‘पलेँटी’ मा गुञ्जिँदै कालीप्रसाद रिजाल र आभास

हिमालय टाइम्स

काठमाडौं । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार तथा शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’ मा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सिर्जनाकर्मी आभासबीच सहकार्य हुनेभएको छ । कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धुन र स्वरसहित मार्च २८ र २९ अर्थात् चैत १५ गते शुत्रबार तथा १६ गते शनिबार ‘पलेँटी’ मा प्रस्तुत हुँदै हुनुहुन्छ ।

लामो समयपछि आफू गीतकारका रूपमा विशेष श्रोताहरूबीच आउन लागेकामा आफू बच्चाझैँ रमाइरहेको रिजालले सुनाउनुभयो । ‘नयाँ गीत लेखिरहेकै थिएँ तर चित्तबुझ्दो संगीतकार आभासजीलाई पाएपछि म सहकार्य गर्न उत्सुक भएको हुँ’, गीतकार रिजाल भन्नुहुन्छ, ‘पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग म जोडिएको थिएँ तर यसपटकको सहकार्य म आफैंलाई विशेष लागिरहेको छ ।’

विसं १९९६ मा धनकुटामा जन्मनुभएका रिजाल कवि–लेखकहरूलाई भेट्ने लालसामा २०१३ सालमा कलेज पढ्न काठमाडौं आउनुभयो । ‘बालकृष्ण समसहितको निर्णायक मण्डलीबाट अन्तर–कलेज प्रतियोगितामा मेरो कविता प्रथम भयो,’ रिजाल सम्झिनुहुन्छ, ‘तर पछि मैले लेख्नै छोडेको थिएँ । एक दिन मेरो अफिसमा नारायणगोपाल आएर गीत लेख्नुहोस् भनेपछि मैले गीत लेख्न थालेँ ।’ यसरी गीतकार बन्नुभएका रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्यो जिन्दगी, यसै गरी बिताइदिन्छु, माया गर्नेको चोखो माया जस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए । यी सदाबहार गीत पनि यसपटकको पलेँटीमा प्रस्तुत हुनेछन् । यसैगरी अम्बर गुरुङले संगीत गर्नुभएका दुई गीत कहिँ आफ्नै भूमरीमा र अर्को एक रमाइलो गीत पनि पलेँटीमा प्रस्तुत हुनेछ ।

२० वर्षदेखि पलेँटी संयोजन गर्दै आउनुभएका आभास यसपालि संगीतकार र गायकका रूपमा पलेँटीमा प्रस्तुत हुँदैछन् । रिजालका आठ नयाँ गीतमा उहाँले धुन भर्नुभएको छ । ‘गीति सिर्जनालाई कविताका रूपमा सम्मान गर्ने रिजाल जस्ता गीतकार जो अहिले पनि लेखिरहनुभएको छ तर संगीत भइरहेका छैनन् भने त्यो एकदम ननिको कुरा हो भन्ने मलाई लाग्यो,’ आभास भन्नुहुन्छ, ‘अनि मैले उहाँका नयाँ गीतमा धून भर्ने प्रयास गरेँ ।’

नारायण गोपालको रोजाइका गीतकार रिजालसँग सहकार्य गर्न पाउँदा आफूलाई रमाइलो लागेको आभासले बताउनुभयो । ‘काली दाइलाई संगीतको पनि ज्ञान छ, साहित्य त हुने नै भइहाल्यो,’ आभास भन्नुहुन्छ, ‘साहित्य र संगीतबीच दूरी बढ्ने होइन, घट्ने हुनुपर्छ र सहकार्यबाट मात्र सार्थक संगीत सृजना हुन्छ ।’

पलेँटीकै क्रममा रिजालका नयाँ र पुराना गीत र कविताको संग्रह ‘केही मीठो बात गर’ पुस्तक पनि लोकार्पण हुनेछ । पुस्तकमा रिजालमा नयाँ र पुराना २० कविता संगृहीत छन् । यसैगरी उनका नयाँ र पुराना ६८ गीत पुस्तकमा समेटिएका छन् । रिजालका पुराना लोकप्रिय गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले गाउनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?