
सर्लाही । देशकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा यस वर्ष आँप र लिची फूल राम्रो फुुलेको छ । वर्ष बिराएर फल्ने यी फलहरू यस वर्ष बगैँचा व्यवस्थापन समयमा गरेको कारणले यसपालि धेरै बोटमा फूल फुलेको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले बताउनुुभयो । बागवानी केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष फलफूलको ठेक्का उच्च मूल्यमा लाग्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा आँपको ठेक्का १० लाख १४ हजार ५५१ रुपैयाँमा बिक्री भएको थियो भने लिचीको ठेक्का सात लाख ९४ हजार रुपैयाँमा लागेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा केन्द्रले आँपमा ३७ लाखमा ठेक्का आहृवान गरे पनि व्यवसायीले बोलपत्र स्वीकार गरेपछि सम्झौता गर्न नआउँदा, केन्द्र आफैंले अमानतमा आँप बेच्दा ५१ लाख ४२ हजार ४५५ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । लिचीको ठेक्का प्रक्रियाबाट आठ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको केन्द्रले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा आँपको उत्पादन राम्रो नभएकाले केन्द्रले मात्र दुई लाख ५० हजार रुपैयाँको ठेक्का लगाउन सकेको थियो । तर, लिचीको ठेक्का भने ११ लाख चार हजार रुपैयाँमा बिक्री गरिएको केन्द्रले जानकारी दिएको छ । त्यसको पछिल्लो वर्ष २०७९/०८० मा आँपको ठेक्का ऐतिहासिकरूपमा उच्च मूल्यमा बिक्री भएको छ । सो वर्ष आँपको ठेक्का एक करोड ११ लाख ६० हजार रुपैयाँमा लगाइएको थियो, जुन २०२९ सालमा स्थापना भएको बागवानी केन्द्रको इतिहासमै सबैभन्दा ठूलो रकम हो ।
यद्यपि उच्च रकममा ठेक्का लागे पनि ठेकेदारले हालसम्म १६ लाख ५० हजार रुपैयाँ भुक्तानी नगरेको बागवानी निमित्त केन्द्रका प्रमुख रामकुमार यादवले बताउनुभयो । केन्द्रले पटक-पटक पत्राचार गर्दै भुक्तानीको पहल गरे पनि सो रकम असुल हुन नसकेको केन्द्रले जनाएको छ । यस समस्यालाई मध्यनजर गर्दै बागवानी केन्द्रले ठेक्का प्रणालीमा सुधार ल्याएको छ । त्यस वर्ष लिची भने १४ लाख ७० हजार ठेक्कामार्फत् बिक्री भएको केन्द्रले जानकारी दिएको छ ।
विगतमा व्यक्ति वा समूहले ठेक्का लिने व्यवस्था रहेकामा आर्थिक वर्ष २०८०/०८१ बाट भने विगतका वर्षहरूबाट पैसा नउठ्ने समस्याले गर्दा अबदेखि संस्थाहरू वा कम्पनीहरूलाई ठेक्का दिने तरिका लागू गरिएको केन्द्रले जनाएको छ । यस नयाँ तरिकाले गर्दा भुक्तानीको ग्यारेन्टी हुुने र त्यसका लागि बैंक जमानतमार्फत् मात्र ठेक्का लगाउने व्यवस्था गरिएको छ । यस प्रणालीले बक्यौता तथा बेरुजु समस्या न्यूनीकरण गर्ने र राजस्व संकलनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको निमित्त केन्द्रका प्रमुख रामकुमार यादवले बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले आँप २१ लाख ११ हजार रुपैयाँमा र लिची २७ लाख १५ हजार रुपैयाँमा ठेक्कामार्फत् बिक्री गरेको छ । लिची हालसम्मकै धेरै मूल्यमा बिक्री भएको केन्द्रले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष आँप र लिचीमा राम्रो फूल फुलेकाले ठेक्का मूल्य बढ्ने केन्द्रले अपेक्षा गरेको छ । केन्द्र प्रमुख रामकुमार यादवका अनुसार यस वर्ष लिचीको ठेक्का ३० लाख रुपैयाँभन्दा माथि पुग्ने अनुमान गरिएको छ । त्यस्तै, आँपको ठेक्का ८० लाख रुपैयाँको हाराहारीमा रहने सम्भावना रहेको केन्द्रको भनाइ छ । हालसम्म मौसम अनुकूल रहँदै आएको र फूल राम्रोसँग फुलेकाले राम्रो मूल्यमा ठेक्का लाग्ने अपेक्षा गरिएको केन्द्रले जानकारी दिएको छ । यदि हावाहुरी, असिना, भारी वर्षा वा रोगबाट बाली सुरक्षित राख्न सकियो भने ठेक्का मूल्य अझ बढ्न सक्ने केन्द्रले जनाएको छ ।
यस वर्ष लिची उत्पादन राम्रो हुनुमा मौरीको विशेष योगदान रहेको उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले जनाएको छ । फूल फुल्ने समयमा मौरीहरूले परागसेचन गरेकाले उत्पादनमा वृद्धि हुने केन्द्रको भनाइ छ । यसका साथै मौरीपालक किसानहरूसमेत नजिकै पर्याप्त चरन क्षेत्र पाउँदा निकै खुसी भएका छन् । माहुरीको उचित व्यवस्थापनका कारण लिची उत्पादनमा सकारात्मक प्रभाव परेको बाली संरक्षण अधिकृत सुनिलकुमार चौधरीले बताउनुभयो । चौधरीका अनुसार आँप र लिचीको राम्रो उत्पादनका लागि बगैंचा व्यवस्थापन महत्वपूर्ण हुन्छ । समयमा गोडमेल, मलखाद तथा सिँचाइ व्यवस्था गर्दा यस वर्ष राम्रो उत्पादन हुने उहाँको भनाइ छ ।
केन्द्रका अनुसार यदि बगैंचाको उचित व्यवस्थापन र परागसेचनलाई ध्यान दिइयो भने आगामी वर्षहरूमा उत्पादन अझ वृद्धि हुन सक्ने भएकाले यस विषयमा केन्द्रले काम गरिरहेको चौधरीले बताउनुुभयो । उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा विभिन्न प्रजातिका आँप र लिचीको व्यावसायिक उत्पादन भइरहेको छ । केन्द्रका अनुसार बगैंचामा आठ प्रकारका लिची प्रजातिहरू रहेका छन्, जसमा शाही, मुजÇफरपुर, सिडलेस, अली लार्ज रेड, चाइना, बम्बई, कलकतिया, मेक्लिनलगायतका ६२१ लिचीका बोट केन्द्रमा रहेका छन् । त्यस्तै, केन्द्रमा विभिन्न प्रकारका आँपका बोटहरू रहेका छन्, जसमध्ये अम्रपाली, मलिका, बम्बई, मालदह, कलकतिया, दशहरी, जर्दा, अमन दशहरी, नीलम, रत्ना, स्वर्णरेखा, अबेहयातलगायतका जातहरू मुख्य हुन् । नेपाल, भारत, पाकिस्तान, अमेरिका तथा थाइल्याण्डका विभिन्न ३५ प्रजातिका आँपहरू यस बगैंचामा लगाइएको छ । केन्द्रका अनुसार हाल ६ हजार आँपका बोट रहेका छन् । नयाँ तथा उच्च बजार मूल्य भएका जातहरूको पनि प्रवद्र्धन भइरहेको छ । हाल विश्व बजारमा सबैभन्दा महँगो मूल्य पाउने आँप मिया जाकी (जापानी आँप) देखि पुसा अरुणिमा, अलफान्सो, काटीमोनलगायतका प्रजातिहरूसमेत केन्द्रमा रोपण गरिएको छ । केन्द्रले यी उच्च गुणस्तरका जातहरूको व्यावसायिक उत्पादनलाई प्रवद्र्धन गर्दै भविष्यमा थप नयाँ जातहरू समावेश गर्ने योजना बनाउँदै गरेको केन्द्रका निमित प्रमुख यादवले जानकारी दिनुभयो ।
देशकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरको प्रभावकारी सञ्चालनका लागि सुरक्षासम्बन्धी चुनौतीहरू समाधान गर्नुपर्ने आवश्यकता रहेको केन्द्रले बताएको छ । हाल बगैंचाभित्र करिब तीन-चार सय नीलगाई र चार-पाँच सयको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ, जसले बालीमा ठूलो क्षति पु¥याउँदै आएका छन् । यी वन्यजन्तुहरूले फलफूलका बिरुवा नष्ट गर्ने तथा उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको बागवानी केन्द्रले जनाएको छ । त्यस्तै, केन्द्रभित्र २५ हेक्टर क्षेत्रफल वनजंगलले ढाकिएको छ जसमा विभिन्न प्रकारका जंगली बिरुवा तथा बुट्यान छन् । यस क्षेत्रलाई सफा गरी व्यवस्थित गरिएमा बालीमा हुने क्षति कम हुनुका साथै नयाँ जातका बिरुवा रोप्न सहज हुने केन्द्रको भनाइ छ । भित्र रहेको वनजंगलले गर्दा त्यस स्थानलाई नीलगाई र बाँदरले आफ्नो बासस्थान बनाउँदा धेरै समस्या उत्पन्न भएको केन्द्रले जनाएको छ । यस केन्द्रले धेरै पटक नीलगाई धपाउने प्रयास गरे पनि असफल भएको केन्द्रले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच