काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्लिएका मानिस देखेर हौसिएका राजावादी काठमाडौंको तीनकुनेमा तितरवितर भएका छन् । राजसंस्था पुनःस्थापना गर्न ‘निर्णायक आन्दोलन’मा होमिएका राजावादीहरूको पहिलो दिनको प्रदर्शन नै हिंसात्मक बनेपछि आफैं रक्षात्मक बनेका हुन् ।
व्यवस्था परिवर्तन गर्न भन्दै शुक्रबार तीनकुनेमा भेला भएका पूर्वराजा समर्थकले उत्पात मच्चाएपछि राजावादीको भागाभाग भएको हो । शान्तिपूर्ण हुने भनिएको आन्दोलन अराजनीतिक, अमानवीय र असंवेदनशील बनेपछि उनीहरू जिम्मेवारी लिन छोडेर तितरवितर भएका हुन् । प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट मच्चाएपछि आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाईं नै अहिले लुकेर बस्नुपरेको छ । राजतन्त्र फर्काउन संघर्ष समिति नै बनाएर आन्दोलन थाल्नेहरूको वास्तविक चरित्र र अनुहार पहिलो दिन चैत उदांगो भएको टिप्पणी भइरहेको छ । आन्दोलनको नाममा राजावादीहरूले
काठमाडौंमा अराजकता मच्चाएपछि पछिल्लो समय अलिकति सहानुभूति बटुलेका स्वयं पूर्वराजा शाहलाई पनि नराम्रो धक्का लागेको छ ।
पूर्वाराजाको समर्थन र शुभेक्षामै आन्दोलन भएको भन्दै उहाँलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । सरकारसहित सत्ता र प्रतिपक्षी दलहरूले अब पूर्वराजाका अराजक गतिविधिमा नियन्त्रण गर्नुपर्ने आवाज उठाउन थालेका छन् । विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले शुक्रबारको भीडलाई उत्तेजित र अराजक बनाउनमा पूर्वराजा शाहको भूमिका रहेको आरोप लगाएका छन् । सरकारले पनि आन्दोलन हुनुअघि पूर्वराजाले आफ्नै निवासमा प्रसाईंलाई भेट्न बोलाएर आन्दोलनको डिजाइन गरेको आरोप लगाएको छ । आर्थिक स्रोतसम्म पनि जुटाइदिएको भन्दै छानविन हुनुपर्ने गणतन्त्र पक्षधर नेताहरूले बताइरहेका छन् ।
गत फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई स्वागत गर्न ठूलो भिड जम्मा भएको थियो । त्यसअघि गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले जारी गरेको वक्तव्य र स्वागतमा उत्रिएको भिड देखेर राजावादीहरू हौसिएका थिए । तर, पूर्वराजाको स्वागतमा आएकाभन्दा एक तिहाइ कम मानिसमात्रै सहभागी तीनकुनेको विरोध प्रदर्शनले राजावादीहरूको आन्दोलन नै तुहिने बाटोमा गएको विश्लेषण भइरहेको छ ।
राजावादीको पहिल्यै दिनको आन्दोलनले राप्रपामा बिग्रहको बिउ रोपेको छ । राजसंस्थाको पुनःस्थापनाको उद्देश्य बोकेको राप्रपामा स्पष्ट दुई धार देखिएको छ । मिश्र, राणालगायत नेताहरू अन्तिम लडाइँको मोर्चाको नेतृत्व जसले गरे पनि सहभागी हुने पक्षमा देखिए । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष भने राजनीतिक पार्टीले नै अभियानको नेतृत्व लिनुपर्ने पक्षमा उभिएका छन् । उनीहरू विरोध सभामा पनि सहभागी भएका थिएनन् ।
शुक्रबारको आन्दोलनमा राजावादीहरूले प्रहरीको हातको बन्दुक खोस्नेदेखि निजी घरहरूमा ढुंगामुढा र आगजनी गर्ने, सवारीसाधन जलाउने, राजनीतिक दलका कार्यालय र मिडिया हाउसमा तोडफोड गर्ने तथा पसलमा लुटपाट गर्ने कुकृत्य गरेका थिए । राजावादीको अनियन्त्रित आन्दोलनमा समाचार संकलन गर्न गएका एक पत्रकारसहित दुईजनाले ज्यानसमेत गुमाएका थिए । शुक्रबार नै भृकुटीमण्डपमा पनि समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा जुलुस प्रदर्शन गरेको थियो । तीनकुनेमा जम्मा भएका राजावादीभन्दा भृकुटीमण्डपमा उपस्थित गणतन्त्रवादीको समूह निकै ठूलो थियो । तर, राजनीतिक समूहको प्रदर्शन भएकाले त्यो शान्तिपूर्वक सम्पन्न भएको थियो ।
धमाधम पक्राउ पर्दै राजावादी
काठमाडौंको तीनकुनेमा शुक्रबार अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । सुरक्षा संयन्त्रले राजावादीको हिंसात्मक गतिविधिलाई सिसीटिभी फुटेजको आधारमा निगरानी गर्दै पक्राउ गरेको हो । सिसीटिभी फुटेजको निगरानीका आधारमा शनिबार अबेरसम्म करिब डेढ सयजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
भिडलाई भड्काउने, तोडफोड गर्ने समूहका मान्छेलाई खोज्ने काममा प्रहरी जुटेको छ । उनीहरूलाई पक्राउ गर्न काठमाडौंमा ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । भीडलाई अराजक बनाएको आरोपमा शुक्रबार राति नै प्रहरीले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित पाँच नेतालाई पक्राउ गरेको थियो । उनीहरू राजावादीको प्रदर्शनका नाममा भएको हिंसात्मक गतिविधि गर्ने भूमिकाको मतियार रहेको आरोपमा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रो र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
यसैगरी, आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुंगा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै, शुक्रबार भएको राजावादीहरूको प्रदर्शनलाई हिसांत्मक बनाउन भूमिका खेलेको आरोपमा मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । राजभण्डारी रोयल टास्क फोर्सका कमाण्डर हुन् । प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो । उनी नेपाली सेनाका पूर्वक्याप्टेन पनि हुन् ।
पत्रकार हत्या र मिडियामाथिको आक्रमणको चर्को विरोध
राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको मृत्यु भएपछि सञ्चार सम्बद्ध संघसंस्थाले चर्को विरोध जनाएका छन् । नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा आन्दोलनका कार्यक्रम नै तय गरेको छ । महासंघको शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनाबद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको हो ।
महासंघले शनिबार क्षति पु-याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गरेको छ । यस्तै, महासंघले आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आहृवान गरेको छ । सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत महासंघले गरेको छ ।
यस्तै, मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, परिवारसँग छलफलगरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र बैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ ।
शुक्रबार राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर रजकको ज्यान गएको थियो । पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा महासंघले शनिबार देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।
यसैगरी, मिडिया एलायन्सले पनि पत्रकारको निधन र मिडियामाथि भएको आक्रमणको घटनामा विरोध जनाएको छ । सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण एक होनहार युवा पत्रकारको अवसान भएकोमा दुःख व्यक्त गर्दै मिडिया एलायन्सले घटनाको घोर निन्दा गरेको छ । घटनाको गम्भीर र निष्पक्ष अनुसन्धान गर्न एलायन्सले जोडदार माग गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले पनि घटनाको विरोध गरेको छ ।
महासंघले घटनाको छानबिन गरी दोषी उपर कानुनी कारबाही र पीडित परिवारजनलाई उचित क्षतिपूर्ति दिन सरकारलाई अनुरोध गरेको छ । स्वतन्त्र प्रेसलाई सम्मान गर्न, पत्रकारहरूलाई निर्वाध रूपमा रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सरकार, आन्दोलनकारीलगायत सबै पक्षलाई महासंघले आग्रह गरेको छ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले पनि घटनाको विरोध गरेको छ । प्रतिष्ठानले सबै प्रकारका समस्याहरूको समाधान तत्काल वार्ता र संवादको माध्यमबाट खोज्न अपिल गरेको छ । यसैगरी मिडिया र पत्रकार सम्बद्ध अन्य थुप्रै संघसंस्थाले घटनाको कडा शब्दमा विरोध गरेका छन् ।
यसैबीच, पत्रकार सुरेश रजकका परिवारले गृहमन्त्री रमेश लेखकसमक्ष तीनवटा माग अघि सारेका छन् । एभिन्युज टिभीको कार्यालय पुग्नुभएका गृहमन्त्री लेखकसमक्ष उनीहरूले पत्रकार रजकलाई शहीद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र छानविन गरी दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।
कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु अनुपयुक्त : थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार भएको राजवादीहरूको हिंसात्मक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्नु अनुपयुक्त र अनावश्यक भएको बताउनुभएको छ । उहाँले हिंसा, अराजक वा आपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाललगायत सबैको तत्काल रिहा गर्न माग गर्नुभएको हो ।
‘हिजोको घटना वा कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ,’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले पार्टी कार्यालय, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय भएको पनि बताउनुभएको छ । कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने बताउनुभएको छ ।
तोडफोड तथा आगजनीमा पूर्वराजालाई नमुछ्न जनआन्दोलन समितिको आग्रह
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शुक्रबारको तोडफोड तथा आगजनीमा पूर्वराजालाई मुछ्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ ।
‘होम एरेष्ट’मा रहनुभएका सुवेदीले शनिबार बिहान विज्ञप्ति जारी गर्दै तीनकुनेमा आयोजना गरिएको सभा संघर्ष समितिका पदाधिकारी र नेताहरू मञ्चमा पुगेर सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण बिथोलिएको दाबी गर्नुभएको छ । जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा नचल्ने उहाँको भनाइ छ । आन्दोलन जारी रहेको बताउँदै उहाँले कसैबाट धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी पनि दिनुभएको छ । सुवेदीलाई स्वास्थ्य र उमेरका कारण प्रहरीले शुक्रबार साँझबाट घरमै नजरबन्दमा राखेको छ ।
रवीन्द्र र धवललाई रिहा गर्न राप्रपाको अल्टिमेटम
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई नेतासहित पक्राउ परेकालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनका रूपमा उठाएर लैजाने निर्णय बैठकले गरेको छ । राप्रपाले तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको दाबीसमेत गरेको छ । घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने राप्रपाको ठहर छ । अध्यक्ष लिङ्देनले आन्दोलन भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गर्नुभयो ।
‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भन्नुभयो, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो ।’ शान्तिपूर्ण सभा चलिरहेको मञ्चमा सुनियोजित रूपम घरमाथिबाट अश्रुग्यास प्रहार भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो दिन प्रतिकार गर्न कार्यकर्तालाई आहृवान गरेको भन्दै त्यसबाट पनि प्रधानमन्त्री नै हिंसा भड्काउने पक्षमा रहेको भन्ने पुष्टि हुने उहाँको भनाइ छ । ‘प्रधानमन्त्रीले अघिल्लो दिन प्रतिकार गर्न आहृवान गर्नुभो । उहाँ त्यहाँ हिंसा भड्काउने पक्षमा हुनुहुन्थ्यो भन्ने यसबाट पनि प्रष्ट हुन्छ,’ उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण सभा चलिरहेको मञ्चमा सुनियोजित रूपमा घरबाट पहिले नै सुरक्षाकर्मी त्यहाँ बसेर टियर ग्यास फ्याँकिएको छ । त्यसबाट पनि सरकार त्यो बिथोल्न चाहन्थ्यो, प्रदर्शनलाई भड्काउन चाहन्थ्यो भन्ने देखिन्छ ।’
राप्रपाले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुईजनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवैजनालाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ लिङ्देनले भन्नुभयो । राप्रपा पुनःस्थापनाको आन्दोलन भने निरन्तर जारी रहने उहाँले बताउनुभयो । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा आफूहरूले नैतिक समर्थन गरेको उहाँले स्मरण गर्नुभयो ।








समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर