
अनेक राष्ट्रिय जीवनका मूल्यवान् निधिहरूलाई गुमाउँदै हामीहरूले विक्रम सम्वत् अनुसार २०८१ लाई बिदा गरेका छौं । राजनीतिको निकृष्ट चरित्र, भ्रष्टाचारको कुहिगन्धे जालो, बेरोजागारीको कहाली लाग्दो पर्वतमाला, विदेशपलायनको अनन्त यात्रा, धुलो-धुवाँ दुर्गन्धको समवेत कोलाहललाई यथावत् राख्दै बिदा भएको ०८१ कै जगमा ०८२ लाई स्वागत गर्न हामीहरू विवश भएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रका दुई दशक र निर्दलीय सत्ता अन्त्यका तीन दशक पार गरेको समयावधिले पनि स्थायित्वको राजमार्ग निर्माण गर्न सकेको छैन । प्रतिदिन विकृतिहरूको चाङ पार नपाइसक्ने गरी नेपाली जनतासामु खडा भएको छ । हिजोभन्दा आज जनजीवन सुखद् होला, मानिसको विश्वास, आस्था थप हुँदै जाला, देशले नवनीत आकार र आभा परिवर्तन गर्ला, अन्तर्राष्ट्रिय छवि थप प्रभावशाली बन्दै जाला भन्ने दशकौंको आकांक्षा काकाकुल जलइच्छामा परिणत भएको छ । भौतिक विकासका आधारहरूले विस्तृत आकार पाउने सपना त आर्थिक भ्रष्टाचारविरुद्ध निर्मित अनन्त जलप्रवाहको गर्तमा डुबिरहेको छ । यस्तो हुनुको मूलकारण राजनीति नै हो ।
राजनीतिले बाँकी सबै राजकीय अवयवहरूको नायकत्व लिएको हुन्छ । घरको मूलभारवाहक निदाल भएजस्तै र रूखको भारवाहक रूखभित्र विकसित चुरो भएजस्तै राज्यको चुरो राजनीति नै हो । राजनीति निर्जीव हुन्छ तर यसलाई जीवन दिने काम राजनीतिमा सक्रिय खेलाडीहरूले गर्छन् । निर्जीव प्रणाली आफैंमा केही होइन । राजनीतिक प्रणालीलाई जनताको प्रतिनिधिका रूपमा सजीव गराउने काम राजनीतिक खेलाडीहरूले नै गर्नुपर्छ । तर दुर्भाग्यवश नेपालमा राजनीतिक प्रणालीलाई जीवन दिनुको साटो राजनीतिका खेलाडीहरूले यसको स्वासनलीसमेत किचेर निर्जीव गराउने प्रयास गरिरहेका छन् । यसैकारण प्रत्येक दशक, प्रत्येक वर्ष र प्रत्येक दिनजसो संघर्ष, आन्दोलन, हिंसा, प्रतिहिंसा, अस्थिरता, दरिद्रता, अपमान नेपाली जनतालो भोग्नुपरेको छ । गएको वर्ष पनि यो भन्दा फरक भएन ।
आचार्य रजनीशको भनाइ यहाँ स्मरणीय छ ः राजनीति एउटा यस्तो खेल हो, जसमा चलाख मान्छे खेल्छ र मूर्ख मान्छे दिनभरी चर्चा गर्छ । आचार्यको यो भनाइलाई स्वीकार गर्ने हो भने यतिखेर हामी आमनागरिक मूर्ख सिद्ध भइरहेका छौं र राजनीतिका खेलाडीहरू आफूलाई सर्वज्ञाता, महान् बुद्धिमान सम्झिरहेका छन् । यो अवस्थालाई हेर्दा माकर््िट्वनको कथनको स्मरण नगरी हुँदैन । उनले कतै लेखेका छन् ः मानिसको सबैभन्दा ठूलो दुश्मन मूर्खता होइन, सबैभन्दा ठूलो दुश्मन भनेको ज्ञानी छु भन्ने भ्रम हो । नेपालका सबै सत्ताधारी वा विपक्षका सरदारहरू सबै खेलाडीमा ज्ञानी भएको भ्रम छ र नै उनीहरू शासकीय सामथ्र्यमा असफल सिद्ध भइरहेका छन् । अहिले राजनीति गर्नेमा मात्रै होइन राजनीतिक प्रणालीमा समेत प्रश्न उठेको छ । प्रणालीमै किन प्रश्न उठ्न लागेको हो ? भन्ने विषयप्रति चिन्ता भए पनि चिन्तन शून्य छ । नेपाली जनता चिन्ता गर्न र आक्रामक रूपले चिन्ता प्रकट गर्नमात्रै सिपालु छन् । तर चिन्तन गर्न असमर्थ छन् । यसैकारण राजनीति गर्नेहरू जनताको टाउकोमा बसेर गिर खेलिरहेका छन् ।
स्थानीय तहदेखि केन्द्रीय तहसम्मका राजनीतिका खेलाडीहरू तहगत हिसाबले आफूलाई स्यम्भू, सम्प्रभु र सर्वज्ञान सम्पन्न समृद्धिका सर्जक रहेको भन्ने भ्रम पालेर बसेको देखिन्छ । यो भ्रमको परिणाम देश आन्तरिक रूपमा जति खोक्रो भएको छ त्यति नै बाहृय दृष्टिका आधारमा निर्धन र हेय प्रमाणित भएको छ । आउने नयाँ वर्षले यसमा कुनै परिवर्तन ल्याउन सक्ला ? सबैको मनले यो प्रश्न नगरेको छैन होला । तर उत्तर कसैसँग पनि छैन । गतवर्षको नयाँ दिनमा एक व्यक्तिको नेतृत्व थियो अहिले अर्को वर्ष नपुग्दै अर्को नेतृत्वमा पुगेको अवस्था छ । अर्को साल कुनै अर्को नेता सत्ताका लागि इजार कसेर कि धोती बाँधेर बसिसकेको होला । यसरी फेरवदल भएको यो पुस्ताको कसैसँग पनि देश र जनताका पक्षमा विवेकसम्मत काम गर्ने सोच पटक्कै छैन । यो पुस्ता अर्थात् जो यतिखेर जरादेखि टुप्पोसम्म राजनीतिका शाखा प्रशाखा कव्जा गरेर बसेका छन् ती सबै राजनीतिको वर्तमान पुस्ता मानिन्छन् ।
सार्वजनिक खपतका लागि लचकदार भाषामा बोल्ने, आक्रामक प्रतिवाद र प्रत्याक्रमण गर्ने अनि सपनाको चाङमा जनतालाई सुताइरहने सामथ्र्य तिनमा नदेखिएको होइन । जनतालाई मूर्ख बनाउने कला नेपाली राजनीतिका सबै खेलाडीमा प्रचुर देखिन्छ । तर जनताको आवश्यकता कसरी पूरा गर्ने भन्ने कला तिनीहरूमा पटक्कै छैन । आफन्तको उन्नति, नियुक्ति, सुखसुविधा, सम्भावना, सबै प्रदान गर्ने कला भने तिनीहरूमा व्याप्त छ । दासहरू उत्पादन गर्ने खेती राजनीतिक नेताहरूका करेसावारीमा प्रशस्त सफल छ । कमसेकम राणाशाही र राजशाहीको अन्त्य गरेपछि नेपाली जनताले न्याय पाउनेछन्, शान्ति पाउनेछन्, विवेकशील नेतृत्व पाउनेछन्, जनमुखी नीति, नेता, प्रशासन, न्यायालय पाउनेछन्, राष्ट्रिय स्वाभिमान र सम्मान जोगाउने नेतृत्व हुनेछ भन्ने आशा सबैका मनमा पुष्पित, पल्लवित थियो । तर त्यो आसाबीचमा नै सुकेर पत्कर बन्न लागेको छ । अब कुहेर मल बन्ने अवस्था छ । के नयाँ वर्षले फेरि जनतामा रहेका यी कुनै आसालाई जीवन्त गराउनसक्छ होला ? सबैको मनमा उठिरहेको अर्को प्रश्न हो यो पनि ।
सडकमा द्वन्द्व छ, सत्तामा द्वन्द्व छ, दलभित्र द्वन्द्व छ, दलबाहिर द्वन्द्व छ, मानिसमा द्वन्द्व छ, मानिसभित्र द्वन्द्व छ । तर शासकीय स्वाद लिने कुरामा विचित्रको सर्वसम्मति छ । त्यहाँ कुनै विरोधाभाष छैन । हामी राष्ट्रियमात्रै होइन अन्तर्राष्ट्रिय द्वन्द्वको चेपुवामा परेका छौं । अन्तर्राष्ट्रिय राजनीतिका अनेक मानकहरू परिवर्तन हुने संकेत देखिँदैछ । सम्बन्धहरूमा नवीन आयाम र धारहरू विकसित भएका छन् । महाशक्ति राष्ट्रको नीतिमा यतिबेला व्यावसायिक संकीर्णताले उदारतामाथि विजय हासिल गरेको छ । शान्ति र सद्भावका स्थानमा युद्धउन्मादले समुदायग्रस्त छ । मानिसलाई मेसिनमा परिणत गर्ने युगीन चेतनाले हिजोका सबै मानवीय मूल्यलाई धराशायी बनाउने अवस्था छ । तर हामी, हाम्रो समाज, हाम्रो शासकीय सोच र चिन्तन यतिविधि आत्मकेन्द्रित, असहिष्णु, अहंकारग्रस्त, अविवेकी, अपारदर्शी र लज्जाविहीन लाग्छ कि यो राष्ट्र र यसका निवासीहरूलाई कुनै सपनाको आवश्यकता नै छैन । कुनै कल्पनाको अर्थ नै छैन । तैपनि हामीमा आशा भन्ने तत्व रहेन भने जीवनमूल्यहीन सिद्ध हुन्छ र नै हाम्रो आशा जीवित छ । अर्थात् आउने सालले कुनै उत्साह दिनेछ, हाम्रो भविष्य सुखद् र सुरक्षित हुनेछ । यही आशाकासाथ नयाँ वर्षलाई स्वागत गर्दछौं र हिमालय टाइम्सका ग्राहक, विज्ञापनादाता, शुभेच्छुक, सहयोगी, लेखक, आबद्ध सबै सहकर्मीहरूसहित सम्पूर्ण नेपालीजनमा मंगलमय शुभकामना प्रकट गर्दछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच