
काठमाडौं । राजा फर्काउने माग राखेर आजबाट सुरु भएको राजावादीको संयुक्त जनआन्दोलन पहिलो दिनमै अशान्तिपूर्ण र हिंसात्मक बनेको छ ।
राजावादीको आन्दोलनका क्रममा आज तीनकुनेमा भएको झडपका क्रममा पत्रकारसहित २ जनाको मृत्यु भएको छ भने कम्तीमा २२ जना सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर छ ।
प्रहरीको गोली लागेर मृत्यु हुनेमा कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जन छन् भने अर्का एक जना एभिन्युज टिभीका पत्रकार सुरेश रजकको जिउँदै जलेर मृत्यु भएको छ । उनी घरको छतबाट आन्दोलनको दृष्य कैद गर्दै थिए । त्यसक्रममा अचानक घरमा आगजनी भएपछि उनी बाहिर निस्किन भ्याएनन् । उनी जिउँदै जल्न विवस भए । आगजनी राजावादी आन्दोलनकारीले गरेका थिए ।
राजावादी आन्दोलनकारीले निजी घर, पार्टी कार्यालय र सञ्चारमाध्यमको कार्यालयका भौतिक संरचनामा पनि क्षति पुर्याएका छन् । उनीहरुकाे निसानामा मुख्य गरी मिडिया हाउसहरु, पत्रकार परेका छन् । पत्रकारहरुमाथि हातपातदेखि सञ्चार गृहमाथि पनि आक्रमण भएका छन् ।
अन्नपूर्ण र कान्तिपुर टेलिभिजनका कार्यालयमा आक्रमण भएका छन् । केही सरकारी गाडीमा आगजनी भएका छन्। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट र आलोकनगरमा एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड भएको छ ।
कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ । त्यहाँ आधा दर्जन जति गाडी जलेका छन् । राजावादी समूहले तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले उक्त क्षेत्रमा तैनाथ दिइरहेका छन् । जडीबुटी कारखानाकाे आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
विहान तिनकुनेमा निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि स्थितिलाई सामान्य बनाउन सुरक्षाकर्मीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।
त्यसै बेला प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेका थिए । त्यो निजी गाडी आन्दाेलनका कमाण्डर बनाइएका दुर्गा प्रसाईंले नै चलाएका थिए । गाडी चलाउँदै प्रदर्शनकारीलाई अझ उत्तेजित पार्दै उनले प्रहरीको घेरा तोडेका थिए । त्यसपछि सुरक्षाकर्मीले हवाइ फायर गरेकाे थियाे । त्यसपछि स्थिति अझ बिग्रिएको थियो ।
यता गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको ठहर गरेकाे छ ।
शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगामी दिनमा सरकार संयमित भएर नबस्ने बताउनु भयो ।
उहाँले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताउनु भयो ।
आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । उहाँले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताउनु भयो । उहाँका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहति ३० जना घाइते भएका छन् । त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उहाँले बताउनु भयो ।
सरकारले यसो भनिरहँदा दुर्गा प्रसाईंले भने आज भएको अप्रिय अवस्था आउनुमा सरकार जिम्मेवारी रहेको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईंले भन्नुभएको छ, 'हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ?'
साथै प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने समेत बताउनु भएको छ । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सुचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ती हैन बिचार हो, अभियान हो ।’
‘हामी बैदिक बिधी पुर्वक पुजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तीपुर्ण रुपमा कार्यक्रम स्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उहाँले लेख्नुभएको छ, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तीपुर्ण रुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन रु जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपुर्ती सरकारले व्यहोर्नु पर्नेछ ।’
राजावादी प्रदर्शन उग्र भएपछि आज साँझ काठमाडौं प्रशासनले कर्फ्यु आदेश नै जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच