायती गरेर पीडकहरूसँग मोटो रकम लिएर स्थानीय मुखियाहरूले लगभग असी प्रतिशत रकम बाँडीचुँडी गरेको र पीडितलाई बीस प्रतिशत रकम दिने निर्णय गरेको घटनाबाट समाज कति अत्याचारी बनेको छ भन्ने प्रमाणित भएको छ । विसं २०७३ मा गैरदलित युवतीसँग विवाह गरेका र विवाह टुटेपछि झुण्डिएको अवस्थामा धादिङको जंगलमा फेला परेका काभ्रे पाँचखालका अजित मिजारको घटना पनि दलितप्रति परिवार र समाजले गर्ने गरेको नराम्रो व्यवहारको उदाहरण हो ।
२०७७ सालमा चौरजारीमा प्रेमिका लिन ६ जना साथीसहित गएका नवराज विकको विभत्स हत्याको जति भत्र्सना गरे पनि पुग्दैन । बैतडीमा प्रकाश दमाईं टेलरकी आमाको मृत्यु हुँदा कथित माथिल्लो जातका गाउँलेले मदत नगर्दा लास उठ्न सकेन । मन्दिर छिर्न नदिने, पाइपको लाइन काटिदिने, अलग धारा र कुवा बनाउने, घर भाडामा नदिने, दिए पनि दलित भन्ने थाहा भएपछि निकालिदिने, घरमा सरसफाइको काम, नवजात बच्चा र सुत्केरीलाई तेल लाउने काममा नराख्ने, कम्पनीको जागिरमा पनि सकभर दलित राख्न नपरे हुने भन्ने सोचाइ राख्ने घटनाहरू हरेक दिन भइरहेकै छन् । थोरैमात्र सार्वजनिक हुन्छन् । अरू सम्झौता र पीडामा चलिरहेकै छन् ।
संघीय शासन प्रणाली अवलम्बन गरेको वर्तमान नेपालमा त यस्तो बेहाल छ भने पहिलेको राजाकालीन समयमा कस्तो दुर्दशा थियो होला सहजै अनुमान लगाउँन सकिन्छ । धर्म र वंशपरम्परामा चल्ने शासन त दलितहरूका लागि कालरात्रि जस्तै हो । कथित राजावादीको आन्दोलन दलितहरूका लागि त महाप्रतिगमन हो । पञ्चायती शासन व्यवस्थाका दलित मोहडा थिए मन्त्री हीरालाल विश्वकर्मा । मन्त्री हुँदा पनि उनीमाथि हुनेगरेको छोइछिटोका बारेमा धेरै चर्चा गरिन्थ्यो । वर्तमान संविधानले दलितका लागि सरकारी सेवालगायत क्षेत्रको जागिरमा आरक्षणको व्यवस्था गरेको छ । धेरै दलित नागरिकहरू सरकारी सेवाको उच्च तहमा पुगिसकेका छन् । बैंकिङ सेवामा पनि उल्लेखनीय बढोत्तरी भएको छ । सञ्चार क्षेत्रमा संख्यात्मक र गुणात्मक उपस्थिति बढेको छ । गणतन्त्रले केही गरेन भन्नेहरूका लागि संघीय शासन व्यवस्थाअन्तर्गत भएको दलित वर्गको सवलीकरण गतिलो जवाफ हो ।
पिता परमेश्वरले रोग निको पार्नेलगायत भ्रम छरेर ग्रामीण क्षेत्रमा हिन्दु धर्मबाट अर्को धर्ममा धर्मान्तरण गर्ने काम अभियानकै रूपमा भइरहेको छ । राज्य संयन्त्र यसमा चनाखो छैन नै । हिन्दु धर्मका ठेकेदार हुँ भन्नेहरू पनि स्टण्टबाजीमा र लोभ मोहमा फसेका कारण सबैभन्दा पुरानो सनातन धर्म बेवारिस बन्ने अवस्थामा पुग्नलागेको छ ।
पुण्य के हो र ?
महर्षि वेदव्यासले भन्नुभएको छ ‘परोपकार पुण्याय पापाय परपीडनम् ।’ वेदका अनुसार व्यक्तिलाई सुख र स्वर्ग प्राप्त हुने असल कार्यबाट प्राप्त सत्वगुणयुक्त कर्म पुण्य हो । वेदको अनुसार कर्मले नै भाग्यको निर्धारण गर्दछ । सत्य, इमानदारी, दया र प्रेमलाई सत्वगुणको रूपमा लिइएको छ । पुण्यको उदाहरणका रूपमा अरूलाई सहयोग गर्नु, दान दिनु, इमानदार रहनु, अरूप्रति दयालु रहनुलाई मानिएको छ । वेदमा पुण्यकर्म गर्नाले स्वर्गको प्राप्ति हुने भनेर बताइएको छ । केही मान्यता अनुसार अग्निहोत्रादि यज्ञकर्मलाई पनि पुण्यकर्म बताइएको छ । यसलाई स्वर्ग प्राप्तिमा सहयोगी र चित्त शुद्धिकारक मानिएको छ । श्रुति, स्मृति, आगम, बौद्ध सबै सम्प्रदायमा पुण्यको महŒव छ । स्वर्ग प्राप्तिका लागि सहयोगी हुने सत्वबहुल कर्मलाई पुण्य भनिएको छ । पुण्यलाई नैतिक आचरणसँग जोडिएको छ । आफ्नो धर्म र कर्तव्यको समुचित पालना धर्म हो भनिएको छ ।
मनुस्मृतिमा भनिएको छ: धृति स् क्षमा दमोद्रस्तेयं शौचमिन्द्रिय निग्रह स् । धीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणम् ।। धैर्यवान्, क्षमाशीलता बँनु, दम, उद्दण्ड नबन्नु, चोरी नगर्नु, आहार र शारीरिक शुद्धता, इन्द्रियनिग्रह, विषयलाई राम्रोसँग बुझ्ने, धर्म, अर्थ, काम, मोक्षको ज्ञाता, सत्यवादिता, अक्रोध यी दश गुणलाई धर्म भनिएको छ, पालना गर्नु पुण्य प्राप्ति गर्नु हो । हिन्दुग्रन्थले गरेको पुण्यको व्याख्याको आलोकमा सिरहामा गर्ने भनेको विष्णु पुराणको तयारीलाई हेरौं । के यसले परोपकार गरेको छ ? यो कर्म सत्वबहुल छ ? यसमा मनुस्मृतिमा उल्लेख गरिएका कुनै धर्मका लक्षण छन् ? स्थान छनौटमै ‘पापाय परपीडनम्’को अनुसरण गरेको छ । दलित परिवारलाई थातथलोबाट उठीवास गराएको छ ।
वेदले अरूलाई सहयोग गर्नु, अरूप्रति दयालु रहने कर्म गर्नुलाई पुण्य भनेको छ । जब कि डोम परिवारलाई थप पीडा दिइएको छ, दयालुभाव किन्चित देखिँदैन थप धम्की दिएर मुखमा बुजो लगाउने प्रपञ्च गरिएको छ । मनुस्मृतिमा बताइएका दश गुणका ठीकविपरीत काम भएका छन् । यज्ञको तयारीमै यस्तो विकृति थियो भने यो सम्पन्न हुँदासम्म धेरै गरिबहरूमाथि सामन्त मुखियाहरूको रवाफमा थप बढोत्तरी हुने अवस्था बन्नेथियो भनेर सहजै अनुमान गर्न सकिन्छ । माथिका सत्गुण नभएको अग्निहोत्रादि कर्मले पुण्य त होइन सहभागीलाई पापको झोली बोकाउने निश्चित थियो ।
विभेद धर्म नभई अधर्म हो
हिन्दु धर्ममा कथित दलितका कारण धेरै हिन्दु धर्मावलम्बीलाई पीडित बनाएको छ । दलित र गैरदलित सामन्ती युगमा सामन्तहरूले आफूलाई ठालु देखाउन चलाएको कुप्रथा हो, यो कुप्रथाले संस्कारको रूपमा मानिसको दिमागमा जरा गाड्यो । दलित दलितबीचमै तिमीभन्दा म ठूलो भन्ने विभेदको सिर्जना ग¥यो । केही संस्कृतमा लेखिएका विभेद जनाउने श्लोकका कारण अल्पज्ञानीहरूले छुवाछूतलाई अगालिरहे, अँगालिरहेका छन् । यो कुप्रथाका कारण धेरै दलित धर्मान्तरण गर्न बाध्य भए । हेपाहा व्यवहार, अर्को धर्मवालाको प्रलोभन र भ्रममा परेर धर्मान्तरणको लहर चलिरहेको छ । यसमा हिन्दु धर्मका संरक्षक हुँ भन्नेहरूले धार्मिक सम्मेलनको आयोजना गरेर मानिसको मनबाटै यस्तो विकृत सोचका उन्मूलन गर्न अनिवार्य भइसकेको छ ।
पिता परमेश्वरले रोग निको पार्नेलगायत भ्रम छरेर ग्रामीण क्षेत्रमा हिन्दु धर्मबाट अर्को धर्ममा धर्मान्तरण गर्ने काम अभियानकै रूपमा भइरहेको छ । राज्य संयन्त्र यसमा चनाखो छैन नै । हिन्दु धर्मका ठेकेदार हुँ भन्नेहरू स्टन्टबाजीमा र लोभ मोहमा फसेकाले सबैभन्दा पुरानो सनातन धर्म बेवारिस बन्ने अवस्थामा पुग्नलागेको छ । यसैको फाइदा उठाइरहेका छन् विविध नामधारी बाबाहरू र तिनलाई समर्थन गर्ने नेपाली समाजका सामन्तहरू । धर्म र पुण्यको नाममा दलित–दलितबीचको र दलित गैरदलितबीचको विभेद धार्मिक सांस्कृतिक प्रदूषणको नमुना हो । यो नेपालको संविधान र प्रचलित कानुनविपरीत मात्र होइन मानवताविपरीत छ ।
यसको उन्मूलन जतिसक्यो चाँडो गरिनुपर्दछ । कागजको अक्षरमा मात्र यसको उन्मूलन गर्न नसकिने उदाहरण प्रशस्त भएकाले यस्तो कुप्रथाको उन्मूलन हरेकको मन, मष्तिष्कबाट गर्न अनिवार्य छ । यसका लागि कानुनको पालना नगर्ने सबैलाई कानुनी सजायको भागीदार बनाइनुपर्दछ । यसमा राजनीतिक र कुनै पनि दबाब गर्ने, अपराधीलाई भरथेग गर्नेउपर झन् कडाइकासाथ प्रस्तुत हुने परिपाटीको विकास अनिवार्य छ । अन्यथा हाम्रो समाज कहिल्यै पनि सभ्य समाज बन्न सक्ने छैन ।
मार्च २१, एक साताअगाडिमात्र नेपाललगायत विश्वका धेरै देशहरूले अन्तराष्ट्रिय जातीय उन्मूलन दिवस मनाइरहँदा नेपालमा समाजका अगुवाहरू नै अन्धविश्वासको जालोले अन्धो बनेर डोम परिवारमाथि अत्याचार गरिरहेका थिए । यस्तो निन्दनीय अत्याचारलाई भरथेग र सहयोग गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याइनुपर्दछ । भोलिका दिनमा राज्यले यस्तो कुकर्म गर्न कसैलाई नछोड्ने रहेछ भन्ने सन्देश दिन आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच