
काठमाडौं । गीतकार टीका भट्टराई नेपालको गीतसंग्रह ‘माटोको सुगन्ध’ लोकार्पण गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा बिहीबार संघकै सभाहलमा एक विशेष समारोहबीच वरिष्ठ गायिका तथा संगीतकार मीरा राणाको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार संघका सल्लाहकार तथा अमर भावना राष्ट्रिय स्रष्टा सम्मान अक्षय कोषका संरक्षक गीतकार अमर वान्तु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अनेसास ट्रष्टकी पूर्वअध्यक्ष साहित्यकार गीता खत्री, वरिष्ठ संगीतकार राजु सिंह र गीतकार रविन्द्र आशिष शैलीको विशेष आतिथ्यता थियो ।
संस्थाका आजीवन सदस्य सञ्चारकर्मी हरिराम पौडेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा टीका भट्टराई नेपालले स्वागत मन्तव्य राख्दै छैटौं कृति पाठकमाझ ल्याउँदाका अनुभव सुनाउनुभएको थियो । उहाँले आफू मोफसलमा रहेर साहित्य सिर्जना गरिरहेको भए पनि गीतकार संघले आफूलाई स्नेह गरिरहेको बताउनुभयो ।
स्रष्टा टीकाका विषयमा लेखनाथ पुस्तकालय भद्रपुरका कार्यवाहक अध्यक्ष खगेन्द्रा खुसीले भनाइ राख्दै उहाँ बहुआयामिक व्यक्तित्व रहेको चर्चा गर्नुभएको थियो । कृतिको समीक्षात्मक टिप्पणी राख्दै गीतकार संघका पूर्वसचिव सुशीला पौडेलले यस गीतसंग्रहमा विविधता रहेको भन्दै यसमा आममानिसका साथै माटो र राष्ट्रका गीत रहेको चर्चा गर्नुभएको थियो ।
साहित्यकार अचुत घिमिरे, आलेख साहित्यिक मासिकका सम्पादक केशव आचार्यका साथै प्रमुख अतिथि र विशेष अथितिहरूले आ-आफ्ना भनाइ राख्दै स्रष्टा भट्टराईलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँहरूले स्रष्टा भट्टराईको ऊर्जाशील लेखन कार्य निरन्तर रहोस् भन्दै कामना गर्नुभएको थियो ।
संघका अध्यक्ष तथा सभाध्यक्ष थापाले मोफसलमा रहेर पनि भट्टराईले निरन्तर आफूलाई लेखन कार्यमा सक्रिय राख्नु आफैंमा गौरवको विषय भएको भन्दै संघले केन्द्रमा मात्र नभएर मोफसलका साथै विदेशमा रहनुभएका गीतकारहरूलाई संगठित गरिरहेको बताउनुभयो । उहाँले आफ्नो सिर्जनाको संरक्षण, हक अधिकारका लागि सदैव सचेत रहन स्रष्टा सर्जकलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार उत्तम केसी, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, वरिष्ठ रेडियोकर्मी धन लामा, संस्कृतिविद् जितेन राई, साहित्यकार राजबाबु श्रेष्ठ सागर, गीतकार प्रमोद ढुंगाना, आशबहादुर तामाङ, दिलिप योञ्जन, भरत बम्जन, राम भट्टराई, एलएन ठूले राई, बालक गुरुङ, रचना प्रसाईं, नारायणकुमार आचार्य, प्रमोद भट्टराई ‘प्रतीक’, तुलसी गिरी भावुक, सुशीला बराललगायतका व्यक्तित्वको बाक्लो उपस्थिति थियो ।
झापाको कनकाइ नगरपालिका-३ मा जन्मिएर त्यही क्षेत्रलाई कर्मथलो बनाउनुभएकी सर्जक भट्टराईका गीतहरूमा नेपाली चेलीहरूको कथाव्यथाको कारुणिक उद्बोधन झल्किन्छ भने उहाँका कतिपय गीतहरू मनमुटु र देशप्रेमले ओतप्रोत छन् । बिहीबार लोकार्पण भएको कृति उहाँको छैटौं गीतिसंग्रह हो । यस संग्रहमा १११ वटा गीत संग्रहित छन् । उहाँका केही गीत देशका विभिन्न गायकगायिकाको स्वरमा सजिएका छन् भने श्रोता/दर्शकको रोजाइमा पर्न सफल भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच