‘संसारको जुनसुकै कुनामा जाँदा पनि हामी बुद्ध जन्मेको देशका हौं भन्दा जति गर्विलो महसुस हुन्छ भनेरमात्र अब पुग्दैन, वास्तवमै गर्व गर्न अन्तर्राष्ट्रियस्तरमा बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गरी बढीभन्दा बढी पर्यटक भित्र्याउन हाम्रो भूमिका अहं हुनुपर्छ ।’
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि सम्झौता भएको छ । काठमाडाैंस्थित सचिवालयमा आयोजित कार्यक्रमबीच एनआरएनए र नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एनआरएनए अध्यक्ष डा. बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदिप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हस्ताक्षर गरेका छन् ।
एनआरएनएका अनुसार विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मस्थल विश्वसम्पदा सूचीमा सूचीकृत रूपन्देहीस्थित लुम्बिनी सांस्कृतिक नगरपालिका, बुद्धले आफ्नो जीवनको झण्डै २९ वर्ष व्यतित गरेको कपिलवस्तुको तिलौराकोटस्थित कपिलवस्तु नगरपालिका तिलौराकोट, बुद्धको मामाघर रूपन्देहीको देवदह नगरपालिका र नवलपरासीस्थित बुद्धको अष्टधातु रहेको रामग्राम नगरपालिकाको पर्यटकीय प्रवर्द्धन र विकास सम्झौताको मुख्य उद्देश्य रहेको छ ।
अन्तर्राष्ट्रियस्तरमा शान्ति, सद्भाव प्रवद्र्धन गर्न, नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन एनआरएनए र स्थानीय सरकारबीचको सहकार्य सुदृढ बनाई बुद्ध धर्मको उद्गम भूमि लुम्बिनीले बोकेको परम्परागत संस्कृति र शान्तिको दर्शन अन्तर्राष्ट्रियस्तरमा पुर्याई बलियो बनाउने संयुक्त प्रयासका रूपमा उक्त सम्झौतालाई लिइएको छ । साथै बुद्ध धर्मको भावनामार्फत् नेपाल र विश्वभर शान्ति र भाइचाराको सिद्धान्त सञ्चार गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ । कार्यक्रममा एनआरएनए अध्यक्ष केसीले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल, शान्तिभूमि धार्मिक एवं पर्यटकीय क्षेत्र बुद्ध परिपथका चार नगरपालिका र एनआरएनएबीच संस्थागतरूपमै सम्बन्ध कायम भएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, ‘संसारको जुनसुकै कुनामा जाँदा पनि हामी बुद्ध जन्मेको देशका हौं भन्दा जति गर्विलो महसुस हुन्छ भनेरमात्र अब पुग्दैन, वास्तवमै गर्व महसुस गर्न हामीले अन्तर्राष्ट्रियस्तरमा बुद्धको जन्मभूमि लुम्बिनीको प्रचार गरी बढीभन्दा बढी पर्यटकलाई भित्र्याउन हाम्रो भूमिका अहं हुनुपर्छ ।’ लुम्बिनीको विकासका लागि संसारभरका बौद्ध धर्मावलम्बीहरू एकजुट हुने भन्दै आफूहरूले केन्द्र सरकारसँग थुप्रै काम गरेको र अझै कतिपय काम पाइपलाइनमै रहेकाले स्थानीय सरकारसँग मिलेर एनआरएनएले अझ धेरै काम गर्न सक्ने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । हरेक गैरआवासीय नेपाली पर्यटकीय सद्भावनादूत भएको भन्दै अध्यक्ष डा. केसीले भन्नुभयो, ‘हाम्रा ८७ वटा राष्ट्रिय समन्वय परिषद् (एनसिसी) छन्, म सरकारसँग आग्रह गर्छु, ती ८७ वटै एनसिसीका अध्यक्षलाई सरकारले पर्यटकीय सद्भावनादूत बनाओस्, ता कि नेपालको पर्यटन प्रवद्र्धनमा हरेक गैरआवासीय नेपाली सहभागी बन्न सकोस् ।’
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्र्रुवप्रसाद खरेलले लुम्बिनी प्रदेशमा चारवटा ऐतिहासिक स्थानलाई विश्व बजारमा चिनाउन र जोड्न एनआरएनएले गरेको पहलको प्रशंसा गर्दै भन्नुभयो, ‘तपाईहरूमार्फत् बुद्ध परिपथभित्रका ऐतिहासिक भूमिलाई विश्वमाझ चिनाउन थप हौसला मिलेको छ, खुसी लागेको छ, यसका लागि तपाईंहरूलाई धन्यवाद ।’
कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले लुम्बिनी क्षेत्रको विकासका लागि एनआरएनएले सुरु गरेको नयाँ आयामले मूर्तरूप लिने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘हामीलाई गर्व लागेको छ कि विभिन्न कारणले विश्वका विभिन्न स्थानमा पुगेका नेपालीहरूले मातृभूमिलाई चिनाउन हरसम्भव प्रयास गरिरहेका छन्, हामीसँग काँधमा काँध मिलाएर हाम्रा सपना पूरा गर्ने अवसर जुराउनुभएको छ, त्यसमा हामी आभारी छौं ।’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको भनाइ उद्धृत गर्दै प्रशासकीय प्रमुख कृष्ण सापकोटाले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि भएको समझदारीले समग्र लुम्बिनी प्रदेशको विकासमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए र चार पालिकाबीचको सहकार्यले विश्वस्तरमा बौद्ध भूमिसहित पर्यटकीय क्षेत्रको प्रचार र अन्य प्रचुर सम्भावना पनि उजागर गर्ने र चार पालिकामा रहेका पर्यटकीय एवं धार्मिक स्थलको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र पालिकाको विकासका लागि असल अभ्यास, अनुभव आदानप्रदान र पर्यटन एवं संस्कृति प्रवद्र्धन, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र खेलकुदलगायतका क्षेत्रको विकासमा सहकार्य हुने उहाँको भनाइ थियो ।
त्यसैगरी रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले एनआरएनएसँगको सहकार्यले लुम्बिनी विकासको सपना पूरा गर्ने र पर्यटकीय प्रचारप्रसारमा सघाउ पुग्ने आशा राखेको भन्दै नेपालको प्रचारप्रसारमा ८७ वटा देशका गैरआवासीय नेपालीले पर्यटकीय दूत बनेर सहयोग गर्न आहृवान गर्नुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेलले गैरआवासीय नेपालीहरू नै विदेशमा नेपाल चिनाउने सच्चा दूत भन्दै नेपालको पर्यटकीय विकास र प्रवद्र्धनका लागि सरकार सहकार्य गर्दै अघि बढिरहेको र आगामी दिनमा थप व्यवस्थितरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्यटनका माध्यमबाट नेपालको विकास र समृद्धिमा सघाउ पुर्याउने गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण भन्दै विश्वका विभिन्न ३१ शहरमा पर्यटन दूत नियुक्त गरिएको र आगामी दिनमा एनआरएनए, केन्द्र र स्थानीय सरकार मिलेर काम गर्न सके फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यसअघि कार्यक्रममा एनआरएनए उपसचिव तथा पर्यटन प्रवद्र्धन कमिटीका संयोजक सोम सापकोटाले बुद्ध परिपथको महान् अभियान पूरा गर्न एनआरएनएले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको थियो । एनआरएनएले स्थापनाकालदेखि नै नेपाललाई विश्व बजारमा चिनाउन आफ्नो स्थानबाट काम गर्दै आएको स्मरण गराउँदै उहाँले स्थानीय तहसँग संस्थागतरूपमै मिलेर काम गर्न सम्झौता गरिएको बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘विदेशमा बसेर हामीले हाम्रो पर्यटकीय क्षेत्रको विकास, प्रचारप्रसारका लागि महत्वपूर्ण पुलको काम गरिरहेका छौं र अब यसलाई संगठितरूपमा अघि बढाउन यस सहकार्यले अहं भूमिका खेल्ने विश्वास छ र हामी बुद्ध, बुद्धत्व र नेपाललाई चिनाउन प्रतिबद्ध छौं ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दिपक काफ्ले, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी सांस्कृतिक नगरपालिकाका रामप्रसाद ज्ञवाली, एनआरएनए सल्लाहकार टिबी कार्कीलगायतको उपस्थिति रहेको बताइएको छ ।







टेनिस युगका अन्तिम सम्राट जोकोभिचको
मेसीको सम्मानमा एक मिनेट खेल
युरोपेली फुटबल : पिएसजी र
सलहेशलाई ताप्लेजुङ गोल्डकपको उपाधि
विपत्तिमा बालबालिकाको शिक्षा र सुरक्षालाई
एसियाड तयारीका लागि पौडेल र