✍️ सुरेशकुमार भट्ट
यो उपकथा २०/२१ सालतिरको हो । एक जना हात ठाडे बाबा हाम्रा गाउँको चारधारे धारापानी, पँधेरा छेउ जलकन्याको मन्दिर तलको चउरमा धुनी जगाएर छाप्रा हालेर बस्न थाले । एक हात निरन्तर ठाडै राख्ने गरेकाले ऊनलाई सबैले ‘ठाडे बाबा’ भनेर सम्बोधन गर्ने गर्दथे ।
उनले धेरै वर्षअघिदेखि एक हात ईश्वरलाई दिएकाले सधैँ ठाडै राख्ने गरेकोले सुक्दै गएको र तल नआउने बताउँथे । ठाडे बाबा आइमाईले बुनेको गुन्द्रीमा नसुत्ने नबस्ने भन्थे । आइमाईले पकाएको दिएको नखाने । अनि भन्थे आइमाई सबै आमा हुन् त्यही मर्यादाका लागि कुनै पनि आइमाईको मुखमा नहेर्ने । हरेक आइमाई भगवती हुन् । यिनलाई अन्यथा सोचियला भनेर मन बाँध्न मुखमा नहेर्ने संकल्प गरेको हुँ । जजसले भग धारण गर्दछन् ती सबै भगवती हुन् । भगवान् उनका सहाय हुन् । यसो भन्थे ठाडे बाबा ।
करिब दुई महिना त्यहीँ कुटी बनाएर बसिरहे । आइमाई केटाकेटी रात दिनै एक्लै वा साथमा पँधेरामा पानी भर्न जानुपर्ने हुँदा ती ४०/४५ उमेरका लक्का जवान जोगी बाटैमा रहने भएकोले र सो पँधेरा आसपासमा घरहरू नभएको र एकान्तहुँदा साँझबिहान छोरी मान्छेहरू पँधेरा जान डराएकाले पल्लो चौतारा एकले पिपल वा अन्यत्र कुटी बनाई बस्न ठाडे बाबालाई भनियो । बरू हामी गाउँले मिलेर कुटी बनाइदिन्छौँ भने । बाबाले सुनीमात्रै रहे बोलेनन् । त्यसको भोलि पल्ट ठाडे बाबा कता गए थाहा भएन । त्यहाँबाट हराए । केही दिनपछि थाहा भयो उनी भुजुगे लामा गाउँमा गएर कुटी बनाएर बसेका रहेछन् ।
एकदिन एकजना मान्छे आँबुतिर घर बताउँदै लामा कान्छाको घरमा सोध्दै आइपुगे । मनकौरीमात्र घरमा थिइन् । सोधखोजपछि माइती गाउँको भन्ने कुरा थाहा पाइन् । लोकले भन्छ माइती गाउँको त कुकुर पनि प्यारो हुन्छ चेलीलाई । माइती गाउँको सबै कुरा मनकौरीले सोधिन् ।
भुजुगेका लामा कान्छा कहिले गोरु लिएर चितवन बेच्न लाने, कहिले तोरी टिप्न खेतालाका लागि मान्छे लिएर जाने कहिले खेत रोप्ने खेतालाका लागि मान्छे लिएर जाने गर्दथे । यसरी आउने जाने गर्दा लामा कान्छा छिम्केश्वरीको काखमा पर्ने भकागेकै बाटो जाने आउँने गर्दथे । बास बस्नुपर्दा गुरुङकै घरमा बस्थे । ज्यानी घर पँधेरानेर झन् मलाई सजिलो । लामा कान्छा एकाघरका जहान जस्तै भइसकेका थिए । त्यसैले चितवन आउँदा-जाँदा बास बसेको र बारम्बार भेट भएकाले लामा कान्छाले मनकौरीलाई सल्लाहले नै ठेकी लगाएरै दुलही बनाई विवाह गरी ल्याएका थिए । गाउँलेले कछाडतिरबाट पो बिहा गरी ल्यायो लामा कान्छाले यता केटी नै नभए जस्तो गरेर पनि भने ।
लामा कान्छा आफ्नो व्यापार/व्यवसायमा गइरहने भएकाले र छोरा छोरी पनि आआफ्ना एक एकवटा इलिममा कोही गोठालो कोही घाँसपात वनवनेलीमा, कोही खेतालो जाने भएकाले मनकौरीमात्रै एकलै घरमा हुनी घरधन्दा गर्ने बस्ने गर्थिन् । लामा कान्छाको घर बाटोमाथि एकलो थियो । बाटोमुनि अलिपर दुई-तीन घर थिए । कुनै पनि घरमा दिनमा मान्छे हुँदैनथे । सबै काम काममा जान्थे ।
मूलबाटाको माथि पँधेरानिर माथिल्लो गरामा कुटी बनाएर ठाडे बाबा बसेका थिए । लामा कान्छाको घरबाट सिधैं त्यही गराको डिलडिलै आएर धारामा पानी भर्नुपथ्र्यो । आजभोलि गर्दागर्दै सातआठ महिना बितिसक्यो । ठाडेबाबा बिहानमा गाउँमा घुम्थे र मध्यदिनमा कुटीमा आएर फेरि मध्यान्हीमा नुहाउँथे र भोजन जे मिल्थ्यो त्यही खाएर बस्थे । गाँजा खानेहरू साँझको समयमा कोही लिएर आउँथे कोही खान आउँथे तर मध्याहृनको समय कोही हुँदैनथ्यो ठाडे बाबा एक्लै पल्टिरहेका हुन्थे धुनीको छेउमा ।
एकदिन एकजना मान्छे आँबुतिर घर बताउँदै लामा कान्छाको घरमा सोध्दै आइपुगे । मनकौरीमात्र घरमा थिइन् । सोधखोजपछि माइती गाउँको भन्ने कुरा थाहा पाइन् र प्यारो गरी घरमा जे थियो बनाई तुल्याई खुवाइन् । लोकले भन्छ माइती गाउँको त कुकुर पनि प्यारो हुन्छ चेलीलाई । माइती गाउँको सबै कुरा मनकौरीले सोधिन् । ती मान्छेले पनि सबै बेलिबिस्तार लाए । अनि भने हाम्रो गाउँको एउटा भाइ उसले मन पराएको गुरुङसिनी ल्याउन घरकाले नदिएकाले जोगी भएर घर छोडी हिँड्यो । बुझ्दै जाँदा यतातिर एउटा हात ठाडे जोगी छ रे भनेर यताका मान्छेले भनेछन् ।
जोगीको सक्कल हुलिया बुझ्दा उही हो कि भन्ने शङ्का लागेर म खोज्दै आएको भनेपछि मनकौरी धेरै बेर झोक्राई र बोली यो ठाडे त कुनै आइमाईको अनुहार पनि नहेर्ने, आइमाईले पकाएको/दिएको नखाने, आइमाईले बुनेको गुन्द्री चकटीमा पनि नबस्ने/नसुत्ने भन्छन् । हामी पँधेरा गए नि त्यता जाँदैनाँै पानी भ¥यो फर्कियो गर्छौं । के हाम्रो उतैको भन्ने कुरा हो र दाइ ? त्यसो भए जानुहोस् ऊ त्यही हो कुटी बुझ्नुहोस् हो होइन ? थाहा भइहाल्छ नि । ती दाइ उठेर जोगीको कुटीतिर लागे । घरबाट मनकौरीले किन हो कुन्नि त्यतै फर्केर एकटक लाएर हेरिरही ।
ती आबुले फेरि फर्केर मनकौरीको घरतिर आउँदै आएनन् । मनकौरी बेलुकी पानी भर्न पँधेरा जाँदा पधेर्नीले भने एकजना मान्छे हिजो दिनभरि ठाढे बाबाको कुटीमा बसेर बेलुकिखेर यता पूर्वतिर मूलबाटोबाटै गए । को रैछन् तिनी ? यसरी बाहिरको मान्छे आएको थाहा थिएन मैतीले भनी । आ ओई माथिल्लो गरामा पुतली झ्यास टिपिरहेकी थिई रे त्यो जोगी त त्यो नौलो मान्छेको घँुडामा मुन्टो राखेर बेस्सरी रोइरहेको थियो रे भनेर सेतीले भनी । अरू के के सुनिछ पुतलीले ओई कान्छी ? खोई ‘म कि मर्छु कि लान्छु’ पो भन्थ्यो रे । ओई के भनेको होला बाबै । पालैपालो पानी भरिसकेर सबै आआफ्ना घरतिर लागे ।
मनकौरी गाग्रीमा पानी र मनमा ‘म कि मर्छु कि लान्छु’ भन्ने भनाइ भरेर घर फर्की । पिँडीमा गाग्री बिसाई र गाग्री डोकाबाट झिकेर भित्र टाँडमा लगेर राखी डोको पिँडीको एक छेउको भित्ताको किलामा झुन्ड्याएर थचक्क पिँडीमा बसी र खुई गरी । मनमा माईती गाउँमा तरुनी भएको बेलाको सम्झना आयो । तल्ला गाउँको सन्ते खत्रीलाई सम्झी, ‘त्यतिबेला सन्ते मलाई कति माया गथ्र्यो । जे पाए पनि मेरो भाग नराखी र मलाई नखुवाई खाँदैनथ्यो । बरा मलाई मेरै घर लान्छु भन्थ्यो पाएन । म यता आएपछि घरै छाडेर हिँड्यो रे भन्थे । छ्या ः अहिले मलाई यो के सम्झना आको होला है ? यही भएर त भन्या होला नि ‘ताप्केको काठो, माइतको नाँठो’ भनेर ।
फेरि मनमनै भनी यसपालि त कान्छा पनि चितवन गएको तीन महिना भइसक्यो खोजखबरै केही छैन । के कएको होला खोइ ? घर, छोराछोरी बुढी कसैको पनि ? ‘आमै के एक्लै गुनगुनाइराको खाजा छैन ? भनेर मिठेले भन्दा पो झसङ्ग भई मनकौरीले उठेर भनी ‘भित्र ताप्केमा मकै छ दाइलाई आधा राखेर आधा खा’ । ऊ भैंसी गोठतिर लागी र भकारो फाल्न थाली ।
भोलिपल्ट दिउँसो मनकौरी बधुवा गोरु, भैंसीलाई पानी खुवाउन धाराबाट पानी खेप्न थाली । वस्तु अघाएपछि धारामा कोही नभएको मौका पारी पानी भरेर धाराको पेटीमा गाग्री डोको राखी र सरासर कटीतिर लागी । कुटीमा ठाडे बाबा सुतिराखेको देखेर टाढैबाट बोलाएर भनी ‘सन्तु तिमी जोगी भा हो ?’ ठाडे बाबाले जुरुक्कै उठेर पुलुक्क हेरे किनकि उसलाई हिजो आउने दाइले बिस्तुर बाँकी नराखी बताइसकेकाले आशावादी भएरै बसेको हुँदा र एकै चोटी सन्तुभन्दा पुलुक्क मनकौरीतिर हेरेर भन्यो ‘हो म सन्ते नै हुँ, मनकौरी तिमीले विवाह गरेर हिँडेपछि म पनि जोगी भएर एक हात सूर्यलाई चढाएर आइमाईको मुखै नहेर्ने गरी हिँडेको ।’ ‘यतिका वर्षसम्म पनि तिमीले मलाई बिर्सेको छैन ।’ छैन बरू यो संसार खोजी गरी हिँड्दा तिमी भएकै ठाउँमा आइपुगेको छु ।
हिजो दाइले तिमीलाई चिनेरै सबै कुरा बताएपछि मैले म मेरो व्रत भङ्ग गर्छु भनेँ । आज तिमी आयौ मैले मेरो आइमाई नहेर्ने, सङ्गत नगर्ने व्रत आजैबाट तोडेँ मनकौरी उनका छोराछोरी उनैलाई छोड, मेरो मनकौरी मलाई लेऊ, लौ भन् हुन्छ कि हुन्न ? जान्छ्यौ कि जान्नौ ? भोलि बिहानको राति तिमी बाटोमा निस्किराख म यताबाट आउँछु । हामी उतै जाने उतै घरजम गर्ने ।’ यति सुनिसकेपछि मनकौरीले भनी ‘तिमी मेरै लागि यसरी बसेका हौ भने हुन्छ म राति नै यता आउँछु यतैबाट बाटो छलेर गोरखा हुँदै जाने ।
तिमी त्यसो भन्छ्यौ भने झन् सजिलो भयो हुन्छ ल बाटो हेरिरहन्छु ।’ यति भनिराखेर आँखा रसिलो बनाउँदै पधेरातिर हातमा दुईचारवटा दाउरा बटुलेको झैँ गरेर चेप्दै धारा पुगेर पानी गाग्री बोकेर घरतिर लागी । संयोग पनि कस्तो कोही एक जात मान्छे त्यतातिर त्यस दिन दिउँसो देखिएनन् । धारामा पनि बेलुकीमात्र मान्छेहरू आए ।
मामाले आफ्नै टाउको समाएर बरबर दुवै आँखाबाट आँसु झार्दै भने तिमीहरू तीन वटै यहाँ आओ त भनेर काखमा राखेर भने के गर्छौ भानिज भान्जी अभागी रैछौ अस्ति बाउ उता एकैछिनको बेथाले मरिगए, यता आमा परानै नगई जिउँदै मरिछ । अब तिमेरूको साहारा दैवबाहेक कोही छैन ।
मनकौरीले घरमा बेलुकीको खानपिन बनाइतुल्याइ छोराहरू र छोरीलाई राम्रोसँग खुवाई । तिमीहरू सधैँ सँगै मिलेर बस्नु, झगडा नगर्नु, भात पालो गरेर पकाउनु, सँगै खानु, भाँडा मिलेर माझ्नु, प्याउली भाइहरूलाई सकेसम्म भाँडा माझ्न नला है ।’ किन ? आमै आज तिमीले यसो भनेको । म बाहिर नगएको धेरै भयो । माइत पुगेर आउँछु । चार-पाँच दिन तिमीहरू आआफ्नु धन्दा गोठालो खेतालो गर्नु है ।
त्यसो भए चाँडै आऊ है त । धेरै दिन बस्यौ भने हामीलाई नरमाइलो हुन्छ । चैते दशैँ आएको बेला । म आइपुगिन भने ठूलो भाले काटेर खानु । ल ल चाँडै आऊ है । ल ल सुत रात पनि धेरै गइसक्यो । सबै सुत्न गए । अलिकति दिउँसो बनाई राखेको पुवा पोको पारी र सानो बोक्चोमा हालेर सुत्न गई । एक निद्राबाट ब्युँझने बित्तिकै त्यही पोको र केही लुगा चेपेर कुटीतिर लागी । मनकौरीले एकफेर फरक्क फर्केर घरतिर हेरी र आँखा भिजाउँदै बाटो लागी । सदाको लागि एकफेर त्यही सुनसान घर हेरेर ।
भोलिपल्ट दिउँसो उता कुटीमा जोगी नभएको हल्ला चल्न थाल्यो । यता वल्लोपल्लो घरले केटाकेटीलाई सोधे तिम्री आमा खोइ नि ? केटाकेटीले भने हाम्रो आमा त मामा घर गाकिछन् चार-पाँच दिनमा आउँछिन् । झन् शङ्काको डङ्का फिँजिन थाल्यो । त्यति नै खेर धारातिरबाट साइली आइपुगी र भनी खोइ मलाई त हिजै शङ्का लागेको थियो । किन ? भनेर अरूले सोधे यो मनकौरी र जोगी कुटी छेउमा तीन घडी जति बात मारेर बसेको मैले डाँडा चौताराबाट देखेर हेरिरहेँ । चिल गिद्ध होइन हाहाहुहु गरेर धपाउन । यिनको उतै केही रछ कि के हो ?
ए अस्ति आबु हो घर भन्दै एउटा मान्छे ठाडे जोगी भेट्न आको थियो । यही मनकौरी कहाँ पसेको थियो । अनि उता कुटीमा धेरै बेर बसेर उतैबाट गयो । साइलीले कुरा थपी । होइन बुढापाकाले ताप्केको काठो र माइतको नाठो प्यारो हुन्छ भन्थे । हिजो दिउँसो आइमाईको मुख नहेर्ने जोगीसँग तीन घडी बस्ने आज माइत गएको भनेर हराएपछि, बाघ कराउने बाख्रा हराउने के कागताली त परेन भन्या ।
अर्कीले थपी कुरा उतै-उतै ओठ बटुको मिले जस्तै छ । तल्ला गाउँकी कुसरी पनि त्यही बाटो गोरखाबाट फर्कँदै रहिछ । मान्छे जम्मा भएको देखेर भनी ‘के को खलबल हो यहाँ ? मान्छे हराको हो ? मनकौरी र ठाडे जोगीलाई मैले आज बिहान अँध्यारैमा गोरखाबाट आउँदा सतीपिपलमा भेटेको जाँदैथे सँगसँगै । बस्नेत कान्छाले भने लौ खा बुझ पर्यो बानियाँ गोरु फोइदे । आइमाईको अन्तै हेर्ने रैछ जोगी केको मुख हेथ्र्यो ठाडे । होलाहोला भन्दै सबै घरघरतिर लागे । लामा कान्छाका ती किशोर-किशोरी जिउँदै टुहुरा छोराछोरीले केही कुरै बुझेनन् । सदा झैं आआफ्नै काममा लागे ।
पर्सीपल्ट साँझमा कछाडबाट मामा आइपुगे । मिठीले सोधी मामा ? आमा खोइ त नि ? ‘आच्या भाञ्जी आमा घरमै छैन र ? छैन नि । अस्ति उतै जान्छु भनेर गाछ ।’ मामाले आफ्नै टाउको समाएर बरबर दुवै आँखाबाट आँसु झार्दै भने तिमीहरू तीनवटै यहाँ आओ त भनेर काखमा राखेर भने के गर्छौ भानिज भाञ्जी अभागी रैछौ अस्ति बाउ उता एकैछिनको बेथाले मरिगए, यता आमा परानै नगई जिउँदै मरिछ । अब तिमेरूको साहारा दैवबाहेक कोही छैन ।
चारैजना काँका र कुँकु गरेर रोएको सुनेर गाउँलेहरू जम्मा भए । जब लोग्ने ससुरालीमा बितेकै दिन स्वास्नी बाटो लागेको कागताली सुनेर सबैले रोएर सहानुभूति प्रकट गरे । आखिर मर्नेको निम्ति बाँच्नेले दिने त्यही एक थोपा आँसु नै त हो त्यही दिए गाउँलेले पनि तर आमापछिको मामाले माया पनि दिएर काखैमा लिए । एकदिन एकछिन् भए नि । त्यही भएर भनेको होला आमापछिको मामा ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…