
काठमाडौं । संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीहरूलाई वैशाख २१ गतेसम्म रिहा नगरे सामूहिक गिरफ्तारीको चेतावनी दिनुभएको छ । समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. गुरुङले भन्नुभयोे, ‘यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ ।’ गुरुङले वैशाख २१ गतेसम्म नवराज सुवेदीको नजरबन्द फुकुवा र अरू राजावादी प्रदर्शनकारीहरूको मुद्दा खारेज गरेर रिहाइ नगरिए २२ गतेबाट आन्दोलनको नयाँ अध्याय सुरु गर्ने उहाँले बताउनुभयो । ‘२२ गते तीनकुनेमा शहादत प्राप्त भएका वीर शहीदको रगत लत्पतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिनेछौँ । हामी ज्यानको माया मारेर अगाडि बढ्नेछौँ । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को-को आउनुहुन्छ आउनुहोस्,’ उहाँले भन्नुभयोे । उहाँले आफ्नो समूहका सबै सदस्यलाई रिहा नगरे आफू सबैभन्दा अगाडि उभिएर सामूहिक गिरफ्तारीमा सहभागी हुने बताउनुभयो । शक्ति प्राप्तिका लागि राजावादी नेताहरूले मन्दिरमा साधना गरिरहेको उहाँले बताउनुभयो । ‘शक्ति साधना नगरेसम्म सत्ता प्राप्ति हुँदैन । अहिले हामी चुप लागेर बसेका छैनौँ,’ उहाँले भन्नुभयो । तीनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेको भन्दै उहाँले यसको खण्डन गर्नुभयो । ‘राजावादी डराएर भागे भन्ने हल्ला फैलिएको छ । राजा अब आउँदैन भन्ने छ,’ उहाँले भन्नुभयोे, ‘तर, त्यो होइन । हामी आन्दोलनमै छौँ । पछि हटेका छैनौँ ।’
राजावादी आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : लोहनी
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिनुभएको छ । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न सरकारलाई आग्रह गर्नुभएको हो । ‘अब संघर्ष गर्ने समय आएको छ । रावण प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो । अन्तिममा गएर संघर्ष गर्नुप¥यो’ उहाँले पौराणिक प्रसंग जोड्दै भन्नुभयो, ‘संघर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो ।’ नेता लोहनीले राज्यको क्रूरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिनुभयो । ‘नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्यतथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ, उनीहरूलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा संघर्षसिवाय अर्को उपाय छैन’ उहाँले भन्नुभयोे, ‘संघर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ ।’ लोहनीले पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने दाबी गर्नुभयो । ‘राप्रपाले भनेको छ हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर, शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ । अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन’ उहाँले भन्नुभयो, ‘हामी अगाडि बढ्छौँ ।’ नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उहाँको जिकिर थियो ।
तीनकुने घटनामा पूर्वराजामाथि अनावश्यक लाञ्छना : थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छना लगाउने कार्य गरेको भन्दै स्वीकार्य नहुने बताउनुभएको छ । बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको आरोप लगाउनुभएको हो । लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनको निमित्त गणतन्त्रवादी दलहरू लागिपरेको समेत उहाँको आरोप छ । राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैँका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उहाँको अपिलसमेत छ । अध्यक्ष थापाले केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै त्यो प्रयास सफल हुन नदिने बताउनुभयो । उहाँले सत्तामा आफ्नो वर्चस्व कायम गर्न र ब्रहृमलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको आरोप लगाउनुभयो ।
तीनकुने घटनाबारे नागरिकस्तरमा छानविन आयोग गठन
राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको घटनाबारे छानविन गर्न नागरिक स्तरमा छानविन आयोगको गठन गरिएको छ । वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरिएको हो । चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका नाममा जनप्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दाबी आन्दोलनकारीले गरेका छन् । सरकार र राष्ट्रिय मानव अधिकार आयोगले समेत यो विषयमा उदासीनता देखाएपछि नागरिकस्तरमा आयोग गठन गरिएको हो । नागरिक समाजका विशिष्ट व्यक्ति तथा संघ संस्थाहरूको सामूहिक प्रस्तावमा गठन गरिएको नागरिक छानविन आयोगका सदस्यहरूमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानव अधिकारको क्षेत्रबाट डा. ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल रहनुभएको छ । उक्त आयोग गठनका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङ, राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्ट, पर्यटन व्यवसायी समाजसेवी भरत बस्नेत, किशोरी महतो, प्राडा. रत्नकमल वैद्य, रमा सिंह, अस्मिता भण्डारी, पूर्वप्रशासक हरिबहादुर बस्नेतलगायत ३९ संघसंस्था तथा प्रबुद्ध व्यक्तिहरूका तर्फबाट प्रस्ताव गरिएकोमा काठमाडौंमा बुधबार सम्पन्न एक भेलाले पारित गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच