✍️ रामबहादुर केसी
नेपालमा सडक दुर्घटना गम्भीर समस्या बनेको छ । हरेक वर्ष हजारौं मानिस सडक दुर्घटनामा परी घाइते वा मृत्यु हुने गरेका छन् । सरकारी निकायका वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक तथा गैरप्राकृतिक विपद्जन्य घटनामा परी २९२८ जनाको मृत्यु भएकोमा २३६९ जना अर्थात् विपद्जन्य घटनामा परी मृत्यु भएकामध्ये करिब ८१ प्रतिशतको मृत्यु सडक दुर्घटनाको कारण भएको तथ्यांक छ । सडक दुर्घटनामा परी मृत्यु हुनेमध्ये करिब ७६ प्रतिशत पुरुष छन् ।
विपद्जन्य घटनामा परी ३३,७३३ जना घाइते भएकोमा सडक दुर्घटनामा मात्र ३२,१५६ जना (गम्भीर घाइते ६,१६० जना र साधारण घाइते २५,९९६ जना) घाइते भएका छन् । कूल सडक दुर्घटना संख्या २२,९२७ रहेकोमा सडक दुर्घटनामा परेका सवारीसाधनको संख्या ३५,४०४ रहेको छ । सडक दुर्घटनामा परेका सवारीसाधनमध्ये करिब ५६ प्रतिशत मोटरसाइकलमात्र रहेका छन् । उक्त आर्थिक वर्षमा सडक दुर्घटनाको कारण करिब ४७ करोड ३७ लाख रुपैयाँ क्षति भएको थियो ।
सवारी दुर्घटनाको अर्को कारण यात्रु रहेका छन् । यसमा यात्रु चढ्दा, ओर्लदा, झुण्डिएर यात्रा गर्दा, छतमा यात्रा गर्दा, शरीरबाहिर निकाल्दा, बाटो काट्दा हुने दुर्घटना पर्दछन् । सडकको अवस्था जस्तै : खाल्टाखुल्टी, निर्माण सामग्री, चिप्लो (मोबिल वा अन्य), घुम्ती, मोड, उकालो-ओरालो, साँघुरो खतरा बाटो, ढल, जीर्ण सडक इत्यादि कारणले सडक दुर्घटना हुने गरेका छन् ।
सडक दुर्घटनामा परी आर्थिक वर्ष २०७९/०८० मा २३२० जना, २०७८/०७९ मा २८८३ जना, २०७७/०७८ मा २६५८ जना र २०७६/०७७ मा २५०० जनाको मृत्यु भएको थियो । पछिल्लो पाँच वर्षको सडक दुर्घटनाको विश्लेषण गर्दा वर्षेनी औषतमा २५४६ जना अर्थात् दैनिक करिब सातजनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको छ । नेपालमा सन् २०१८ देखि २०२४ सम्म ६ वर्षको अवधिमा सडक दुर्घटनामा परी १५१६९ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकले नेपालमा सडक सुरक्षाको अवस्था भयानक र एउटा महामारी रहेको देखाउँदछ । सडक दुर्घटनामा परी मृत्यु भएकाको उमेर समूह विश्लेषण गर्दा सक्रिय उमेर समूहका वयस्क पुरुष धेरै रहेका छन् ।
प्रतिनिधि सभाले गठन गरेको सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमितिको प्रतिवेदन, २०७७ मा उल्लेख भए अनुसार विश्वमा सवारी दुर्घटनामा परी वार्षिक १३ लाखभन्दा बढीले ज्यान गुमाउने गरेका छन् भने दुईदेखि पाँच करोड मानिसहरू घाइते हुने गरेका छन् । सडक दुर्घटना हुनुमा कुनै एक कारणमात्र जिम्मेवार देखिँदैन । सवारी दुर्घटना दिन प्रतिदिन वृद्धि हुँदै गए पनि यसलाई न्यूनीकरण गर्ने प्रयास निकै कमजोर देखिएको छ । हामीसँग भएका सडक सुरक्षासम्बन्धी नीति, नियम र कार्ययोजना कार्यान्वयन हुनसकेका छैनन् र सवारी सुरक्षासम्बन्धी दीर्घकालीन रणनीतिको खाँचो रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को सडक दुर्घटनाको कारण विश्लेषण गर्दा प्रमुख कारण सवारी चालकलाई नै मानिएको छ । सवारी चालकको कारण करिब ८८ प्रतिशत सडक दुर्घटना भएका छन् । यसभित्र चालकको बानी व्यवहार जस्तै : ट्राफिक नियम उलंघन, सडक अनुशासनको अवहेलना, जथाभावी ढोका खोलेको, ओभरटेक, तीव्र गति, चालक निदाएको, मादक पदार्थ सेवन गरेको, मोबाइल फोन प्रयोग गरेको लगायत कारण पर्दछन् । सवारी दुर्घटनाको अर्को कारण यात्रु रहेका छन् । यसमा यात्रु चढ्दा, ओर्लँदा, झुण्डिएर यात्रा गर्दा, छतमा यात्रा गर्दा, शरीर बाहिर निकाल्दा, बाटो काट्दा हुने दुर्घटना पर्दछन् । सडकको अवस्था जस्तै ः खाल्टाखुल्टी, निर्माण सामग्री, चिप्लो (मोबिल वा अन्य), घुम्ती, मोड, उकालो, ओरालो, साँघुरो खतरा बाटो, ढल, जीर्ण सडक इत्यादिको कारणले पनि सडक दुर्घटना हुनेगरेका छन् । हुस्सु, कुहिरो, आँधिबेरी, वर्षा, बाढीपहिरोजस्ता मौसमी अवस्थाले सडक दुर्घटना हुने अवस्था छ । चौपायाको कारणले सडक दुर्घटना भएको तथ्यांक छ ।
नेपाल प्रहरीलगायत विभिन्न निकायबाट प्रकाशित तथ्यांक विश्लेषण गर्दा सडक दुर्घटनाका प्रमुख कारकमा सडक, सवारीसाधन र चालकको अवस्था नै पर्दछन् । सडक दुर्घटना विश्वका धेरै देशको ठूलो समस्याको विषय बनेको छ । विकसित देशभन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुनेगरेको तथ्यांक छ । सडक सुरक्षा अहिले ठूलो चुनौती बनेको छ । दुर्घटनापछि समिति गठन हुने, छानविन प्रतिवेदन बन्ने तर कार्यान्वयन नहुने अवस्था छ । नेपालमा भित्रिने सवारीसाधन र सडक पूर्वाधार विकास तथा व्यवस्थापनबीचमा तालमेल नै छैन ।
नेपालको संविधानले यातायात सुविधामा नागरिकको सरल, सहज, समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी लगानी अभिवृद्धि गर्ने र वातावरण अनुकूल प्रविधिलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई प्रोत्साहन, निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित, अपांगता भएका व्यक्ति अनुकूल बनाउने नीतिगत व्यवस्था गरेको छ । नेपालमा सडक सुरक्षाका साथसाथै सवारी दुर्घटना न्यूनीकरणको विषयलाई सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्थापन ऐन-२०४९, राष्ट्रिय यातायात नीति-२०५८, नेपाल सडक मापदण्ड-२०७०, सार्वजनिक यातायात आचारसंहिता-२०६८, दुर्घटनाको पहिचान तथा उपचार-२०५४ बस बडीविल्डिङ मापदण्ड-२०७४ लगायत नीतिगत तथा कानुनी व्यवस्था गरिएको छ । यी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनु आवश्यक छ ।
नेपालमा यातायात व्यवस्था र सवारी सुरक्षाका लागि यातायात व्यवस्था विभाग, सडक विभाग, यातायात व्यवसायी तथा चालक, स्थानीय तह, नेपाल प्रहरी र यात्रु मुख्य जिम्मेवार पक्ष हुन् । यी सबै पक्षले आ-आफ्नो जिम्मेवारी समन्वयात्मक तरिकाले कार्यान्वयन गर्नुपर्दछ । सडक सुरक्षाका पाँच खम्बामा सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक तथा आवागमन, सुरक्षित सवारी, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको सेवा पर्दछन् । यी खम्बाहरू सबल र सुदृढ हुनेगरी काम गर्न आवश्यक छ । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक व्यवस्थापनमा सुधार गर्नु आवश्यक छ । ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्ने, सिसीटिभी क्यामेरा, स्पिड गन तथा अन्य प्रविधिको प्रयोग गर्ने र ट्राफिक प्रहरीको संख्या वृद्धि एवं दक्षता अभिवृद्धि गर्नेतर्फ ध्यान दिनुपर्दछ । त्यसैगरी सडक पूर्वाधार सुधारमा ध्यान दिनु उत्तिकै महत्वपूर्ण छ । साँघुरा तथा जोखिमयुक्त सडक सुधार तथा विस्तार गर्ने, सडक संकेत (साइनबोर्ड), स्ट्रिट लाइट, स्पिड बम्प आदिको प्रभावकारी व्यवस्था गर्ने, अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रको पहिचान र सुधार गर्नुपर्दछ ।
नेपालमा सडक दुर्घटना कम गर्न सरकार, ट्राफिक प्रहरी, चालक, यात्रु, सडक निर्माण निकाय तथा आमनागरिक सबैको समान उत्तरदायित्व रहन्छ । नियमको कडाइका साथ कार्यान्वयन, प्रविधिको प्रयोग, पूर्वाधार सुधार र सचेतनाले मात्रै नेपालमा सुरक्षित सडक यात्रा सम्भव हुनेछ ।
सचेतना अभिवृद्धि र सवारी चेकजाँचलाई प्रभावकारी बनाउनु जरुरी छ । चालकहरूलाई कडाइकासाथ सवारी अनुमतिपत्र परीक्षा लिने, नियमित रूपमा सवारीसाधनको प्राविधिक चेकजाँच गर्ने र दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ जोड दिनु आवश्यक छ । दुर्घटना न्यूनीकरणका लागि प्रविधिको उपयोग गर्नु आवश्यक छ । जिपिएस प्रणाली र डिजिटल ट्राफिक व्यवस्थापन लागू गर्ने, सार्वजनिक यातायातमा स्मार्ट कार्ड प्रणाली लागू गर्ने एवं अत्याधुनिक सवारीसाधन र अटोमेटेड ब्रेकिङ सिस्टमको प्रवद्र्धन गर्नेजस्ता उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
विकसित तथा केही विकासशील मुलुकहरूले सडक दुर्घटना न्यूनीकरणका लागि अत्याधुनिक प्रविधि र नवीन अवधारणा अपनाउँदै आएका छन् । यी प्रविधिले दुर्घटनाको रोकथाम, दुर्घटनापछि तुरुन्तै सहायता तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पु¥याइरहेका छन् । यस आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित ट्राफिक निगरानी प्रणाली, स्मार्ट सिग्नल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, ड्राइभर मोनिटरिङ सिस्टम, ऊर्जा उत्पादनका लागि सोलार प्यानलयुक्त सडक निर्माण, स्मार्ट रोड मार्किङ, ड्रङ्क ड्राइभिङ डिटेक्टर, इ–कल सिस्टम, ड्रोन र एआइ–आधारित आपत्कालीन सेवा, स्वचालित बस तथा कारलगायत पर्दछन् । यी नवीन प्रविधि नेपालमा पनि क्रमशः लागू गर्न सकिन्छ । सवारी दुर्घटना एक जटिल र प्राविधिक विषय भए पनि यसको न्यूनीकरण गर्न विभिन्न निकाय प्रयासरत छन् । सवारी दुर्घटना केवल प्राविधिक विषयमात्र नभई मानवअधिकार, उपभोक्ता अधिकार तथा सामाजिक, आर्थिक विषय पनि हो । सडक दुर्घटना शून्यमा ल्याउन नसकिए तापनि विभिन्न उपायमार्फत धेरै हदसम्म कम गर्न सकिन्छ । सवारी दुर्घटना कम गर्न चालकको योग्यतासँगै दायित्व तोक्ने कानुनको खाँचो छ । दुर्घटनाबाट हुने क्षति कम गर्नु राज्यको दायित्व हो ।
नेपालमा सडक दुर्घटना कम गर्न सरकार, ट्राफिक प्रहरी, चालक, यात्रु, सडक निर्माण निकाय तथा आमनागरिक सबैको समान उत्तरदायित्व रहन्छ । नियमको कडाइका साथ कार्यान्वयन, प्रविधिको प्रयोग, पूर्वाधार सुधार र सचेतनाले मात्रै नेपालमा सुरक्षित सडक यात्रा सम्भव हुनेछ । सडक दुर्घटनाले अक्सर आर्थिक क्रियाकलापमा संलग्न जनशक्तिलाई असर पार्ने भएकाले दिनानुदिन राज्यले उत्पादनशील नागरिक गुमाइरहेको वा उनीहरूलाई क्षमताविहीन बनाइरहेको छ । दुर्घटनोपछिको उद्धारका लागि जनशक्ति, उपकरण, अन्य साधनको अभावले दुर्घटनाबाट ज्यान जानेको संख्या बढ्दै गएको पाइन्छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सवारी सुरक्षासम्बन्धी नीति निर्माण, कार्यान्वयनको जिम्मेवारी संघ, प्रदेश र स्थानीय सरकारको साझा विषय हो । नागरिकको सुरक्षित यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्न कानुनी सुधार, सडक प्रयोगकर्तालाई सडक शिष्टाचार बारे सचेतना अभिवृद्धि गर्न जरुरी छ । (केसी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत उपसचिव तथा प्रवक्ता हुनुहुन्छ ।)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम