
काठमाडौं । कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको जन्मदिन (जंकु)को अवसर पारेर साहित्यिक पत्रकार संघले उहाँको अभिनन्दन गर्दै अभिनन्दन ग्रन्थ ‘नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख’ सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार एक विशेष कार्यक्रमबीच गरिएको कार्यक्रममा श्रेष्ठलाई साहित्यिक पत्रकार संघसहित ३८ संघसंस्थाले अभिनन्दन गरेका थिए ।
प्रमुख अतिथि शिक्षाविद्, पूर्वराजदूत केदारभक्त माथेमाले श्रेष्ठको अभिनन्दन गर्दै कृति लोकार्पण गर्नुभएको थियोे । प्रमुख अतिथि माथेमा र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संयुक्त रूपमा श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई दम्पतीलाई अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो । अभिनन्दनपत्रको उचाइ नै अभिनन्दित व्यक्तित्व श्रेष्ठको उचाइ बराबर रहेको आयोजकले जनाएको थियो ।
प्रमोद प्रधानको प्रधान सम्पादन, श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारी सिग्देलको सम्पादनमा तयार भएको यस ग्रन्थमा ८० जना लेखकका रचनाहरू समावेश छन् । यसैगरी, नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माथेमाले साहित्यकार तथा कलाकारको यस किसिमको अभिनन्दनले अरूलाई पनि ऊर्जा मिल्ने बताउनुभयो । सो अवसरमा उद्यमी कुशकुमार जोशी, कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी प्रसाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साहित्यकार श्रेष्ठले आफूले रुखको जरामा कलात्मक स्वरूप दिन सुरु गरेको दिन स्मरण गर्नुभयो ।
ग्रन्थका प्रधानसम्पादक प्रमोद प्रधानले साहित्यकार श्रेष्ठले आफ्नो बैठक कोठालाई जरा कलाको संग्रहालयका रूपमा विकसित गरेको बताउनुभयो । उहाँले श्रेष्ठको कविता लेखनसँगै कलाकारिताको चर्चा गर्नुभयो ।
कार्यक्रममा राधेश्याम लेकाली, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, निश्चल श्रेष्ठलगायतले बोले । सोही अवसरमा कलाकार श्रेष्ठको कलाकारितामाथि तयार वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सर्वनामद्वारा निर्माण गरिएको नरेन्द्रबहादुर श्रेष्ठबारेको वृत्तचित्रको पनि प्रदर्शन गरिएको थियो । नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले निर्देशन गरेको उक्त वृत्तचित्रले श्रेष्ठको बहुआयामिक व्यक्तित्वलाई उजागर गरेको थियो ।
कवि तथा पत्रकार ठाकुर बेलवासेल सहजीकरण गर्नुभएको कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले अभिनन्दनपत्र वाचन गर्नुभएको थियो भने श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । प्रमुख अतिथि, प्रमुख वक्ता तथा सहभागी संस्था र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच