काठमाडौं । नेपाल आर्मीका द्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो हुनुभएको छ । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो हुनुभएको हो । नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेण्डमा पूरा गर्नुभयो । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेण्ड समयमा दोस्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेण्ड समयमा तेस्रो हुनुभयो । आर्मीका तिलकबहादुर सुनुवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपिएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नबिल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं हुनुभयो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी पूरा गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिनुभयो । ६ घण्टा १३ मिनेट २४ सेकेण्ड समय लगाउनुभएकी खोटाङकी निर्मला राई दोस्रो हुनुभयो । तेस्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेण्डमा दौड पूरा गर्नुभयोे ।
पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही तीन हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । यसअघि प्रतियोगिताको मुख्यमन्त्री लामाले नै उद्घाटन गर्नुभएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनै पनि क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्दै आगामी दिनमा पनि प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै महासंघले खप्तडमा बृहत् अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताउनुभयो । उहाँले त्रिशूली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै अझ बृहत् स्वरूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भई मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो । दौडमा तीन विदेशी खेलाडीसहित १२५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर