
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर समाजवादी मोर्चा, नेपाल र राजसंस्था पुनःस्थापना गर्ने अभियानमा लागेका राजावादीहरू आज एकैदिन काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित एकीकृत समाजवादी र नेकपालगायत मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने तय भएको छ । भृकुटीमण्डपमा मोर्चाले शक्ति प्रदर्शन गरिरहँदा केही किलोमिटरको दूरीमा रहेको तीनकुनेमा राजावादी समूहले शक्ति प्रदर्शन गर्दै छ । चैतको चर्कँदो घाममा एकैदिन दुई पक्षको विरोध प्रदर्शनबाट उपत्यका अस्तव्यस्त हुने भएको हो । सानो जात्रा मात्र हुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने काठमाडौंमा दुई ठाउँमा जुलुस निकाल्दा जनसाधारणले सास्ती पाउने निश्चित छ ।
प्रदर्शनलाई ध्यानमा राखेर प्रहरीले सुरक्षा रणनीति बनाएको छ । दुई फरक समूहले एकैदिन एक–अर्कोलाई आरोप प्रत्यारोप गर्दै गर्न लागेको प्रदर्शनमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको हो । राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शनलाई लक्षित गरेर साढे दुई हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । प्रदर्शनलाई हेरेर थप सुरक्षाकर्मी खटाइने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
दुवै समूहको कार्यक्रम हुने समयभन्दा केही अघिदेखि नै उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखिन्छ । त्यसैले प्रहरीले शुक्रबार काठमाडौंमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाउन लागेको छ । प्रहरीले शुक्रबार निषेधित क्षेत्र, सरकारी भवन, नारायणहिटी दरबार क्षेत्रलाई विशेष ध्यान दिएर सुरक्षा रणनीति बनाएको छ । केही दिनअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा बैठक बसेको थियो ।
शुक्रबारको कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा खटिनेछन् । त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पनि बाक्लो संख्यामा ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । दुई समूहले हजारौँ मानिस सडकमा आउने दाबी गरिरहेका छन् । यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रममा १५ हजारसम्म मानिस सहभागी भएको सुरक्षा निकायको रिपोर्टिङ थियो ।
प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो। दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन्।
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रदर्शनलाई मध्यनजर गर्दै कार्यक्रम स्थल तोकिएको र सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ । ‘दुई फरक समूहको प्रदर्शन शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरी कार्यक्रम स्थल, र्यालीका लागि प्रयोग गरिने रुट फरक पारी सभास्थलको सुरक्षा व्यवस्था चुस्त पारिएको छ’, उहाँले भन्नुभयो।
गणतन्त्र पक्षधर समाजवादी मोर्चाले विभिन्न आठ रुट माइतीघर मण्डला, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतिदेवीबाट र्यालीसहित प्रदर्शन गर्दैछ। उनीहरुको कोणसभा भृकुटीमण्डपमा हुनेछ।
र्याली र प्रदर्शन हुने क्षेत्रमा यात्रा नगर्न र यात्रा गर्नुपर्ने वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। काठमाडौंका सिडिओ तिवारीले भने, ‘हामीले सुरक्षा व्यवस्थापनको लागि पूर्ण तयारी गरेका छौँ। एकीकृत रुपमा सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन, व्यवस्थापनका लागि समन्वय गरेका छौं। कुनै पनि अप्रिय घटना हुन नदिन, ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गको प्रयोग गर्ने लगायतका व्यवस्थापन हुन्छ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच